रिँगटा लाग्दा आफूलाई चारैतिर घुमाएको जस्तो, लड्न लागेको जस्तो वा सन्तुलन गुमाउन लागेको जस्तो महशुस हुन्छ।
रिँगटा कस्तो खालको समस्या हो र यसले मानिसको स्वास्थ्यमा कस्ता–कस्ता समस्या ल्याउँछ भनेर हामीले नाक, कान, घाँटी तथा घुर्ने रोग विशेषज्ञ डा.योगेश न्यौपानेसँग कुराकानी गरेका छौँ। प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः
१) रिँगटा कस्तो खालको रोग हो?
रिँगटा वास्तवमा रोग होइन। हामी यसलाई कमजोरीले गर्दा लाग्ने रोग सम्झन्छौँ। तर रिँगटा लाग्नु कमजोरी मात्र नभई कुनै गम्भीर रोगको लक्षण हो।
२) रिँगटा किन लाग्छ ?
अत्याधिक मात्रामा शारीरिक र मानसिक थकान, डर, रगतको कमी, तनाव र चिन्ता, कम वा बढी रक्तचाप लगायतका कारणले रिँगटा लाग्छ।
यस्तै आँखाको कमजोरी, ब्रेन ह्यामरेज, ब्रेन ट्युमर, मस्तिष्कमा रगतको कमी, नशा फूट्ने, मुटुको धड्कन असामान्य, माइग्रेन, धेरै फोन चलाउने, अत्याधिक अल्कोल सेवनले पनि रिँगटा लाग्न सक्छ।
३) यसका लक्षणहरु के कस्ता छन्?
रिँगटाका लक्षणभन्दा पनि अनुभव फरक–फरक छन्। पहिला विरामीलाई रिँगटाको अनुभवबारे बुझ्नुपर्छ।
कोही विरामीलाई शरीर हल्लिएको अनुभव हुने, कसैलाई टाउको भारी भइ झुम्म हुने अनि वाकवाक लाग्ने, कसैलाई कमजोर भइ चक्कर लागेर लड्ने, कोही हिँड्दा सिधा टेक्न नसक्ने, कसैलाई ओछ्यानमा सुत्दा वा कोल्टे फेर्दा होस् वरिपरिका कुरा दायाँबायाँ घुमेको जस्तो हुने, आँखाको अगाडि अँधेरो छाउने, कान बज्ने, बोल्न कठिनाई हुने लगायतका समस्याहरु देखा पर्छन्।
सामान्यतया ९५ प्रतिशत विरामीलाई यस्तो खालको अनुभव हुन्छ।
४) यसको समाधानका लागि हामीले के–के गर्न सक्छौँ?
संसारभरि नै रिँगटा नलाग्ने औषधि दिने चलन छ तर त्यो राम्रो होइन। कोही मानिसलाई २–३ दिनसम्म नियमित औषधि खाँदा पनि रिँगटा लागिरहन्छ भने पहिला त कारण पत्ता लगाउनु पर्छ।
रिँगटाको लागि केही पनि टेस्ट चाहिँदैन तर विरामीलाई राम्रोसँग समय दिनुपर्छ। विरामीसँग उसको हिस्ट्री लिनुपर्छ। संसारभरिकै अस्पतालको रिर्पोट हेर्ने हो भने इमर्जेन्सीमा जाने ४० प्रतिशत विरामीलाई यो समस्या हुन्छ।
५) यसको उपचार कसरी गरिन्छ?
यसको उपचारका लागि हामीले धेरै कुरामा ध्यान दिनुपर्छ।
– समयमै खानेकुरा खाने
– एक गिलास दुध वा पानीमा ग्लूकोज मिसाएर पिउने
– रक्सी, खैनी लगायत नसालु पदार्थ नखाने
– अत्याधिक खानेकुरा नखाने
– नियमित व्यायाम गर्ने
– निन्द्रा लागेमा पर्याप्त मात्रामा सुत्ने
– टाउकोमा बदामको तेलले मालिस गर्ने
– आँखा कमजोर भएमा डाक्टरको सल्लाहमा उचित चस्मा लगाउने
– कठिन शारीरिक वा मानसिक परिश्रम नगर्ने
– कारण पत्ता नलगाई धेरै औषधि सेवन नगर्ने
भिडियाेः मन्दिरा राउत/देश सञ्चार