उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग अन्तर्वार्ता

‘महामारीले भोकमरी नल्याओस् भनेर हामीले खोल्यौँ’

‘महामारीले भोकमरी नल्याओस् भनेर हामीले खोल्यौँ’
+
-

काठमाडाैँ- सरकारले बुधबारदेखि लकडाउनलाई हटाउँदै अधिकांश क्षेत्रलाई सुचारु गर्न दिएको छ। लकडाउन खोलेसँगै मानिसहरुको आवागमन बढेको छ। यसबाट संक्रमणको जोखिम बढेको छ।

त्यस्तै भदौ १ गतेदेखि लामो दूरीका सार्वजनिक यातायात र आन्तरिक तथा बाह्य उडानलाई खोल्ने तयारी पनि सरकारले गरेको छ। यसबाट झनै बढी संक्रमणको जोखिम बढ्ने देखिन्छ । मानिसहरुको जीवन र आर्थिक गतिविधिलाई अगाडि बढाउन पनि आवश्यक छ। त्यसका लागि लकडाउन खोल्नै पर्ने हुन्छ । तर संक्रमणको जोखिम बढ्ने सम्भावना भएकाले सरकारले विशेष तयारी गर्नुपर्छ ।

लकडाउन अवधिभर सरकारले कुनै तयारी गरेको देखिँदैन । सम्भावित संक्रमणको जोखिमलाई व्यवस्थापन गर्न सरकारले कस्तो तयारी गरेको छ । यसै विषयमा केन्द्रित रहेर उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग गरिएकाे कुराकानी।

सरकारले लकडाउन खोलेको घोषणा गरेको छ। कोरोना संक्रमणको जोखिम हटिसकेको भएकाले लकडाउन खोलिएको हो?

सबैभन्दा पहिले लकडाउन खोलेको भन्ने समाचार आएको छ यसमा म के भन्छु भने हामीले प्रचलित शब्दलाई प्रयोग गरेर लकडाउन भन्यौं । लकडाउनको कुरा गरिरहँदा मान्छेको दैनिक जीवन र आर्थिक गतिविधिलाई पनि ख्याल गर्नुपर्ने भएकाले खासगरी संक्रमणलाई प्रभावित बनाउने विषयलाई ख्याल गरेर अरु कतिपय कुराहरुमा लचक हुनुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका हौं ।

पहिले देखि नै हामीले कृषि उत्पादन औद्योगिक उत्पादनका सामग्रीहरु ल्याउने र आपूर्तिको प्रणालीलाई ठीक ढंगले चलाउने भन्ने कुरा गरेका थियौं । अहिले पनि हामीले कुनैपनि शैक्षिक संस्थाहरु खोलेका छैनौं । सभा सम्मेलनहरु हुन दिएका छैनौं । मनोरन्जन स्थलहरु बन्द छन् । त्यस्तै सैलुन, स्पा सञ्चालन गरिएको छैन। नाचघरहरु तथा सिनेमाहलहरु पनि बन्द गर्ने कुराहरुलाई हामीले कायम नै राखेका छों । त्यतिमात्रै होइन अन्तर जिल्ला सार्वजनिक यातायात पनि खोलेका छैनौं ।

निश्चित प्रोटोकललाई मेन्टेन गरेर सार्वजनिक यातायातहरु जिल्लाभित्र चल्ने कुरा गरेका छौं। यसको अर्थ लकडाउनलाई हामीले खुकुलो बनाएका छौं र खुकुलो किन बनाएका छौं भन्दा मान्छेका दैनिक जीवनहरुलाई सञ्चालन हुन दिन पर्‍यो र आर्थिक कारोबारहरुलाई अगाडि बढाउने उद्देश्य राखेर गरेको हो। अब बोलिचालीमा लकडाउन खुल्यो भन्ने छ। मान्छेहरुको आवागमन त हामीले पहिलेदेखि नै सहज बनाएका हौं। यो कुरा गरिरहँदा समाजिक दूरी कायम गर्ने, सेनिटाइजेसनको कुरामा ख्याल गर्नुपर्ने र परीक्षणलाई अगाडि बढाउनुपर्ने कुराहरुमा हामीले जोड दिएका छौं।

लकडाउनको अवस्थामा समेत पर्याप्त तयारी हुन नसकेको देखिन्छ। अहिले लकडाउन केही खुलेको अवस्था छ। यो समयमा अपनाउनुपर्ने सतर्कतामा सरकारले ध्यान दिएको छ?

यो विषयमा अलिकति बुझाइमा सबैजना एकठाउँमा आउन जरुरी छ। संक्रमणलाई रोकथाम गर्ने कुरा सरकारको आदेशको कुरा मात्रै होइन। कर्फ्यू जस्तो कुरापनि होइन । यो नागरिकहरुको सचेतनाको कुरा हो । हामी सबै नागरिकहरु आफू सुरक्षित हुनु पर्‍यो, आफू संक्रमणबाट बच्नु पर्‍यो, तबमात्रै समाजलाई हामी बचउन सक्छौं देशलाई बचाउन सक्छौं। नागरिकहरुको सचेतनाको कुरा पनि हो। हामी गैह्र जिम्मेवार भयौं, हामी सामाजिक दूरीलाई कायम गर्दैनौं, हाम्रो बानीलाई सुधार गर्दैनौं, हामी सेनिटाइजेसनको कुरामा ख्याल गर्देनौं, हामी व्यायामका कुराहरुमा ख्याल गर्दैनौं भने सरकारले आदेश जारी गरेर मात्रै संक्रमणलाई रोक्न सकिँदैन ।

लकडाउनलाई बिस्तारै खोल्दै गएपछि हिजोआज सबै ठाउँमा भिडभाड बढेको छ । किन सरकारले कोरोना संक्रमणका लागि सचेतना जगाउन सकिरहेको छैन ?

यसमा सरकारले गरिदिने के हो ? सरकारले त त्यसको बारेमा बताउने हो । जस्तो भनौं हामीसँग परीक्षण गर्ने कुनैपनि ठाउँ नभएको बेलामा सरकारले पीसीआर परीक्षण गर्न मात्रै २८ वटा ठाउँमा सूदूरपूर्व देखि सूदूरपश्चिम सम्म पीसीआर परीक्षण गर्ने ल्याब बनायौं । कोरोना डेडिकेटेड हस्पिटलहरु स्थापना गर्‍यौं । स्वास्थ्य सामग्री र औषधीको व्यवस्था गर्नका लागि जिटुजी मार्फत हामीले सामग्री खरिद गरेर उपलब्ध गराउने काम गर्‍यौं । निजी क्षेत्रले ल्याउँछ भने त्यसलाई पनि प्रोत्साहन गर्‍यौं । म एउटा तथ्याङ्क भन्न चाहन्छु नेपालमा १८ हजार ९४ संक्रमण देखियो र अहिले संक्रमितहरु ५ हजार ३ सय ६८ छन् ।

हाम्रो देशमा कुल संक्रमितहरु मध्ये ७० प्रतिशत भन्दा बढी निको भएका छन् । हामीले मृत्युको कुरा गरिरहँदा शून्य दशमलव २३ प्रतिशत अर्थात ४२ जना मात्र हो । अहिले २ लाख ७ हजार ९ सय १८ क्वारेन्टाइन बनाएका छौं । जसमा २० हजार ८ सय ४२ जना रहेका छन् । यो साउन ७ गते सम्मको तथ्याङ्क हो । अहिले हामीले परीक्षणको लागि मात्रै २८ ठाउँमा पीसीआर परीक्षण गर्ने ल्याब स्थापना गरेका छौं ।

नेपाल भन्ने मुलुक संसारको ४९ नम्बरमा पर्छ । कोरोना परीक्षण गर्ने मुलुमा ५० औं नम्बरमा, कोरोना संक्रमणको हिसाबले ६३ नम्बार र कोरोनाबाट मृत्यु हुने हिसाबले १ सय २० औं नम्बरमा पर्छ। दक्षिण एशियामा परिक्षण गर्ने मुलुकमा नेपाल अग्रस्थानमा पर्छ । जस्तो खालको अवस्था छ र साधन स्रोतको सीमितता छ त्यस्तो अवस्थामा हामीले यो व्यवस्थित गरेका छौं ।

हामीले काठमाडौंदेखि सबै प्रदेशमा कोरोना लक्षित अस्पताल स्थापना गर्‍यौं । ल्याबहरु स्थापना गर्‍यौं । परीक्षणको कुरालाई हामीले त्यही ढंगले अगाडि बढायौं । अब हामी समुदायमा पनि परीक्षण गर्नुपर्छ भन्ने हिसाबले गएका छौं । अहिलेसम्म त साँच्चै भन्ने हो भने बाहिरबाट आएका  मान्छेहरुको जनु ओभरफ्लो भयो भारतबाट झण्डै १० लाख मान्छेहरु आए होलान्। म नलुकाइकन भन्न चाहन्छु हाम्रो क्वारेन्टिनको त्यस्तो व्यवस्था थिएन। यस्तो अवस्थामा व्यवस्थापन गर्न हामीलाई हम्मेहम्मे परेकै हो। अहिले क्वारेन्टाइनमा आएर बसेका मान्छेहरुको परीक्षण गर्ने कुरामा हामी फोकस छौं। अव समुदायमा पुगेर परीक्षण गर्ने कुरामा जानुपर्छ।

लकडाउन खुकुलो बनाइएपछि मान्छेहरुको सम्पर्क बढ्दै गएको छ। यो अवस्थामा सर्वसाधारण कसरी सुरक्षित रहने? संक्रमणको जोखिम बढ्ने निश्चित देखिन्छ। यसको रोकथामका लागि सरकारको तयारी के छ?

सबैभन्दा पहिलो मानिसहरुले सचेतनाको कुरामा ख्याल गर्नुपर्छ। संक्रमणबाट बच्नको लागि नागरिकहरु आफै सचेत भएनन् भने सरकारको आदेशले मात्रै हुँदैन। त्यसपछि हाम्रो अस्पतालको प्रबन्धको कुरा हो। अस्पतालको प्रबन्ध अहिले जे अवस्था छ त्यसअनुसार हामीले सरकारी अस्पताल, निजी अस्पताल, सरकारी अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरु र निजी अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई सचेत गराएका छौं।

हामीले स्वाथ्यकर्मी र सुरक्षाकर्मीहरुको बीमा गर्ने, शतप्रतिशत भत्ता देखि ७५ प्रतिशत भत्ता सम्मको व्यवस्था गरेका छौं। हामीले हाम्रो परिवेश जे छ त्यही भित्रबाट गर्ने होला। हामीले यी चिजहरु गरेका छौं। यसमा म अहिले पनि अनुरोध गर्न चाहन्छु कस्तो खतराबीच बिचमा स्वास्थ्यकर्मीहरुले काम गर्नुभएको छ । कस्तो खतराको बिचमा सुरक्षाकर्मीहरुले काम गर्नुभएको छ । दिनरात नभनी खटेका छन् । उनीहरु संक्रमणमा पर्न सक्ने भएकाले हामी गर्न सक्दैनौं भन्न सक्थे, हामी जान्नौं भन्न सक्थे तर गएका छन् । मेरो भनाइ के हो भने यो संक्रमण यो महामारी जुन छ यसको विरुद्धमा जुध्नको लागि सबै सरकार र सरकार भन्दा बाहिर रहेका सबै एकतावद्ध भएर लाग्नुपर्ने जरुरी छ । साझा काम हो भनेर ठान्नुपर्ने जरुरत छ । यो सरकारमा बस्ने रुलिङ पार्टीवालाहरुको मात्रै काम होइन ।

मैले विशेष जोड दिन के खोजेको हो भने हामी प्रतिकूल अवस्थामा अप्ठेरो अवस्थामा काम थाल्यौं यो महामारीको विरुद्धमा जुध्न प्रारम्भ गर्‍यौं । अहिले हामी क्रमश: त्यो अवस्थाबाट सुधार गर्दै अगाडि बढ्दै छौं यो चिजलाई देख्नुपर्‍यो । सबैलाई जिम्मेवारी पूर्वक ढंगले यसमा लाग्नको लागि म अनुरोध गर्न चाहन्छु । यस्तो अवस्थामा जो जसले सहयोग पुर्‍याउनु भएको छ म उहाँहरुलाई सम्मान गर्न पनि चाहन्छु । तपाई एउटा घटना सम्झिनुहोस, चीनबाट आएका युवाहरुको कोरोना परीक्षण गर्ने रिएजेन्ट नभएको कारणले हङ्कङ पठाउनु परेको थियो । हामी त त्यो अवस्थामा थियौं । त्यो अवस्थामा भएको नेपाल आज २८ ठाउँमा ल्याबहरु स्थापना गरेर सबैठाउँमा पीसीआर परीक्षण गराउने कुरा हामी गर्देछौं । यो त हामीले महत्वपूर्ण काम गरेका हौं । हामीले कोरोना डेडिकेटेड हस्पिटलहरु स्थापना गर्‍यौं । हामीले राहतका कुराहरु गर्‍यौं । भने अनुसार भएन होला तर गर्न त गरेका छौं नि ।

भदौ १ गते पछिको अवस्थालाई सरकारले कसरी हेरेको छ ? लामो दूरीका सार्वजनिक यातायात र हवाई उडानलाई पनि खोल्ने भनिएको छ । यस्तो अवस्थामा अन्तर्राष्ट्रिय पहुँच पनि बढ्छ र संक्रमणको जोखिम पनि बढ्ने छ ।

यसमा के छ भने कहिं संक्रमणको अलिकति गम्भीर स्थिति देखिने बित्तिकै हामी ती ठाउँहरुलाई तुरुन्तै शिल गर्न सक्छौं । हिजो लकडाउन गरिरहँदा अलिकति ध्यान नपुगेको के देखियो, सोलोडोलो सबै ठाउँमा एकनासले गरियो वास्तवमा त्यसमा हामीले अलिकति स्पेसिफाइ गर्नुपर्थ्यो। अहिले पनि लकडाउनलाई खुकुलो बनाइरहँदा कतिपय ठाउँमा संक्रमणको स्थिति देखियो भने त्यो ठाउँ शिल हुन्छ । त्यहाँ मुभमेन्टहरु रोकिन्छ, गतिविधिहरु सबै रोकिन्छन्, त्यो ढंगले जानुपर्छ भन्ने हाम्रो योजना छ ।

लगभग सबै क्षेत्र खुलेका छन् । लामो दूरीका यातायात र हवाई यातायातलाई पनि खोल्ने तयारी गरिँदै छ । यी सबै क्षेत्रलाई खोल्दा विद्यालयलाई खोल्ने तयारी किन गरिएन ?

हामीले आन्तरिक उडान र बाह्य उडानलाई खोलिहालेका होइनौं । संक्रमणको यही स्थिति भयो भने हामी खोल्न सक्छौं भनेर भनेका छौं । त्यसलाई पनि स्पेसिफाइ गर्न बाँकी छ । भदौ १ गते देखि खोलिसकेको होइन । यही अवस्थामा संक्रमणको स्थिति डरलाग्दो भएन अलि कम हुँदै गयो भने हामी त्यसमा जान्छौं भनेर भनेका हौं । विद्यालयको कुरा के हो भने कन्सन्ट्रेटेड हुने ठाउँ हो। जस्तो सभा, सम्मेलन, भेला, पब्लिक कार्यक्रमका कुरा सबै बन्द छन् । त्यसैले विद्यालयमा हामीलाई के लागेको हो भने संक्रमणको डरलाग्दो क्षेत्र हो । तर संक्रमणको स्थिति घट्दै आयो र थोरै सावधानी लिँदा पनि हुने स्थिति भयो भने केही सावधानी अपनाएर शैक्षिक संस्थाहरु पनि खोल्नुपर्ने हुन्छ ।

अहिले हामीले शैक्षिक संस्थाको हकमा के गरेका छौं भने भर्ना, अभिलेख राख्ने, कक्षाहरुलाई आउने दिनमा कसरी व्यवस्थित ढंगले सञ्चालन गर्ने यो कामको लागि खुला गर्न खोजेका छौं । हामीलाई भदौ १ गतेपछि त्यो गर्नुपर्छ कि भन्ने लागेको छ । त्यसबेला सम्म संक्रमणले कुन रुप देखाउँछ सोही आधारमा हामी तय गर्छौं ।

सरकारी विद्यालयहरुलाई त यो व्यवस्थाबाट ठिक भएको होला । तर यसले निजी विद्यालय र अभिभावकबीच द्वन्द्व् हुने अवस्था आएको छ । यो समस्यालाई सरकारले नजरअन्दाज गरेको हो अथवा अरु केही तयारी हुँदैछ ?

निजी क्षेत्रसँग जोडिएर आएको यो समस्याको बारेमा शिक्षा मन्त्रालयले अभिभावकका भनाइहरु निजी क्षेत्रबाट सञ्चालन भएका शैक्षिक संस्थाहरुकोबीचमा पनि मन्त्रालयको तर्फबाट पहल गरेर सम्बाद गरेर समाधानको उपयुक्त प्रस्ताव बनाउँदै छ ।

भनेपछि हामी छिट्टै शुल्क पनि तोक्न सक्छौं ?

त्यसमा के गर्ने अभिभावकहरुले कति स्याक्रिफाइस गर्ने भन्ने हो । निजी क्षेत्रका विद्यालयहरु पनि समस्यामा त हुन्छन् अनि अभिभावकहरु पनि अप्ठेरोमा पर्छन् । त्यसकारण हामी दुवैको समस्यालाई ख्याल गर्नुपर्छ भन्ने हो ।

अन्त्यमा अहिलेको अवस्थामा सरकारकारको तर्फबाट केही भन्नु छ ?

नेपाल सरकारको प्रवक्ताको तर्फबाट सञ्चार माध्यमहरुलाई सार्वजनिक गरिएको भनाइमा पनि आएको छ । लकडाउन भन्नेबित्तिकै  यसका नकारात्मक सोचहरु तथा गतिविधिहरु पनि हुने भएकाले हामीले त्यो लकडाउन शब्द अहिले प्रयोग गर्दैनौं भनेर उहाँले भन्नुभएको छ । त्यस्तै हामीले सावधानी के केमा लिन्छौं भनेर निश्चित क्षेत्रका बारेमा बताउनुभएको छ । शैक्षिक संस्थाहरु, सार्वजनिक सभा समारोहहरु, मनोरन्जनका गतिविधिहरु र खेलकुदका कार्यक्रमहरु अहिले हुँदैनन् । ती कुराहरु अर्को मिति नतोक्दासम्म हुँदैन भनेर भनिएको छ । यसको अर्थ के हो भने हामी ती सबै कुरामा सावधानीमा छौं ।

सार्वजनिक यातायातको बारेमा निश्चित मापदण्ड पालना गरेर मात्रै जिल्ला भित्र सञ्चालन गर्छौं तर लामो दुरीका सार्वजनिक यातायात चलाउनु भन्दा पहिला निश्चित सावधानी अन्तर्गत मात्रै रहेर गर्ने भनेर भनिएको छ । औद्योगिक उत्पादनहरु, कृषि उत्पादनका वस्तुहरुलाई बजार ल्याउने कुराहरुमा पनि हामी लचक छौं । यसमा के जोडन चाहन्छु भने हामीले आज कोरोना संक्रमणको महामारीबाट जुन आतंक सिर्जना भएको छ त्रसित हुनुपरेको छ यदि हामीले आर्थिक गतिविधिलाई व्यवस्थित ढंगले लगेनौ भने आजको महामारी भोलि भोकमरीमा परिणत हुँदा डरलाग्दो परिणाम भोग्न हामी बाध्य हुनेछौं । त्यसकारणले त्यो नहोस भन्नका लागि पनि हामीले यो गरेको हो ।

म सबै जनसमुदायलाई के भन्न चाहन्छु भने संक्रमणको विरुद्धमा जुध्ने कुरा केवल सरकारको, सरकारी संयन्त्रको मात्रै काम होइन आम नागरिकहरुको काम पनि हो । नागरिकहरुमा सचेतनता नहुने हो, नागरिकहरुले सरकारलाई सकारात्मक ढंगले नसघाउने हो भने यो संक्रमण विरुद्धको लडाईमा हामी जित हासिल गर्न सक्दैनौं ।

आजसम्म जनताको सकारात्मक प्रतिक्रिया पाएका छौं साथ समर्थन पाएका छौं यसकै कारणले नेपाल संक्रमणको चपेटामा परेको भएपनि कम संक्रमण भएको देशमा छ । मैले अघि तथ्याङ्क हरु बताएँ- संसारका संक्रमित देशहरुमा नेपाल तल छ । यद्यपि धेरै खालका हाम्रा सीमाहरु छन्, समस्या छन् ।

यति हुँदा हुँदैपनि हामी संक्रमणको ठूलो क्षति हुनबाट बचाइराखेका छौं । जनताको साथ सहयोग नभएको भए स्वास्थ्यकर्मीहरुको योगदान नभएको भए सुरक्षाकर्मीहरु यसमा नलागेको भए यो हुने थिएन । त्यसकारणले सबैको साथ सहयोगले हामीले उपलब्धि हासिल गरेका छौं । थप जोखिमबाट बचाउनको लागि सहयोगको आवश्यकता छ । अरु साथ सहयोगको लागि म अनुरोध गर्न चाहन्छु ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?