अन्तर्वार्ता

के तपाईँ पनि सुत्दा घुर्नुहुन्छ?

+
-

चिकित्सकहरुका अनुसार सुतेको समयमा घुर्ने समस्या सामान्यतया वास्ता नगरिएको तर दीर्घकालिन समस्या हाे। यस्तो खालको समस्या ५ देखि १५ प्रतिशत मानिसमा देखा पर्ने गर्छ।

घुर्ने समस्या के हो र यसले मानिसको जीवनमा कस्ता–कस्ता समस्या ल्याउँछ भनेर हामीले नाक, कान, घाँटी तथा घुर्ने रोग विशेषज्ञ डा.योगेश न्यौपानेसँग कुराकानी गरेका छौँ। प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः

मान्छे किन घुर्छ?

सुतेको बेलामा सास फेर्ने बाटो साँघुरिन्छ। साँघुरिएको बाटोबाट हावा जाँदा एक किसिमको आवाज निस्किन्छ, त्यो आवाजलाई नै घुराई भनिन्छ। साधारणतया मान्छे घुर्नुको मुख्य कारण सास फेर्ने नली सुतेको बेला साँघुरिनु हो।

घुर्ने समस्या रोग नै हो ?

सामान्यतया सुतेको बेला नाकबाट हावा जानुपर्‍याे र सास फेर्न सजिलो हुनुपर्‍याे, तर यदी नियमित रुपले हरेक रात कोही घुर्छ भने त्यो रोग हो।

यसका के कस्ता लक्षणहरु छन्?

कोही मान्छे नियमित रुपमा घुर्छ र सास फेर्न बीचबीचमा अड्किन्छ भने यसले ल्याउने थुप्रै लक्षण छन्।

– राति सुतिरहेको समयमा ठूलो–ठूलो आवाजमा घुर्ने अनि बीचबीचमा सास फेर्न अड्किने,

– निन्द्रामा केही कुरा सर्केको जस्तो भएर जुरुक्क उठ्ने,

– बिहान उठ्दा निन्द्रा नपुगेको जस्तो हुने, थकान महशुस भइ टाउको भारी हुने,

– बिहान उठ्दा घाँटी सुख्खा हुने,

– नियमित काम गर्दा दिउँसो धेरै हाई आउने र काममा कन्सन्ट्रेट नहुने,

– प्रेसर, सुगर लगायत ग्यास्ट्रिकको समस्या आउने,

– सुतेको बेलामा अत्याधिक मात्रामा घुर्दा मुटुमा कम अक्सिजन पुगेर हृदयघात हुन सक्ने,

– राति बारम्बार पिसाब लागिराख्ने,

– यौन दुर्वलता हुने,

– समस्या धेरै बढ्दै गएमा गाडी हाँक्दा, काम गर्दा अनि गफ गर्दा पनि निन्द्रा लाग्ने,

– बानी व्यहोरा परिवर्तन हुने,

घुर्नुका कारणहरु के कस्ता छन्?

सामान्यतया यो समस्या श्वास फेर्ने नली सानो भएर हुन्छ। श्वास फेर्ने नली विभिन्न कारणले सानो हुन्छन्। विभिन्न कारण मध्य केही कारण यस प्रकार छन्–

– मोटो मान्छेको शरीरका साथसाथै जिब्रोमा पनि बोसो जम्मा भएको हुन्छ, त्यसले गर्दा सास फेर्ने बाटो साँघुरिन्।

– टनसिल ठूलो भएमा, त्यसले श्वास नली/हावा जाने बाटो सानो बनाउँछ।

– नाकमा समस्या हुने मान्छेले मुखबाट सास फेर्छन्। यसो गर्दा जिब्रो पछाडी धकेलिने भएकाले मुख खोलेर श्वास फेर्ने मान्छेमा श्वास नली सानो हुन्छ।

– अनुहारमा माथिल्लो र तल्लो च्यापु सानो भएमा त्यसले श्वास फेर्ने बाटो सानो बनाउँछ।

यसले कस्ता खालका समस्या आउन सक्छन्?

संसारभरिकै जनसंख्यालाई आधार मान्ने हो भने ५ देखि १५ प्रतिशत मान्छेहरु घुर्छन्। नेपालमा पनि १५ देखि २० प्रतिशत मान्छेलाई घुर्ने समस्या छ भन्ने अनुमान गरिएको छ। यो समस्याका पीडितले आफू साथसाथै अरुलाई पनि समस्यामा पार्छन्। घुर्ने मानिसमा देखिने समस्याहरु यस्ता छन्–

– स्मरण शक्ति कम हुँदै जाने,

– सुतेको बेलामा बारम्बार थाहा नपाई रातभर ब्यूँझिदा शरिरले राम्ररी आराम नपाउने र दिनभर थकान महशुस भइ काममा कन्सन्ट्रेट नहुने,

– मोटाउँदै  जाने र आफ्नो कार्यक्षमता कम हुँदै गएको अनुभव हुने,

– आफू पनि राम्ररी सुत्न सकिँदैन, सँगै सुतेको मान्छेको निन्द्रा पनि बिथोलिन्छ,

– बिरामीलाई प्रेसर, सुगर, ग्याष्ट्रिकको समस्या हुन्छ, त्यसपछि आषधिको मात्रा बढ्छ,

– मुटुको समस्याहरु आउने, हृयघात हुने, ग्याष्ट्रिक हुने लगायत आँखामा समस्या आउने,

– यौन इच्छा कम हुने,

– पश्चिमा देशहरुमा घुर्ने समस्या सम्बन्ध विच्छेदको प्रमुख कारणमध्ये एक हो,

– यस रोगका बिरामीहरुको अन्य साधारण मानिसको तुलनामा चाँडै मृत्यु हुने सम्भावना ४० प्रतिशत बढी हुन्छ।

घुर्ने समस्याको समाधान तथा रोकथामका लागि के–के गर्न सकिन्छ?

हाम्रो देशको सन्दर्भमा यदि कसैले घुरेमा हामी थाक्यो अनि आनन्दले सुत्यो भन्छौँ। तर पहिले हामीले बिरामीलाई के–के लक्षण छ सोध्ने। सबै लक्षण सबै घुर्ने मान्छेमा हुँदैन तर जुन–जुन लक्षण बिरामीसँग मिल्छ त्यही अनुसार बिरामीलाई जाँचिन्छ।

सास फेर्ने बाटो साँघुरो देखिएमा र लक्षणहरु मिल्दोजुल्दो भएमा घुराइ सामान्य हो की यसले शरीरमा असर गरेको छ भनेर स्लिप स्टडी गरेर हेर्नुपर्छ।

स्लिप स्टडी भनेको के हो?

यो एउटा मेसिन हो जुन राति सुत्ने बेलामा मान्छेको शरीरमा जडान गनुपर्छ। यो लगाएर बिरामी कम्तिमा ६ घन्टा सुत्नुपर्ने हुन्छ।

सुतिसकेपछि यसले सबै डाटाहरु हेर्छ जस्तै– बिरामीको शरीरमा कति अक्सिजन जम्मा हुन्छ, मुटुको चाल कति परिवर्तन हुन्छ, राति सास फेर्न कति पटक अडकिन्छ, कतिचोटी बिउँझिन्छ यो सबै कुरा मेसिनले रेकर्ड गर्छ। त्यसपछि बिरामीलाई उपचारको अप्सन दिइन्छ।

उपचारका विधिहरु के कस्ता छन्?

– बिरामीलाई तौल घटाउन र व्यायम गर्न सुझाव दिने,

– कोल्टो वा घोप्टे परेर सुत्ने, उत्तानो परेर सुत्न नहुने,

– रक्सी, चुरोट खान नहुने,

– निन्द्रा लाग्ने औषधि खान नहुने,

– योगाशन गर्ने,

– बिरामीको अवस्था अलिक नाजुक छ भने अप्रेशनको सल्लाह दिने,

– तर यदि बिरामीलाई अप्रेशन गर्न समस्या छ भने सी प्याप भन्ने मेसिन सुत्नुअघि लगाउन दिइन्छ।

– बिरामीको समस्याका आधारमा अपरेशन गरिन्छ। नाकको समस्या छ भने नाकको र घाँटीको समस्या छ भने घाँटीको अपरेशन गनुपर्छ। टन्सिलको समस्या छ भने त्यो जिब्रोले गर्दा हो भने जीब्रोको उपचार गनुपर्छ। तर यदि ल्यारेन्ज्सको कारणले गर्दा हो भने त्यसको पनि अप्रेशन गनुपर्छ।

सी प्याप भनेको के हो? याे कति प्रभावकारी छ?

यो एउटा मेडिकल डिभाइस हो, जसले कोठामा भएको हावालाई नाकको बाटो हुँदै घाँटीबाट फोक्सोसम्म पुर्‍याउन मद्दत गर्छ। यो मेसिनले सुतेको बेलामा सास फेर्ने नलीलाई बन्द हुन दिँदैन। यो खतरामूक्त उपकरण हो।

यदि विरामीले अप्रेशन गर्न नचाहेमा यो प्रभावकारी छ। तर व्यवहारिकतातर्फ जाँदा हरेक रात लाएर सुत्नुपर्छ। हरेक वर्षको नतिजा हेर्दा ५० देखि ६० प्रतिशत मान्छेले सी प्याप लगाउन छोड्छन्।

यसको साईड इफेक्ट र कम्प्लिकेसन त छैन तर यो प्रयोग गर्न मानिसहरु अप्ठेरो मान्छन्।

यदि नाकको हड्डी बाङगो छ, नाकमा मासु पलाएको छ भने अप्रेशन गर्नु उचित हुन्छ किनकि नाक बाङ्गो भएको बेलामा बिरामीलाई सी प्याप लगाउन पनि अप्ठेरो हुन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?