
काठमाडौँ-सरकारले लकडाउन पूर्ण रुपमा खुल्ला गरे पनि पर्यटन व्यवसायहरुले सरकारले जारी गरेको आचार संहिता (प्रोटोकल) लागू गनुपर्ने भएको छ।
नेपाल पर्यटन बोर्डका सूचना अधिकारी मणि लामिछानेले लकडाउन सकिए पनि कोरोनाको जोखिम यथावत नै रहेकाले उक्त प्रोटोकल लागू गर्नुपर्ने जानकारी दिएका हुन्।
उनले जबसम्म कोरोना भाइरस सामान्य अवस्थामा आउँर्दैन तबसम्म उक्त प्रोटोकल पर्यटन व्यवसायीहरुले लागू गर्नपर्ने बताए। उनले भने, ‘लकडाउन सकिएको हो। तर कोरोना भाइरस बाँकी नै छ। त्यसको सुरक्षाका लागि प्रोटोकल तयार गरिएको हो। त्यो त लागू गर्नुपर्छ।’
उनले सबैभन्दा बढी मारमा परेको व्यवसायलाई सामान्य अवस्थामा फर्काउन कोरोनासँग सुरक्षित रही व्यवसायहरु सञ्चालन गर्न उक्त प्रोटोकल तयार गरिएको बताए।
उक्त प्रोटोकलमा कोभिड–१९ बाट बच्न सकिने सबै उपायहरु समावेश गरिएको उनले जानकारी दिए। ‘हामीले लिभिङ विथ कोभिड भन्ने नारासँगै व्यवसायहरुलाई सञ्चालन गर्न खोजेका हौँ’ उनले भने ‘महामारीको डरले घरमा बसेर भएन। व्यवसाय नै ठप्प हुने अवस्थामा पुगिसकेको छ।’
उनका अनुसार कुनै पनि समस्या आउँदा पर्यटन व्यवसाय सबैभन्दा बढी मारमा पर्ने र सामान्य अवस्थामा फर्कन पनि धेरै समय लाग्छ। ‘कुनै रोग या विपति आउँदा अन्य क्षेत्रहरु पर्यटन व्यवसायभन्दा छिटो सामान्य अवस्थामा फर्कन सक्छन्’ उनले भने ‘तर पर्यटन व्यवसायलाई निकै समय लाग्छ। यस्ता महामारीले त दिर्घकालिन असर नै गर्छ।’
दिर्घकालिन असरलाई मध्यनजर गर्दै आन्तरिक पर्यटन प्रवद्धन गर्न आफूहरुले त्यसका लागि काम गरिरहको उनले बताए। ‘सरकारले भदौ १ गतेबाट सबै प्रकारका उडान सूचारु गर्ने भने पनि विदेशी पर्यटक कति आउँछन् भन्नेमा अन्यौता छ। त्यसैले अहिले हाम्रो पहिलो प्राथमिकता आन्तरिक पर्यटन प्रवद्धन गर्ने हो’ उनले भने।
तर महामारीसँगै बाह्य तथा आन्तरिक पर्यटन प्रवद्धन गर्नका लागि अपनाउनुपर्ने सुरक्षा सजकताबारे तयार गरिएको प्रोटोकलको प्रभावकारी कार्यान्वयनका लागि हालसम्म १० वटा तालिम सम्पन्न भइसकेको र तालिमलाई निरन्तरता दिने उनले बताए।
उनले यस तालिमले पर्यटन उद्योगको हालको प्रमुख विषय स्वास्थ्य सुरक्षामा जोड दिई डिजिटल मार्केटिङको प्रयोग गरी व्यवसायलाई जीवन्त बनाउने बताए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र बोर्डले जारी गरेको ‘अपरेशनल गाइडलाइन विथ हेल्थ प्राटोकल फर टुरिज्म सेक्टर’ लाई प्रभावकारी प्रयोग गर्न बोर्डले पर्यटन सम्बद्ध संघसंस्थासँगको सहकार्यमा पर्यटन व्यवसायीका लागि तालिम असार १९ गतेदेखि सञ्चालन गरेको थियो।
उक्त प्रोटोकल असार ८ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जारी गरेका हुन्।
प्रोटोकलमा के छ ?
पर्यटक विमानस्थलमा झरेदेखि फर्किँदासम्म कोरोना भाइरसका सुरक्षा अपनाउनुपर्ने विषय उक्त प्रोटोकलमा समावेश गरिएको छ।
होटल
होटलहरुले आफ्ना कर्मचारीहरुलाई कोभिड–१९ को जोखम तथा त्यसबाट सुरक्षित रहने उपाय सम्बन्धी तालिम दिनु पर्नेछ। होटलहरुमा यस्तै सामाजिक दुरी कायम गर्नुपर्ने, स्यानिटाइजर वा साबुन पानीले हात धुनु पर्ने, मास्क तथा थर्म गनको अनिवार्य प्रयोग, ग्राहकको गोपनियतालाई ध्यानमा राखि ‘प्रश्नल डाटा’ राख्र्ने लगायतका मापदण्डहरु तोकिएका छन्।
तर होटलहरु सञ्चालन भए पनि उक्त क्षेत्रका स्पा, क्यासिनो, प्लेरुम, जिम कोभिड–१९ सामान्य अवस्थामा नआएसम्म बन्द रहनेछन्।
रेष्टुरेन्ट
रेष्टुरेन्टमा पनि स्यानिटाइजर तथा साबुनपानीले हात सफा गर्नुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने, थर्म गन तथा मास्कको अनिवार्य प्रयोग, ग्राहहरुको ‘प्रश्नल डाटा’ राख्नु पर्ने, मिटिङ अनलाइन गर्नुपर्ने लगातका मापदण्ड तोकिएका छन्।
पर्यटन कार्यालय व्यवस्थापन र यातायात सेवा प्रदायका लागि पनि होटल तथा रेष्टुरेन्टका जस्तै मापदण्ड तोकिएका छन्।
यात्रा तथा पर्वतारोही गतिविधि
यात्रा तथा प्रर्वतारोहीहरुले कोभिड–१९ सम्बन्धी तालिम लिने, स्यानिटाइजर, मास्क, सामाजिक दूरी कायम गर्ने, प्राथमिक स्वास्थ्य सामाग्री बोक्नुका साथै त्यसको प्रयोगका लागि तालिम लिनुपर्ने लगायतका मापदण्ड तोकिएका छन्।