
सिमकोट- कर्णाली करिडोर अन्तर्गत खार्पु सुनखाडा खण्डको बोक्चे गौडामा पैदल यात्रुहरु कर्णाली नदीको तिरमा जोखिम मोलेर हिड्न बाध्य भएका छन्। उक्त खण्डमा सडक निर्माण गर्ने क्रममा मेशिनमा खराबी आएपछि निर्माण कार्य बन्द हुदा पुरानो बाटो भत्किदा पैदल यात्रुहरुले सास्ती खेप्नु परेको हो।
काम बिशेषले सदरमुकाम सिमकोट आउदै गर्नु भएकी सर्केगार्ड गाउँपालिका वडा नम्बर १ की जुनेली रोकायााले शरिर काम्दै कर्णाली नदी किनारामा भत्केको बाटोमा आउन बाध्य भएको बताइन्। उनले भनिन्, ‘ म लगायत यहाँका सबै यात्रुले वर्षायाममा पनि कर्णाली नदीको बहाब बढेको बेला निर्माण गर्ने क्रममा भत्किएको बाटोमा डराई डराई पैदल यात्रुहरुले हिड्नु परेको छ।’
विकासे योजनाको भुक्तानी लिन बन्दाबन्दी खुकुलो भएको बेला सदरमुकाम आउने मानिसको चाप बढेको छ। भत्किएको बाटोमा पैदल यात्रु हिड्ने अन्य बिकल्प पनि तयार गरिएको छैन।उनले भत्केकै बाटोमा यात्रुलाई हिड्नै पर्ने बाध्यता रहेको बताइन्। उनले भनिन्, ‘तल सिधै कर्णालीको बहाब देखिदा शरीरै सिरिङ्ग हुन्छ।’
यस्तै अर्का यात्रु फगुने कामीका अनुसार कुनै बिकल्प नहुँदा बाध्य भएर कर्णालीको डरलाग्दो भीरको बाटो हिड्नु परिरहेको छ। उनी भन्छन्, ‘यही बाटो हिड्नेको संख्या दिनहुँ बढ्दो छ। यसले धेरै गाउँलेको ज्यान जोखिममा छ।’
हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख शशांक मिश्रले धमाधम निर्माण कार्य भै रहेको उक्त खण्डको निर्माण कार्य बन्द भएको तीन महिना पुगेको गुनासो सुनाए। उनले भने, ‘दैनिक होल खोप्ने काम भइ रहेका बेला मेशिनमा बिग्रियो। त्यसपछि काम रोकियो। मेशिन बिग्रीएसँगै बन्दाबन्दी सुरु हुदा मिस्त्री ल्याउन नसकिएपछि काम रोकिएको र आधा निर्माण भएको सडकमा यात्रुलाई हिड्न कठिन भएको छ।’
यता, पैदल यात्रुहरु जोखिम मोलेर हिड्न थालेपछि आयोजना र निर्माण कम्पनीले बाटो असजिलो भएकोले पैदल यात्रुलाई नहिड्न सूचना जारी गरेको छ।