
सिमकोट-पाँच दिनअघि पहिरो पीडित भएर पालमुनि बस्दै आएका स्थानीयहरुको दैनिक अत्यावश्यक वस्तुहरुको अभाव हुन थालेको छ। पहिरोबाट बच्न गाउँपालिकाले पालको व्यववस्था गरे पनि दैनिक उपभोग्य वस्तुको व्यवस्था नगरेपछि उनीहरुलाई छाक टार्नै धौधौ हुन थालेको छ भने लत्ता कपडाको समेत अभाव हुन थालेको छ।
ताँजाकोट गाउँपालिका वडा नमबर ३ की धनमति सार्कीले सिंगो गाउँ नै पहिरो जाने खतरा बढेपछि पालमुनी बस्दै आएकोमा हाल खाना खर्च र लत्ताकपडाको समस्या पर्न थालेको बताइन्।उनले भनिन्, ‘पहिरो जाने खतरा देखिएपछि हामीलाई गाउँपालिकाले राहतमा पालको ब्यबस्था मात्रै गरिदियो । तर दैनिक उपभोग्यो र लत्ताकपडाको कुनै पनि सहयोग गरेन। हामीलाई अब खाना र नानाको पनि अभाव हुन थालेको छ।’
यस्तै पहिरो जाने खतराले पालमुनि बस्दै आएका ताँजाकोट गाउँपालिका-३ की वडा सदस्य औकला सार्कीले गाउँमा पहिरो भन्दा पनि दैनिक उपभोग्य सामानको अभावले सताउन थालेको बताईन्। उनले भनिन्, ‘एकातिर पहिरोले लैजाला भन्ने डर छ भने अर्को तिर भोकभोकै पालमुनि कसरी बस्ने भन्ने चिन्ता छ। हामीलाई न कुनै खानेकुरा छ न लत्ताकपडा। पानी र हुरीले आयो भने त तहसनहस बनाउँछ।’
पहिरोको डरका कारण २८ घरधुरीका स्थानीयहरु पालमुनि बस्दै आएका छन्।
यता, गाउँपालिका अध्यक्ष बाग्दल मल्लले तत्काल गाउँपालिकाले पालको व्यवस्था गरे पनि अन्य सहयोगको लागि सहयोगी हातहरुलाई राहत सहयोगका लागि आग्रह गरेको बताए।
उनले भने, ‘पाल दिएर पहिरोबाट जनता सुरक्षित राखेका छौं।अब गुजारा चलाउने सामाग्रीको आवश्यकता परेको छ। हामी सहयोगी हातहरु जुटाउँदैछौ।’