
काठमाडौँ – सानेपाकी अनिता महर्जन सामान्य अवस्थामा बिहान १० बजेतिर असनस्थित चुरा पसलमा पुग्थिन्। अहिले उनको पसल जाने समय फेरिएको छ। मध्याह्न १२ बजेसम्म पसल खोल्छिन्।
उनको व्यापारमा पनि परिवर्तन आएको छ। प्रायःसाउन महिना व्यापारको सिजन भएपनि अहिले उनको ठप्प छ। साउन महिनामा महिलाहरुले हरिया तथा चुरापोते लगाउने गर्छन्। सोही कारण चुरा–पोतेको व्यापार राम्रो हुन्थ्यो। तर कोरोना भाइरसको महामारीका कारण अवस्था फेरिएको छ।
संक्रमण रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन गर्यो। सोही लकडाउनले उनीसहितका व्यापारीको व्यापार ठप्प भयो।
तीन महिनापछि खुकुलो भएसँगै अनिताले पसल खोल्न थालेकी छन्। तर व्यापार शून्य प्रायः छ।
उनले आइतबार तीन बजेतिर भनिन्, ‘सिजनमै व्यापार छैन। व्यापार हुने भनेको बिहेको सिजन र साउन महिनामा हो। तर अहिलेसम्म बोहनी भएको छैन।’ पोहोर उनलाई भ्याइनभ्याइ थियो। अहिले खाली–खाली छ।
‘गएको वर्ष यो बेला भ्याइनभ्याइ हुन्थ्यो’, उनले भनिन्, ‘असनको गल्लीमा खुट्टा टेक्ने ठाउँ हुन्थेन। यसपालि भने दिनभरि कुरेर बस्नु पर्छ।’
अरु समयमा ग्राहकलाई कुराउने अनिताले अहिले ग्राहकलाई कुरेर बस्नु परेको सुनाइन्। ‘आजसम्म राम्रो व्यापार हुन्थ्यो। सिजनको समयमा पनि व्यापार नै छैन,’ उनले भनिन्।

चुरा व्यापारी अनिता महर्जन । तस्बिर : बर्षा शाह/देश सञ्चार
उनलाई व्यापार नभएको चिन्तासँगै कोरोना भाइरसको संक्रमण हुने चिन्ता छ। तर कमाइ खाने भाँडो भएकाले व्यापार सञ्चालन गर्नु परेको उनी बताउँछिन्। ‘व्यापार सञ्चालन गरे पनि जोखिम छ,’ उनले भनिन्, ‘जसो गरे पनि काम त गर्नु पर्यो। परिवार पाल्नै पर्यो। काम नगरी भएन। संक्रमण छ भनेर घरमा बसेर भएन। तीन महिना बसियो मज्जाले।’
लकडाउन अवधिमा एक छिन पसल हेर्न या खोल्न पाए पनि हुन्थ्यो भन्ने लाग्थ्यो उनलाई।
‘पहिले राम्रै व्यापार हुन्थ्यो। त्यसले खान लाउन पुगेको थियो’, उनले भनिन्, ‘अहिले पसल खोलेर झन् गाह्रो भएको छ। बत्तीको पैसा नि उठ्दैन। पसल खोलेको देख्दा आम्दानी हुन्छ सोच्छन् तर ग्राहक नआएर व्यापार नै भएको छैन। बैंकले ब्याज माग्छन्। अहिले झन् व्यापारीलाई गाह्रो भएको छ।’
अर्का चुरा व्यापारी विकासमान नकर्मीको व्यापार पनि ठप्प नै छ। गएको वर्षको साउनमा भरिभराउ हुने पसल अहिले खाली छ । आइतबार दिउँसो तीनबजेसम्म एकजनालाई मात्रै सामान बेचेको उनले सुनाए । ‘अहिले विगतको तुलनामा व्यापार २० प्रतिशत मात्र भएको छ’ उनले भने ‘सिजनको समयमा यस्तो मन्दी कहिले भएको थिएन । ८–९ वर्षको व्यापारमा यस्तो संकट कहिले देखेको थिइन।’

चुरा व्यापारी विकासमान नकर्मी। तस्बिर : बर्षा शाह/देश सञ्चार
संकटकै कारण उनले पसलमा नयाँ सामान पनि ल्याउन पाएका छैनन् । विभिन्न डिजाइनका चुरा थप्न पाएका छैनन् । आएका थोरै ग्राहकलाई पुरानै ‘स्टक’ चुराहरु बिक्री गरेको उनले बताए । उनलाई ‘स्टक’ सामान बेच्न पनि गाह्रो परेको छ । ‘दिउँसो दुई–तीन बज्दासम्म बोहनी हुँदैन’ उनले भने। उनले लकडाउनपछि गत जेठ ३२ गतेदेखि पसल खोलेका हुन्।
सामान्यतया असन क्षेत्रमा मानिसहरुको घुइँचो कहिल्यै कम हुँदैन। अहिले अवस्था फेरिएको छ । मानिसको चहलपहल केही बढेपनि व्यापार छैन । ‘सधँै भिडभाड हुने असनमा साउनमा झन रंगिन हुन्थ्यो । कोरोना भाइरसको महामारीका कारण व्यापार शून्य जस्तै छ’ उनले भने।
यस्तै अवस्थारहे तीजमा समेत व्यापार नहुने र सामान्य अवस्थामा फर्कन निकै समयले लाग्ने उनी बताउँछन्।

पोते व्यापारी नाजिर उद्दिन। तस्बिर : बर्षा शाह/देश सञ्चार
चुरा व्यापारी मात्र होइन, पोते व्यापारीको हालत पनि उस्तै छ। असनका नाजिर उद्दिनले लामो समयदेखि पोतेको व्यापार गर्दै आएका छन्। उनले व्यापारमा यस्तो मन्दी कहिले नदेखेको सुनाए। ‘बाउबाजेले सुरु गरेको व्यापारलाई अहिले हामीले निरन्तरता दिँदै छौ’ उनले भने ‘तर यस्तो संकट देखेको थिइन।’
अहिले पोतेको व्यापार २ देखि ५ प्रतिशत मात्र रहेको उनी बताउँछन्। उनी भन्छन्, ‘पोहोर निकै भिडभाड हुन्थ्यो। खुट्टा टेक्ने ठाँउ पनि हुन्थेन । तर अहिले ग्राहक नै छैनन्।’
उनको व्यापरमा गिरावट आउनु अर्को कारण पनि छ। आकासिएको सुनको भाउले पनि उनको व्यापारलाई प्रभाव पारेको छ। सुनको मूल्य बढ्दा सुन खरिद गर्नेमा कमी आएकाले पातेको बिक्री पनि कमी आएको हो। उनले भने, ‘हाम्रोमा तिलहरी, नौगेडी लगायतका गहनाका लागि पाते खरिद गर्न आउँथे । तर अलिहे सुनको मूल्य बढेकाले पोतेको व्यापार पनि शून्य जस्तै भएको छ।’

पोते व्यापारी बेन्जु खान । तस्बिर : बर्षा शाह/देश सञ्चार
व्यापार हुँदा दिन गएको थाहा नहुने उनलाई अहिले दिन कटाउनै मुश्किल परेको छ। गत साउनको व्यापारको कुरा गर्दै भने, ‘पहिले दि बितेको थाहा नभए पनि अहिले दिन कटाउन मुश्किल परेको छ। ग्राहकहरुको चापले गर्दा ग्राहकलाई कुराउनु पर्ने अवस्था थियो तर अहिले आफैले कुर्नु परेको छ। पोते बुन्ने भाइहरु खाली बसिरहेका छन्। पोते बुनाउनका लागि लाइन हुन्थ्यो । तर अहिले सबै मोबाइल चलाउँदै दिन काट्छन्।’
अर्का पोते व्यापारी बेन्जु खानलाई पनि दिन कटाउन मुश्किल परेको छ। ग्राहकहरु नभए पछि उनी मोबाइल चलाएर दिन कटाउँछन्। ‘अहिलेसम्म दुईवटा फिल्म हेरिसकेँ तर ग्राहक आएका छैनन्’ उनले भने ‘घरमा बस्दा पनि त्यस्तै हो भनेर पसल आउँछु तर व्यापार छैन।’
गएको वर्षको व्यापारबारे भने, ‘गत साउनमा हामीलाई खाना खाने फुर्सद पनि थिएन। ग्राहकसँग कुरा गर्यो उनीहरुलाई सामान देखायो, दिन जान्थ्यो। ग्राहकहरु बाहेक अरुसँग कुरा गर्ने समय नै हुन्र्थेन, यसरी मोबाइल चलाएर बस्ने समय नै थिएन’ उनले भने।