
सिमकोट– हुम्लामा उत्पादन भएको अर्गानिक बन्दाले बजार नपाएपछि किसान चिन्तित बनेका छन्।
दुई रोपनी जग्गामा बन्दा लगाएका सिमकोट गाउँपालिका वडा नम्बर ५ का भ्याल्नी रावतले उत्पादन भएको बन्दाले बजार नपाएको गुनासो गरिन्।
उत्पादित बन्दा जिल्ला बाहिर पठाउन सकिने अवस्था नभएको, जिल्लामा बिक्री हुन छाडेको र पानी पनि बढी परेको कारण बन्दा कुहिन थालेको हुँदा आफ्नो लगानी पनि नउठ्ने अवस्था रहेको रावतको गुनासाे छ।
त्यसैगरि अर्का किसान मुसी रोकायाले पनि बन्दाले बजार पाउन नसकेकोमा चिन्ता व्यक्त गरिन्। घरघरमा बन्दा उत्पादन हुन थालेपछि यो सिजनमा सानो बजारको कारण बन्दा बिक्री हुन नपाएको उनले बताइन्।
हुम्लामा ‘अफ सिजन’मा स्थानीय बन्दा प्रतिकेजी एक सय २० रुपियाँसम्म मूल्य पाउने भएपनि अहिले बीस रुपियाँमा समेत बिक्री गर्न कठिन भएको किसानको गुनासो छ।