
जनकपुरधाम – मिथिलाको लोकपर्व मधुश्रावणी बिहीबार विशेष रुपमा मनाईँदै छ। मिथिलाञ्चलमा नव विवाहित महिलाहरुले मनाउने मधुश्रावणी पर्वले अहिले मिथिलाञ्चलमा रौनकता छाएको छ ।
मधुश्रावणीमा नव विवाहित महिलाहरु लोकगीत गाउँदै आफ्ना साथीहरूको समूह बनाएर साँझको समयमा बगैँचाबाट फूल–पात तोडेर ल्याउँछन् । तोडिएका सोही फूल–पातले भोलिपल्ट बिहान भगवानको पूजा गर्ने गर्छन् ।
साउन महिनाको कृष्णपक्षको पञ्चमी तिथिबाट प्रारम्भ हुने यो पर्व शुक्लपक्षको तृतीया तिथिका दिन सम्पन्न हुने गर्दछ । १४ दिनसम्म मनाईने मधुश्रावणी मिथिलाका नवविवाहिता महिलाका लागि विशेष पर्वको रुपमा रहेको छ ।
तिथिको गणनामा थपघट भएपछि सोही अनुरूप यो पर्वको अवधिमा पनि हेरफेर हुने गर्दछ । मिथिलाको यो लोकपर्व बेहुलीहरुले विशेष गरी माईतीमा मनाउने गर्दछन् । यस पर्वमा बेहुलीको अतिरिक्त अन्य महिला र युवतीहरु सहभागी हुने गर्छन् । यस पर्वमा खास गरी माता गौरी, महादेव र नागदेवता (विषहरा) को पूजाको अनुष्ठान गरिन्छ ।
मधुश्रावणी पर्वको विधि
माता गौरीलाई मिथिलामा अटल सौभाग्य प्रदान गर्ने देवीको रुपमा पूजा गर्ने गरिन्छ । मधुश्रावणी पर्वका लागि नवविवाहिता महिला श्रावण कृष्ण चतुर्थीको दिन नुहाई धुवाई गरी चोखो हुने गर्छन् ।
सोही दिन दिउँसोमा नवविवाहिता महिलाहरुका साथै टोल छिमेकका अन्य महिलाहरु मिथिलाका विभिन्न लोक गीतहरु गाउँदै, हँसी ठट्टा गर्दै फूल टिप्न जाने गर्दछन्, जसलाई मिथिलामा फूललोढ़ी भन्ने गरिन्छ । टिपिएका फूल तथा बेलपत्रहरु भोलिपल्ट माता गौरी र महादेवलाई चढाउने गरिन्छ । यस पर्वमा माता गौरी र महादेवलाई बासी फूल र बेलपत्र चढाउने परम्परा रहेको छ । त्यसपछि साँझमा माता गौरीका लागि नैवेद्य तयार गरिन्छ, त्यस समय बेसारलाई माता गौरीको प्रतिक प्रतिमास्वरुप बनाएर पानको पातमा राख्ने गरिन्छ जसलाई मैथिली भाषामा गौर भन्ने चलन छ ।
यसका लागि छिमेकी महिलाहरुलाई निम्तो दिईन्छ र महिलाहरुले मधुश्रावणीमा हुने विभिन्न विधि विधानहरुको महत्व र विशेषता झल्किने खालका लोक गीतहरु गाउने गर्दछिन् । यस पर्वमा मिथिलाको लोक गीतहरु गोसाउनि गीत, गौरीगीत, शिवनचारी, महेशवाणी, कोहबरगीत आदि गाईने गरिन्छ । मधश्रुावणीमा गौरी र महादेवको पूजा गर्ने भएकाले शिव–पार्वतीको पारिवारिक परिवेश सम्बन्धी आख्यानहरुको चर्चा गर्ने गरिन्छ । जसले गर्दा पूजाको समय मनोरञ्जनात्मक परिवेशको निर्माण हुने गर्दछ ।
गौरी नैवेद्य र गौरीको प्रतिमा नवविवाहिता महिलाको माईती र ससुराली दुबै ठाउँ बनाईने गरिन्छ । यो पर्व खास गरि माईतीमै मनाईने भएकाले ससुरालीमा बनाईएको गौरीको प्रतिक र गौरीको नैवेद्य पूजाको दिन पूजास्थानमा राखिने गरिन्छ । यस अवसरमा नवविवाहिताको ससुरालीबाटै साड़ी, श्रृंगारका सम्पूर्ण सामग्रीका साथै १५ दिनसम्मका लागि अन्न समेत पठाउने चलन रहेको छ ।
मधुश्रावणीमा १३ दिनसम्म गरिएको पूजामा एकत्रित गरिएको फूल अर्थात निर्माललाई अन्त्यमा विसर्जन गरिने प्रावधान रहेको छ । साउन शुक्लपक्षको तृतीया तिथिका दिन मधश्रुावणी पर्व समापन गरिन्छ । तृतियाभन्दा एक दिन पूर्व व्रतालु बेहुली (चोखो हुनु) नहाएखाए गरेपछि सोही दिन साँझ फेरी गौरी नैवेद्य पकाउँछिन् । सोही दिन नवविवाहिताहरु टेमी विधिमा शामिल हुन्छिन् । टेमी विधिमा दियोको टुप्पीले नवविवाहितालाई गोडामा पोलिन्छ । बेहुलीको देब्रे गोडामा टुप्पीले स्पर्ष गराइन्छ । स्पर्ष गराइएको स्थानमा चन्दनको लेप लगाइन्छ ।
यसमा पोलिएको ४ स्थानमध्ये एक वा तीन स्थानमा घाउ आए श्रीमान्ले भविष्यमा अझै बढी माया गर्ने भन्ने विश्वास रहेको छ । तर नवविवाहिता महिला गर्भवती रहेको पाईए उनीहरुलाई शीतल टेमी दिईन्छ ।
मधुश्रावणी पर्व मिथिला क्षेत्रको विशिष्ट पर्व रहेपनि ब्राह्मण, कायस्थ, भूमिहार र सोनार जातिले मात्रै मनाउने गर्छन् । पर्वमा जाती, स्थान अनुसार विधिमा विविधता समेत पाइन्छ । जस्तै ब्राह्मण परिवारमा पूजा अवधीभभरी ससुरालीबाट आएको अन्न मात्रै खाने प्रचलन छ । तर अन्य जातीमा भने सो प्रावधान पाइदैन ।
मधुश्रावणीको महत्व
अवधीको दृष्टिले यो पर्व मिथिला क्षेत्रको सबैभन्दा ठूलो पर्व हो । भगवान् शंकरलाई मिथिला क्षेत्रमा त्रिभुवननाथ भनी आस्थाका साथ पूजा गरिन्छ । आशुतोष शंकर मनोवाञ्छित फल पद्रान गर्ने देवताको रुपमा पूजित छन् । मधुश्रावणी पर्वमा विशेष रुपमा नाग देवतालाई विषहराको नामले पूजा गर्ने गरिन्छ ।
विषहरालाई महादेवको सन्तति सरह मानिएकोले यो पर्व गर्नाले सर्पको भय नहुने र भगवान शंकर समेत प्रसन्न हुने जनविश्वास रहेको पाइन्छ ।
मधुश्रावणी पर्व दार्शनिक दृष्टिकोणबाट समेत महत्वपूर्ण रहेको नेपाल नाट्य संगित कला प्रतिष्ठानका प्राज्ञ रमेशरञ्जन झा बताउँछन् । पर्व अन्तर्गत वाचन गरिने कथाहरुमा सृष्टितत्व, पृथ्वीको जन्म आदिको वर्णन पाइनुका साथै जीवन, प्रारब्ध, कमर्पmलको भोग, पुनर्जन्म इत्यादि गम्भीर विषयहरुलाई समेत लोककथाको माध्यमले सुनाइने गरिन्छ ।
हुनत यो पर्व सामाजिक दृष्टिकोणले समेत अति नै महत्वपूर्ण रहेको छ । पर्वका कथाहरुमा भगवान शंकरको पारिवारिक जीवन सम्बन्धी कुराहरु, विवाह, भगवान शंकर र माता गौरीको दाम्पत्य जीवनको प्रसंगका साथै समाज र परिवारमा ईष्र्या, द्वेष, सेवा, सहिष्णुता, सहयोग, समर्पण, काम (वासना), मनोरञ्जन, दाम्पत्य प्रेम, पारिवारिक कर्तव्यबोध इत्यादिको वर्णन गरिएको हुनाले यो पर्व शिक्षाको दृष्टिले समेत महत्वपूर्ण रहेको रमेशरञ्जन बताउँछन् ।