
सिमकोट – अविरल वर्षाको कारण हुम्लाको दक्षिणी क्षेत्रका दुईवटा गाउँपालिकाका सयौँ घरमा क्षति पुगेको छ। वर्षाका बेला आएको बाढी तथा घर भत्किएपछि यति धेरै क्षति भएको हो।
बाढीबाट घर भत्किएका स्थानीय जगतबहादुर शाहीले ताँजाकोट गाउँपालिका वडा नम्बर ३ को छप्रेलामा रहेको घर र पसल बाढीले भत्काएपछि पालमुनी बसिरहेको बताए।
शनिबारको वर्षाबाट छप्रेलामा चारवटा घर भत्किएका छन् भने १६ वटा घरलाई क्षति पुगेको छ।
हालसम्म वर्षाबाट क्षति पुगेका घरधुरी मध्य केही परिवार मात्र पाल टाँगेर बस्दै आएका छन्। ताँजाकोट गाउँपालिकामा बर्सेनि रुपमा बाढी पहिरोले क्षति गर्दै आएको छ।
प्रहरी नायव उपरीक्षक सूर्य प्रसाद सुवेदीका अनुसार ताँजाकोट र अदानचुली गरि ३३७ घरलाई पूर्ण आंशिक क्षति पुगेको छ।
ताँजाकोट गाउँपालिकामा ४० घरलाई क्षति पुगेको छ भने छ घरलाई आंशिक र १५९ घर उच्च जोखिममा रहेका छन् ।
त्यसैगरि अदानचुली गाउँपालिकाका पाँच घरमा पूर्ण क्षति पुगेको छ भने २८ घरमा आंशिक क्षति पुगेको छ। ९९ घर उच्च जोखिममा रहेका छन्।
स्थानीय धर्मराज जैशीले बाढीले क्षति पुगेका घरका बासिन्दा आफन्तको घरमा बस्दै आएको बताए।