
सिमकोट- पत्याउनै कठिन- विकासे काममा उपभोक्ताले रकम अनियमितता गर्दैनन् भन्दा ।
हिमाल पारिको गाउँको पहिचान बनाउँदै आएको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को लिमी गाउँमा बिकासे योजना निर्माण गर्दा भ्रष्टाचार हुँदैन ।
धार्मिक तथा सामाजिक मान्यता र बिकासमा अपनत्वले गर्दा यहाँका स्थानीयहरु विकासे काममा रकम कसरी बचाएर खाने भन्दा पनि लागत इष्टिमेट अनुसार काम सम्पन्न भयो कि भएन भन्नेमा मात्रै ध्यान केन्द्रित हुँदा अनियमितता नहुने गरेको हो।
गाउँका लागि जति पनि योजनाहरु आउछन् ती सबैको पहिलो छलफल भएर उपभोक्ता समिति गठन गर्ने काम सकिए पछि कामको जिम्मेवारी गाउँले सबैले लिने गरेको स्थानीय फुर्बा तामाङले बताए।
सरकारी निकायहरुसंग लेखापढी देखि रकम भुक्तानी गर्ने काम समितिको भए पनि अरु गाँउमा काम गर्दा सामुहिक हिसाब हुने गरेको उनले बताए। योजना निर्माणका क्रममा जिल्लामा जाने पदाधिकारीलाई आबश्यक दिनै तोकेर दैनिक सामूहिक निर्णय अनुसार खर्च छुट्याउने र त्यो खर्चको परिधि भित्र उनीहरुले बस्नै पर्ने बाध्यकारी नैतिक बन्धन तय भएको उनले बताए।
ईमान्दार र सोझा जनता भएकै कारण अहिलेसम्म कतै बजेट हिनामिनाको प्रश्न उठ्ने गरेको छैन्, उनले बताए । योजनाको बारेमा सबैलाई थाहा भएको हुन्छ अनियमितताको संभावनै छैन, उनले थपे ।
गत आर्थिक वर्षमा स्थानीय जनताले निर्माण गरेको काठेपुल सम्पन्न भएर भुक्तानी आएकै दिन निर्माण स्थलमै सबै गाउँले जम्मा भएर रकमको हिसाव किताब गरेर बाँडफाँड गरिएको अर्का स्थानीय देटाक तामाङले बताए । हिसावमा एक रुपियाँ पनि तल माथि नभएको र केही रकम बचेपछि पुलकै छेउछाउमा तटबन्ध निर्माण गरिएको उनले बताए।
गत बर्ष गाउँपालिकाबाट पन्द्र लाखमा वडा कार्यालय भवन निर्माणको योजनामा संभब नहुँदा नहुँदै पनि स्थानीय उपभोक्ता समिति मार्फत निर्माण गरेरै छाडेको वडा अध्यक्ष पाल्जोर तामाङले बताए । अझ त्यो पनि गाडी नपुगेको ठाँउमा सिमेन्टको प्लस्टर गरिएको तीन कोठे भवन निर्माण गर्न सफल भएको थियो ।
यो एउटा उदाहरणका लागि हो, यस्तो काम गतबर्ष आधा दर्जन भन्दा बढी योजना यस्तै गरेर सम्पन्न भएको धेरै छन् लिमीमा । स्थानीय निर्वाचनमा पनि सर्बसम्मत चयन भएका अध्यक्ष तामाङले योजनामा काम गर्दा पाँच रुपियाँ बचे पनि त्यसको सदुपयोग हुने र जनताले दिएको जिम्मेवारी सेवा गर्न हो भ्रष्टाचार गर्न होईन यसमा राम्रो हेक्का भएको बताए । व्यक्तिगत काममा त पारदर्सी हुने लिमीका स्थानीय बिकासे बजेटमा हिनामिना हुनै संभावना पनि छैन भए हेरेर बस्ने पनि सकिदैन, उनले बताए ।
बाहिरी कुराले कुनै प्रभाव पार्न नसकेको लिमीमा स्थानीयद्धारा संचालनमा आउने बिकासे योजनाहरुको सतप्रतिशत रकम सदुपयोग हुने नमूना गाउँ मध्य एक लिमी हो । रकम हिनामिना त परैको कुरा हो, काम पनि लागत इष्टिमेट बराबरको हुने गरेकोले त्यहाँका स्थानीयलाई औला ठड्याउने कुनै ठाँउ पनि देखिदैन ।
खासमा उपभोक्ता समितिमा बस्नै कोही मान्दैनन् अनि चिठ्ठा हालेर उपभोक्ता समिति गठन हुने गरेबाटै स्पष्ट बुझ्न सकिन्छ, समुदायी कति इमान्दार छ भन्ने बुझ्न कठिन छैन।
चिठ्ठाबाट छनौट भएको उपभोक्ताले अन्तसम्म काममा दिल दिएर काम गर्र्नै पर्ने बाध्यता समाजले बनाएको हुँदा रकम भन्दा पनि काममा बिस्वास गर्ने लिमीका समुदायले गर्दा बिकासमा उपभोक्ता मोडेल असफल भएको अबस्था लिमीबासीको काम प्रशंसा योग्य रहेको रहेको छ । आगामी दिनमा लिमीको यो मोडेल देश कै लानि.नमूना हुनसक्ने देखिएको छ ।
पालिकाको अन्य वडाको काम ठिकै भए पनि लिमीको काम भन्दा भुक्तानी दिन पनि शंका उपशंका नलाग्ने गाउँपालिकाले जनाएको छ । आर्थिक पारदर्सीता र शुसासनका यस्ता कडीले गर्दा अहिलेको अवस्थामा कुनै सुबधिा नभएको नेपाल कै ठुलो गाउँपालिका नाम्खामा रमाएरै कर्मचारी बस्न पनि रमाउछन्।
लिमी जान दुई वटा चार र पाँच हजार मिटर अग्ला पास भएकोले जो कोही लिमी जाने आट पनि गर्दैनन् तर गएकाहरु त्यहाँको चालचलन, काममा बिस्वास गर्ने स्वभाब, पर्यटकीय स्थलबाट लोभिएर आउने गरेको गरेका छन्।
उपभोक्ता समिति मै बस्न मारामार गर्ने, काम पनि आफै मिलेर गर्ने, आफू-आफूमा आरोप प्रत्योरोप लगाउने उपभोक्ता मोडेलमा लागि रहने अहिलेको यथार्थमा लिमीबासीको यो काम साँच्चै स्वागत योग्य रहेको छ।