
सिमकोट – दक्षिणी क्षेत्रको ताजाँकोट गाउँपालिकाको छप्रेला बजारका बाढी पीडितले पालमुनी बास बस्नु परेको छ। पसलसहितका घरमा बाढी पसेपछि हिलाम्मे घर छोडेर नजिकैको हेलिप्याडमा पाल टाँगेर बस्नु परेको हो।
बाढी पीडित जगत शाहीले दुई दिनदेखि लगातार परेको वर्षाको कारण ताँजाकोट गाउँपालिका वडा नम्बर ३ छप्रेला बजारमा २० मध्य १५ घरधुरीका मानिस आफ्नै पाल टाँगेर हेलिप्याडमा बसेको बताए।
उनले बाँकी तीन जना धनरुप सार्की, जगत शाही र रजनी कार्कीको बाढीले घर बगाएकासहित पाँच घरधुरीका परिवार पालको व्यवस्था गर्न नसकेपछि मैला गाउँका आफन्तले उपलब्ध गराएको कोठामा बस्दै आएको बताए।
छप्रेलामा जताततै बाढी पहिरो गएको कारण पीडितलाई बास बस्ने ठाउँको समस्या भएको गाउँपालिका उपाध्यक्ष मन्जु बुढाले बताइन्।