
एक समय पेप गार्डिवलाको परिचय नै बनेको थियो- च्याम्पियन्स लिग जिताउने प्रशिक्षक। उनले ३७ वर्षकै उमेरमा बार्सिलोना सम्हाल्ने अवसर पाएका थिए र पहिलो सिजन मै च्याम्पियन्स लिग जिताएका थिए।
गार्डिवलाको चर्चा स्वभाविक थियो, सन् २००८/०९ सिजनमा बार्सिलोनाले घरेलु लिग पनि जितेको थियो। त्यसपछिका लगातार दुई सिजन बार्सिलोनाले घरेलु लिग कसैलाई जित्न दिएन, थप एकपटक युरोपियन च्याम्पियन्स लिग पनि जित्यो।
सन् २०११/१२ सिजन भने बार्साका लागि सोचेजस्तो रहेन। च्याम्पियन्स लिग र ला लिगाको साबिक विजेताका रुपमा उसको नतिजा चर्चा योग्य रहेन। ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो भने च्याम्पियन्स लिगको सेमिफाइनलमा बार्सिलोनालाई चेल्सीले हरायो। लगत्तै गार्डिवलाले बार्सा छाड्ने निर्णय लिए र एक वर्ष कतै गएनन्।
च्याम्पियन्स लिग जितेर खुशीको उन्मादमा रहेको जर्मन क्लब बार्यन म्युनिखले सन् २०१३ मा गार्डिवोला भित्र्यायो। च्याम्पियन्स लिग भर्खरै जितेको र घरेलु लिगमा बार्यनको दबदबा रहेका कारण गार्डिवला सामु अनेकन चुनौती थिए।
तीन सिजन उनी बार्यनमा रहे तर च्याम्पियन्स लिग जित्न सकेनन्। हरेक पटक बार्यन सेमिफाइनलसम्म पुगेर रोकियो। प्रत्येक चोटी स्पेनिस टोली नै बाधक रहे, कहिले बार्सिलोना, कहिले रियल म्याड्रिड त कहिले एट्लेटिको म्याड्रिड। बायर्नले तीनै सिजन घरेलु लिग भने जितेको थियो तर यसमा गार्डिवोलाले खुशी मान्नु पर्ने कारण थिएन। बार्यनलाई घरेलु लिग जित्ने बानी जो परेको थियो।
सन् २०१५/१६ सिजन युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनल पुगेर इङ्लिस क्लब म्यानचेस्टर सिटीले प्रतियोगितामा क्लबको ऐतिहासिक सफलता प्राप्त गरेको थियो।
सन् २०११/१२ सिजन इङ्लिस प्रिमियर लिगको उपाधि जितेपछि म्यान सिटीको चर्चा ह्वात्तै बढेको थियो। घरेलु फुटबलमा म्यानचेस्टर युनाइटेडको बर्चस्व तोडिएको मात्र थिएन त्यसपछि म्यान सिटीले सन् २०१३/१४ सिजन पनि यो प्रतियोगिता जितेको थियो।
अब उसले च्याम्पियन्स लिग उपाधिबारे सोच्न थालेको थियो। च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुगेपछि उसका लागि उपाधिसम्मको लक्ष्य टाढा थिएन। तर अब उसले यसका लागि गार्डिवला ल्याउने निर्णय गर्यो। बायर्नका लागि गार्डिवलाले उपाधि जिताउन नसकेपनि च्याम्पियन्स लिगमा उनका खास विशेषता थिए। उनको प्रशिक्षणमा बार्सिलोना र बार्यन हरेकपटक च्याम्पियन्स लिगको कम्तिमा सेमिफाइनलसम्म पुगेको थियो।
म्यान सिटीमा गार्डिवलाको पहिलो सिजन सोचेजस्तो रहेन, च्याम्पियन्स लिगमा प्रिक्वाटरफाइनलबाटै बाहिरियो, त्यो पनि फ्रान्सको मोनाकोसँग पराजित भएर। घरेलु लिग पनि उम्कियो। सन् २०१७/१८ सिजन पनि सुधारियो।
च्याम्पियन्स लिगमा इङ्लिस प्रिमियर लिगकै लिभरपुलसँग पराजित भएर क्वार्टरफाइनलबाट बाहिरियो भने घरेलु लिगको उपाधि चाहीँ जित्यो। तर म्यान सिटीलाई च्याम्पियन्स लिग जित्नु थियो। अर्थात, गार्डिवलामाथि च्याम्पियन्स लिग जिताउनुपर्ने दबाब थियो। गत सिजन पनि म्यान सिटीले घरेलु लिग जित्यो तर च्याम्पियन्स लिगमा क्वार्टरफाइनलमै सीमित भयो। फेरि एकपटक इङ्लिस प्रिमियर लिगकै टोट्टनहामले उसको यात्रा रोक्यो।
यो सिजन घरेलु लिग नजितेपछि म्यान सिटीमाथि थप दबाब बढेको थियो, च्याम्पियन्स लिग जित्नुपर्ने। क्वाटरफाइनलमा उसले फ्रान्सको लिग वान क्लब लियोनलाई हराउनुपर्ने थियो। प्रिक्वाटरफाइनलमा क्रिस्टियानो रोनाल्डो आबद्ध युभेन्ट्सलाई अवे गोलका आधारमा पाखा लगाएको लियोन अस्वभाविकरुपमा अगाडि बढीरहेको थियो। घरेलु लिगमा पनि यो सिजन सातौँ स्थानमा सीमित थियो। अर्थात गार्डिवलालाई पुरानो लयमा फर्कने अवसर थियो।
तर शनिबार राति भएको खेलमा म्यान सिटीले अस्वभाविक हार ब्यहोर्यो। लियोनले ३-१ गोलले हरायो। ९ वर्षयता गार्डिवलाको च्याम्पियन्स लिग उपाधि पर्खाई फेरि पर सरेको छ। वायर्न म्युनिखजस्तै अब म्यान सिटीको उनीमाथिको विश्वास पनि घट्न थाल्ने छ।