पृथ्वीमै किन पल्लवित भयो जीवन?

पृथ्वीमै किन पल्लवित भयो जीवन?
+
-

विज्ञान भन्छ– १३ -१४ अर्ब वर्ष पहिला कुनै अज्ञात कारणले ब्रह्माण्ड निर्माण प्रक्रिया प्रारम्भ भयो। विज्ञानको यस अवधारणालाई प्रसिद्ध वैज्ञानिक सर फ़्रेडेरिक हॉयलले आलोचना र उपहास गर्दै ‘बिग बैंग’ भनेका थिए। पछि यही शब्द नै स्वीकृत भयो।

विज्ञान विश्व अनन्त भएको कुरा गर्छ। अनन्त अर्थात् जसको कुनै अन्त हुँदैन। मलाई लाग्दैन, कुनै मानिससँग अनन्तबारे कुनै कल्पना पनि होला।

हाम्रा अधिकांश ज्ञानेन्द्रियको काम गर्ने क्षमता र शैली दुवै मध्यम स्तरका संवेदना मापन हेतु मात्रै सक्रिय हुन्छन्। मध्यमभन्दा माथि र तल दुवैतिरका कुनै पनि संवेदना ग्रहण गर्न हाम्रा कुनै पनि इन्द्रिय सक्षम छैनन्। प्रकाश, जसको उपस्थितिबिना मनुष्य जीवनको कल्पना गर्न सकिन्नँ, जानकारलाई थाहा छ, प्रकाशको मध्यम स्तरको रूप मात्रै प्राणी श्रेष्ठ भनिने होमो सेपियन्सका लागि दर्शन हेतु उपयोगी छ।

दृश्य प्रकाश (भिजुअल लाइट) नै सूर्यबाट आउने प्रकाशपुञ्जको मध्यम स्तर अर्थात् मानिसका लागि उपयोगी हो। यसभन्दा माथि र तलका ‘हाई’ तथा ‘लो’ फ्रिक्वेन्सीका ‘वेभलेन्थ’मा रमण गर्न हाम्रो आँखा सक्षम छैनन। भौतिक विज्ञानका विद्यार्थीलाई प्रकाशका अन्य थुप्रै स्वरुपबारे थाहा हुन्छ।

भन्न सकिन्छ– ४००-७०० न्यानोमिटरका ४३०-७५० टेराहर्ट्ज़ ‘फ्रिक्वेन्सी’ भएका ‘वेभलेन्थ’ बाहेक मानिसका आँखाले प्रकाशका अन्य स्वरुप हेर्न सक्दैन।

ध्वनिको सम्बन्धमा पनि यस्तै मध्यम स्तर कायम छ। सुँघ्ने शक्तिको पनि सीमा छ। प्रकाशका सन्दर्भमा मात्रै होइन, वस्तुका सन्दर्भमा पनि आँखाको सीमा छ। निश्चित आकारभन्दा ठूलो र सानो दुवै किसिमका वस्तुलाई मानिसका आँखाले हेर्न सक्दैनन्।

हाम्रै वातावरणमा चारैतिर अनेक किसिमका सूक्ष्म जीवन छन्, जसलाई आँखाले देख्न सकिँदैन। मानिसले यस्ता सूक्ष्म जीव र जीवन अध्ययन हेतु ‘इलेक्ट्रोन माइक्रोस्कोप’ बनाउनु परेको तथ्य सबैलाई विदितै छ। यो नबन्दासम्म मानिसले ब्याक्टेरिया र भाइरसजस्ता सूक्ष्म जीव हेर्न सकेको थिएन।

विज्ञान भन्छ–१३-१४ अर्ब वर्षपहिला कुनै अज्ञात कारणले ब्रह्माण्ड निर्माण प्रक्रिया प्रारम्भ भयो। विज्ञानको यस अवधारणालाई प्रसिद्ध वैज्ञानिक सर फ़्रेडेरिक हॉयलले आलोचना र उपहास गर्दै ‘बिग बैंग’ भनेका थिए। पछि यही शब्द नै स्वीकृत भयो। सर फ़्रेडेरिक हॉयलबारे छुट्टै एउटा लेखमा चर्चा गरौला। विज्ञान जगतले निश्चय नै उनी माथि ठूलो अन्याय गर्‍यो।

‘बिग बैंग थ्योरी’का अनुसार ‘बिग बैंग’ भएको झन्डै २० करोड वर्षभित्रै थुप्रै आकाशगंगा (ग्यालेक्सी) अस्तित्वमा आए। हामी सदस्य भएको ‘मिल्की वे ग्यालेक्सी’ झन्डै १३ दशमलव ६ अर्ब वर्ष पहिला बन्यो। यसै ‘ग्यालेक्सी’मा रहेको ग्यास र धुलोको विशाल बादलरूपी संरचना (विज्ञानको भाषामा ‘सोलार नेबुला’ ले आकाशगंगा बनेको झन्डै ९ अर्ब वर्षपछि) आजभन्दा ४ दशमलब ६ अर्ब वर्षपहिले सूर्यलगायत समस्त सौर्यमण्डलको निर्माण भयो। यस प्रक्रियामा ‘रेसियो’ गज्जबकै थियो।

‘नेबुला’को ९९ दशमलब ८ प्रतिशत द्रव्यमान सूर्य निर्माणमा व्यय भयो भने शेष ० दशमलब २ प्रतिशत द्रव्यमानले सम्पूर्ण ग्रह, उपग्रह, क्षुद्रग्रह, उल्कापिण्ड, धूमकेतु आदि बने।

भनिरहनु परेन, सौर्यमण्डल जुन समयमा बन्यो, हामी बसेको पृथ्वी पनि त्यही बेला अस्तित्वमा आयो। हो, हामी आउन अर्थात् पृथ्वीमा जीवनको प्रारम्भ हुन भने पृथ्वीले लामो प्रतीक्षा र तपस्या गर्नुपर्‍यो।

जीवन प्रारम्भ हुन पृथ्वीमा धेरै किसिमका अनुकूलता आवश्यक थियो। अनेकौं जिज्ञासुले प्रश्न गर्छन्– जीवन पृथ्वीमा नै किन पल्लवित भयो?  सौर्यमण्डलका अन्य कुनै ग्रह अथवा स्थलमा यस्तो संयोग किन जुरेन? ओहो! गल्ती भयो नि मबाट! यो संयोग भन्ने शब्द, लेखको उत्तरार्धतिर मात्रै उल्लेख गर्ने विचार थियो। यही फुस्कियो, ठीकै छ जे भयो भयो, शायद संयोगले मूर्तवान हुने संयोग यहीँ घटित हुनु थियो। म किन यसमा बाधा वा विघ्न बन्ने अनाहकको चेष्टा गरुँ।

मलाई थाहा छ–जुन पाठकले यहाँसम्म लेख पढ्ने धैर्य लिएका छन्, तिनका हजुरमा मैले संयोगको बृहद व्याख्या गरिराख्नु पर्दैन, र जसले यो लेख पढेका छैनन्, तिनका खातिर व्यर्थमा समय किन खेर फाल्ने?

पृथ्वीमा मात्रै जीवन फस्टाउनुको कारण, सौर्यमण्डलका समस्त ग्रहमध्ये यसको सूर्यबाट रहेको समुचित दूरी नै प्रमुखभन्दा प्रमुख कारण बन्यो। विज्ञानको भाषामा यसलाई ‘ह्याबिटेवल जोन’ अथवा ‘गोल्डिलाक जोन’ भनिन्छ। म र तपाई हुनुको पहिलो संयोग सूर्य र पृथ्वीबीच रहेको समुचित दूरी नै हो, यसमा तल – माथि भएको भए अथवा कथं कदाचित कुनै दिन यो दूरी थपघट भएको खण्डमा पृथ्वी रहने सम्भावना त कायम रहन्छ, तर पृथ्वी र जीवनबारे अनेकौं प्रश्न र जिज्ञासा गर्ने सबै खाले जीवन भने संयोगविहीन हुन पुग्छन्।

पृथ्वी निर्माण हुँदा यसमा पानी थिएन, कार्बन थिएन, अक्सिजन थिएन। भनौँ, जीवनलाई चाहिने कुनै पनि आवश्यक अवयव अथवा घटक थिएनन्। पृथ्वीमा यी सबैको निर्माण हुने संयोग घटित भयो। र, संयोग पनि कस्तो ‘एक्युरेट’ र ‘परफेक्ट’! जुनजुन घटक– अवयव तत्व– पदार्थ जीवन प्रारम्भ भई लम्बिने जति जति मात्रामा आवश्यक थिए, ठ्याक्कै त्यति मात्रामै मात्रै विनिर्मित हुने संयोग घटित भयो।

पृथ्वी सतहमा मात्रै होइन, सतहदेखि हजारौं किमीमाथि आकाशमा पनि सबैखाले आवश्यक वातावरण घटित हुने संयोग फलित भयो। एउटा ‘ओजोन लेयर’कै विरलता वा सघनताबारे कल्पना गर्नुस्! त्यो विज्ञानले जुन भन्छ नि पृथ्वीमा हामी हुनु अथवा जीवित रहनुका पछाडि २७ अंक भएको संख्यामा रहेका संयोगको ‘फाइन ट्युनिङ’ हुनु हो।

‘ओजोन लेयर’लाई त्योमध्ये एउटा कारण मानी त्यसको अनुपस्थिति अथवा अति बाक्लो भएको कल्पना गर्नुस्, के अन्य सबै संयोग यथावत् रहँदा पनि तपाईंको कल्पनामा जीवनको अस्तित्वको कुनै धर्को शेष रहन्छ? यस्तै कल्पना,अक्सिजन, हाइड्रोजन, नाइट्रोजन,कार्बनडाइअक्साइड, मिथेन आदिको अनुपस्थिति अथवा अति धेरै उपस्थितिबारे गरी हेर्नुस्! परिणाम पूर्ववत नै पाउनुहुन्छ।

पृथ्वी बने (४ दशमलब ५४ अर्ब वर्ष पहिला) पश्चातका ४०-५० करोड वर्षको समय त अनेक किसिमका ‘अर्गानिक कम्पाउन्ड’,रसायन र पदार्थ बन्नमा व्यय भयो, जसले जीवनरूपी पहिलो कोषिका (एक कोषिकीय जीवन चक्र) बन्यो।

मूर्तिमा प्राणप्रतिष्ठा गर्ने कृत्यप्रति उपहास गर्ने विज्ञान जगतले पदार्थमा ४ अर्ब वर्ष पहिला कसरी प्राण प्रतिष्ठा (अजैविक रसायनबाट जैविक कोषिका बन्नु) भयो, त्यसबारे मौन धारण नै गरेको पाइन्छ।

‘आर्टिफिसियल इन्टेलिजेन्स’लाई लिएर अरण्यरोदन गर्ने ‘हरारी’ र तिनको समूहले अजैविक रसायनबाट जैविक कोषिका (जीवन) बन्नुलाई ‘इन्टेलिजेन्स’को कुन खाले डिजाइनमा वर्गीकृत गर्छ, जान्न पाए म पनि धन्य हुने थिएँ।

भूमण्डलमा आधी अर्ब वर्षसम्म त जीवन भनाउँदो चक्र यिनै एक कोषिकीय कोषिका (Prokaryotic Cell) जुन वास्तवमा ‘अर्गानिक कम्पाउन्ड’ अर्थात् साधारण र अति सामान्य ‘आरएनए’ (राइबो न्युक्लिक एसिड) मात्रै थिए, यिनका रूपमा मात्रै सञ्चालित भइरह्यो।

यस सामान्य ‘आरएनए’ रूपी कम्पाउन्डमा प्रोटिन र ‘डिएनए’को प्रादुर्भाव भएर एक कोषिकीय सरल जीवन कसरी जटिलता उन्मुख भयो (अर्थात् कोषिकामा उत्पादकत्व क्षमता आयो) यसबारे पनि विज्ञान अनभिज्ञ नै छ। यी एक कोषिकीय जीवनलाई लुका ( LUCA) भनिन्छ। लुका अर्थात् ‘Last Universal Common Ancestor !’ पृथ्वीमा भएका सबैखाले जीवनको आदि पुर्खा।

Abiogenesis, Earliest known life forms, Evolution, and Evolutionary history of life आदिबारे सामान्य अध्ययन गर्नेलाई विदित नै छ, ‘प्रोक्रायोटिक’ कोषिकालाई ‘न्युक्लियस’ भएको कोषिका, ‘युक्रायोटिक’ (Eukaryotic Cell ) बन्नलाई अक्सिजन क्रान्ति आवश्यक पर्‍यो। यस क्रान्तिको सूत्रधार गर्ने साइनो ब्याक्टेरियाको डिजाइन कुन ‘इन्टेलिजेन्स’ ले गर्यो होला?

समाजवादी र साम्यवादीहरुका लागि यहाँनिर बडो रोचक जानकारी छ। कथा के हो भने ‘प्रोक्रायोटिक सेल’ परम परजीवी (Heterotrophs) थिए। यिनको भोजन प्रकृतिमा रहेको ‘अर्गानिक कम्पाउन्ड’ नै थियो। पक्कै त्यहाँ कुनै ‘सेल’मा पहिलोपटक मार्क्स अस्तित्वमा आए। कोषिकाबीच आत्मनिर्भर हुने बौद्धिकताको प्रचार गरे यिनले अर्थात संसारको सबैभन्दा पहिलो मार्क्सले।

यीनको लहलहैमा लागेर केही कोषिकाले उपलब्ध रहेको पानी र कार्बनडाइअक्साइडबाट आफ्नो भोजनको प्रबन्ध आफै गर्ने प्रक्रिया प्रारम्भ गरे, यसलाई नै प्रकाश संश्लेषण प्रक्रिया (Photosynthesis ) भनिन्छ। यसको परिणामस्वरुप अक्सिजन स्वतन्त्र रूपमा देखा पर्‍यो।

अक्सिजनसँग एकाकार हुनसक्ने कोषिका बाँचे, बाँकीको सामूहिक र समग्र विनाश भयो। पृथ्वीमा जीवनले आकार ग्रहण गरेपछि भएको यो नै पहिलो महाविनाशकारी घटना थियो। ‘Great Oxygenation इवेंट’ का नामले विख्यात यस घटनाले नै कोषिकाले आफ्नो भोजन आफैँभित्र निर्माण गर्ने र स्वसन गर्ने तरिका सिकेका थिए।

यसै कालखण्डबाट जीवन स्वपोषित (Autotrophs.) बन्ने चरणमा प्रवेश भयो। कोषिकाले आफ्नो भोजनको व्यवस्था आफैंभित्र गर्न थाले। खै! यत्रो ठूलो घटनाका पछाडि कुन किसिमको ‘इन्टेलिजेन्स’ थियो, कसले भन्न सक्छ? यसै घटनाका फलस्वरुप झण्डै डेढ अर्ब वर्षपश्चात् ‘युक्रायोटिक’ कोषिका अस्तित्वमा आए।

‘युक्रायोटिक’ कोषिकालाई ‘मल्टी सेलुलर’ कोषिकामा विकसित हुन अर्को १ अर्ब वर्षको समय लाग्यो। हामीले बुझने मैथुनीय जीवन चक्र ( sexual reproduction ) ‘मल्टी सेलुलर’ कोषिका बनेपछि मात्रै प्रारम्भ भएको थियो। ‘मल्टी सेलुलर’ कोषिकामा मैथुनीय प्रक्रिया पनि खै कसको प्रेरणा अथवा ‘इन्टेलिजेन्स’ले प्रारम्भ भयो बुझी नसक्नु छ।

पृथ्वीमा मनग्गे अक्सिजनको उपलब्धता भएपछि जीवनले गति लियो। अनेक किसिमका पादप र प्राणी वर्ग अस्तित्वमा आए। डायनासोरसम्म आउँदा पृथ्वीमा अर्को चार पटक ‘Major extinction events ‘ घटित भइसकेका थिए। सबैभन्दा पछिल्लो ‘Major extinction events ‘ मा भीमकाय डायनासोर युगको अन्त भयो। विज्ञानले भन्छ–यही ‘ extinction events ‘ पश्चात् मानिसको अस्तित्व पृथ्वीमा उदय हुने वातावरण बन्यो।

अब संक्षेपमा नलेखे लेखको साइज नै डायनासोर आकारको हुन गई प्रकाशित नहुने खतराको अन्दाजा मेरो ‘इन्टेलिजेन्स’ले अनुभव गरिरहेको छ। संक्षेपमा इतिहास भनौं कि ६ दशमलब ६ करोड वर्ष पहिला मेक्सिकोको चिक्सुलबु भन्ने सहरमाथि आकाशबाट खसेको ११-८१ किमी लामो शिलाखण्डले त्यस बेला पृथ्वीमा विद्यमान रहेको झन्डै ७५ प्रतिशत सबैखाले जीवनलाई नष्ट गरेको दिनपछि झन्डै ६ करोड ३५ लाख वर्षपछि (आजभन्दा २५ लाख वर्ष पहिले) अफ्रिकामा पहिलोपटक मानिस अस्तित्वमा आयो।

मानिसका धेरै किसिमका प्रजाति थिए भन्ने दाबी छ विज्ञानको। ती आदि किसिमका सबै प्रजातिका मानिस झन्डै २४ लाख वर्षसम्म अन्य प्राणीसरह बाँचे।

पृथ्वी सतहमा मात्रै होइन, सतहदेखि हजारौं किमीमाथि आकाशमा पनि सबैखाले आवश्यक वातावरण घटित हुने संयोग फलित भयो। एउटा ‘ओजोन लेयर’कै विरलता वा सघनताबारे कल्पना गर्नुस्! त्यो विज्ञानले जुन भन्छ नि पृथ्वीमा हामी हुनु अथवा जीवित रहनुका पछाडि २७ अंक भएको संख्यामा रहेका संयोगको ‘फाइन ट्युनिङ’ हुनु हो।

एक थरीको बौद्धिक जमात छ, जसको विचार छ, तपाई सबै क्षेत्रसँग प्रश्न र उनका भनाइमा सन्देह व्यक्त गर्न सक्नुहुन्छ, तर विज्ञानप्रति प्रश्न गर्न उनीहरुको नजरमा अक्षम्य पाप हो। दया लाग्छ– यस्तो बौद्धिक जमातको बौद्धिकतामा। विज्ञान अगाडि बढ्छ नै नाना थरीका प्रश्न र सन्देह आई दिनाले।

अब कथा के हो भने, कथामा ठूलो ‘ट्विस्ट’ आउने बेला भयो। आजभन्दा ७० हजार वर्ष पहिले अनेक प्रजातिका मानिसमध्ये एउटा प्रजातिका मानिसमा अचानक बुद्धिमताको ग्राफ उकालो लाग्न थाल्छ। यस्तो किन हुन्छ? विज्ञानलाई थाहा छैन। यस्तो ‘इभोल्युसन’ भयो रे ! एकथरी मानिस (हामी होमो सेपियन्स) को बुद्धि अतिविकसित भयो, उसले आफ्नो बुद्धिको सहायताले सबैभन्दा पहिला आफ्नै प्रजातिका अन्य सबै किसिमका मानिस सखाप बनायो। आफ्नो एकछत्र राज्य स्थापना गर्ने दिशामा ७० हजार वर्षदेखि निरन्तर सक्रिय रही आएको छ यो ‘होमो सेपियन्स’ अर्थात् हामी।

‘बिग बैंग’ देखि आधुनिक मनुष्यको विजय गाथासम्मको विज्ञान कथामा अनेकौ झोल छन्। अनन्त सानो कण (बिन्दु)मा के कारणले कुन प्रभावले त्यो कण फैलिन थाल्यो। अलि अलि मात्रै फैलिएको हो र, अहिलेसम्म ९३ अर्ब प्रकाश वर्षसम्म फैलिसक्यो।

त्यो सानो बिन्दुमा संगृहित रहेको ऊर्जा कुन ‘इन्टेलिजेन्स’ का कारण विभिन्न प्रक्रियाका चरण पार गर्दै पदार्थका रुपमा नयाँ अस्तित्व ग्रहण गर्न सफल भयो, मैले प्रश्न र सन्देह गर्ने क्रमलाई विश्राम दिइन भने अर्को प्रश्नपुराण अथवा सन्देह पुराण सिर्जना हुने आशंका देखियो। पुनः संक्षेपीकरणको मार्ग अबलम्बन गर्छु।

सौर्यमण्डलकै कुरा गरौँ। सूर्य र पृथ्वीको ‘परफेक्ट गोल्डिलक जोन’ को दूरी कुन ‘इन्टेलिजेन्स’ले निर्धारित गरिदियो, ‘ओजोन लेयर’, माथिल्लो एवं पृथ्वी सतहको उपयुक्त वातावरण (जीवनलाई पायक हुने) र जीवनलाई आवश्यक हुने ‘अर्गानिक कम्पाउन्ड’, विभिन्न ग्यासको समुचित मात्रा, गुरुत्वाकर्षण आदि करोडौं पायक हुने अवस्था कसरी सिर्जना भए।

खगोलशास्त्रका विद्यार्थीलाई थाहा छ, त्यो भीमकाय वृहस्पति ग्रह नहुँदा पनि त पृथ्वीको वर्तमान स्वरुप कायम रहने विश्वास गर्न सकिँदैन। यहाँनिर अर्को सत्य हो कि तथ्य उल्लेख गर्नु रमाइलो नै हुन्छ। त्यो मंगल र वृहस्पति ग्रहका मध्ये जुन उल्काको क्षेत्र छ, ती उल्का पनि सौर्यमण्डल निर्माण हुँदा अवशेषका रूपमा शेष नरहेको भए पृथ्वीमा पानीलगायत अन्य जीवन उपयोगी ‘कम्पाउन्ड’ को अभाव हुने थियो,अर्थात पानी र ती ‘आर्गानिक कम्पाउन्ड’ उल्का मार्फ़त पृथ्वीमा नखसेको भए पृथ्वी पनि ब्रह्माण्डका अर्बौ ग्रहका भांति बाझै रहने थियो।

२५ लाख वर्ष पहिला अस्तित्वमा आएको मानव भन्ने प्राणी एवं ७० हजार वर्ष पहिला बुद्धिचेत सम्पन्न भएको घटनापश्चात् के प्रकृतिमा हुने सबै संयोगको इतिश्री भएको हो? के प्रकृतिको प्रयोजन हामीजस्ता धुर्तको निर्माण एवं वर्चस्व स्थापित हुन साथ परिपूर्णतालाई प्राप्त भइ समाप्त भएको हो ? कुनै मुर्ख भन्दा मूर्खराजले पनि यस कुरामा सहमति व्यक्त गर्दैन होला।

के यी सबै संयोगका पछाडि कुनै ‘सुप्रीम इन्टेलिजेन्स’ थिएन ? मानिसको कुरा गरौ यसले आफ्नो वंश वृद्धि मैथुन प्रक्रियाबाट गर्छ। यसै प्रक्रियाअन्तर्गत २ किसिमका बिउको संयोजन भई नयाँ बिरुवाको (मानिस) सृजन हुन्छ। जन्म लिने नयाँ मानिसको बिउ स्त्री तथा पुरुष दुवैसँग रहेका बिउको ‘फ्युजन’बाट नै पुष्पित हुँदै पल्लवित हुन्छ।

कतिपय पुरुषलाई आफ्ना अण्डकोष शरीर बाहिर झुन्डिएकोमा असहज प्रतीत हुन्छ, साथै यसका अनेकौं खतरा पनि छन्। प्रश्न उठछ – यो अतिआवश्यक बिउ संगृहित हुने ठाउँ शरीरबाहिर किन ? यससम्बन्धी विज्ञहरुसँग सोधी हेर्नुस्।

सामान्यतया मानिस शरीरको तापक्रम ३६ डिग्री सेन्टिग्रेडका आसपास रहन्छ। यस तापक्रममा शुक्राणु तथा ‘हार्मोन टेस्टोस्टेरॉन’ बाँच्न सक्दैनन्। मानिसको अण्डकोष शरीरभित्र भएको भए मानिस प्रजातिको अन्त उहिल्यै भइसक्ने थियो। अत्यधिक गर्मी हुँदा अण्डकोषको थैलो फैलिनु र जाडोमा खुम्चिनुको कारण शुक्राणुलाई चाहिने उचित वातावरण बनाई राख्नु हो। अण्डकोष शरीरभित्र भएको भए शरीरको तापले शुक्राणुलाई नष्ट गरि दिएर अर्कै कुनै प्रजाति को विज्ञान ले एउटा थप ‘extinction event ‘ बारे खोज अनुसन्धान गर्नुपर्ने हुन्थ्यो।

खै! यो व्यवस्था संयोगले बनेको हो कि यसका पछाडि बहुतै उन्नत किसिमको ‘इन्टेलिजेन्स’ विद्यमान छ, कसले भनी दिने र कसले पत्याई दिने?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?