
सिमकोट-कोरोना संक्रमणको त्रास कम भएको भन्दै केही समय अगाडी सञ्चालनमा आएका हुम्लाका विद्यालयमा पठन-पाठन पून बन्द गरिएको छ।
सरकारले कोरोना संक्रमणको त्रास बढेको भन्दै पठन पाठन कार्य बन्द गर्ने निर्णय गरेसँगै हुम्लाको शिक्षा क्षेत्रसंग सरोकार राख्ने निकायको बैठकले पढाई सुरु भएका विद्यालयमा बन्द गर्ने निर्णय गरेका हुन।
बालमन्दिर माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर बोहराले सिमकोट गाउँपालिकाको निर्देशनमा एक हप्ता अगाडी संचालनमा आएको विद्यालय पून बन्द गरिएको बताए।देशभर कोरोना त्रास बढ्न थालेपछि विद्यालय बन्द गर्ने निष्कर्षमा गाउँपालिका पुगेको हो।
उनले बिहानी र दिउँसो गरी दुई सिफ्टमा पठन पाठन कार्य तिब्र रुपमा चलेका बेला कोरोना संक्रमण जिल्लामा आउन सक्ने संभावना देखिए पछि विद्यलाय बन्द गरिएको बताए।
सिमकोट गाउँपालिकाका सबै विद्यालय साउन २२ गतेवाट पठन पाठन सुरु भएको थियो। सिमकोट गाउँपालिकाले एक सूचना प्रकाशन गरि २३ वटा सरकारी र पाँच वटा नीजि विद्यालयहरु अर्को सुचना जारी नभएसम्मका लागि बन्द गर्ने जनाएको छ।
त्यसै गरि ताँजकोट गाउँपालिका का अध्यक्ष बागदल मल्लले पनि विद्यालयमा कोरोना संक्रमण बिरुद्धका सुरक्षा अपनाउन कठिन भएको र सामाजिक दरुी पनि कायम गर्न नसकिने अबस्था आएपछि गाउँपालिकाका १८ वटै विद्यालयमा शुक्रबारबाट पून बन्द गरिएको बताए।
जाकोट गाउँपालिकामा साउन १५ गतेबाट पठन पाठन सुरु भएको थियो। यता खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले पनि आफ्नो गाउँपालिका भित्रका १६ वटै विद्यालयमा पठन पाठन बन्द भएको बताए।
हुम्लामा सबै भन्दा पहिले साउन पाँच गतेबाट उक्त गाउँपालिकाले पठन पाठन सुरु गरेको थियो। सर्केगार्ड गाउँपालिकाले पनि सुचना प्रकाशन गरि विद्यालय बन्द गर्ने जनाएको छ।
शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख बिष्णु बहादुर शाहीले देशभर कोरोना संक्रमण बढ्न थालेपछि सरकारले सबै विद्यालयमा पठनपाठन अगाडि नबढाउने निर्णय गरेसँगै हुम्लामा पनि कोरोना संक्रमण आउने सम्भावनालाई मध्यनजर राख्दै विद्यालय बन्द गरेको बताए।