
हाम्रा सहर, खोलानाला, सार्वजनिक चौर, खोँचहरु, सडकका किनारा, जङ्गल, सहरको बाहिरी क्षेत्र, गाउँघर– प्राय: ठाउँहरु फोहर, ‘मिनिरल वाटर’ भनिने प्लास्टिकका बोतल, चाउचाउका खोल, पराग, खैनी, सुर्तीका खोलहरु, बियरका बोतल, क्यान, थोत्रा लुगा कपडा, खानेकुरा लगायतले प्रदूषित बनाएको छ। यो समस्या दिर्घकालीन जस्तो भएको छ। हामीले हामी बस्ने ठाउँ सफा राख्न सकेका छैनौँ। यो सबैलाई थाहा भएको कुरा हो। यो हामीले आफैले सिर्जना गरेको समस्या हो। हामी फोहर गर्न जान्दछौँ भने सफा पनि गर्न जान्दछौँ। र, सक्नु पनि पर्छ। तर किन हामीले गरिराखेका छैनौँ त?
यसका दुई समस्या हुन सक्छन्। पहिलो, कि हामीले हाल अपनाइरहेको फोहरमैला व्यवस्थापन पद्धति वा नियम कानुन ठीक छैन कि हामीले यही पद्धति ठिक भए पनि सही तरिकाले पालना गरेका छैनौँ। यो हाम्रो अक्षमता हो। त्यसैले हामीले आफै सकिँदैन वा जानिँदैन भने अरुको हेरेर सिक्नुपर्छ। राम्रा र उपयोगी छन् भने अरुको अनुसरण गर्न सकिन्छ। हामी मानव समाज यसरी नै एक अर्काको ज्ञान र सिपबाट सिकेर उन्नतितर्फ वा सभ्यतातर्फ लाग्ने हो। राम्रा अनुसरण गर्ने, नराम्रा त्याग्दै जाने मानवको स्वभाव पनि हो। त्यसैले यस लेखमा एक उत्तरपूर्वी युरोपेली देश नर्वेले कसरी आफ्ना सहर र गाउँठाउँ सफा राखेको छ भन्नेबारे बयान गरिएको छ। नर्वेको सफल फोहर व्यवस्थापन हाम्रो देश नेपालका लागि पनि काम लाग्न सक्छ भन्ने उद्देश्यका साथ यो लेखिएको हो।
“प्यान्ट” बाट पैसा
नर्वेको फोहर व्यवस्थापनमा “प्यान्ट”बाट पैसा प्रक्रिया सबैभन्दा सफल र सरल तरिका बनेको छ। यो के हो र कसरी प्रयोग गरिन्छ, बुझौँ।
नेपालमा जस्तै नर्वेमा पनि हरेक खाद्यान्न पसलमा पाइने क्यान तथा प्लास्टिक बोतलमा बियर, पानी, सोडा, कोकाकोला, पेप्सी, शक्तिवर्द्धक पेय पदार्थ, जुसलगायत बिभिन्न प्रकारका पेय पदार्थ राखिएको हुन्छ। यी हरेक क्यान र प्लास्टिकको बोतलमा ‘बारकोड’ सहित ठूलो भए ३ र सानो भए २ “प्यान्ट” (नोक- नर्वेजियन क्रोनर) लेखिएको चिन्ह अङ्कित हुन्छ। प्राय: सबै ग्राहकले खाद्यान्न पसलमा आफूले पिएर खालि गराएका यी क्यान तथा बोतल फिर्ता लाने गर्छन्। यी रित्ता बोतल छिराउने मेसिन सबै खाद्यान्न बिक्री गर्ने पसलमा अनिवार्य राखिएको हुन्छ। यो मेसिनमा एकएक गरी यी खालि बोतल राख्दा बोतलको सङ्ख्या अनुसार पैसा पाइन्छ। यो बोतलको पैसा नगदमा लिने वा रेडक्रस नामक परोपकारी संस्थालाई दिने भन्ने मेसिनको ‘स्क्रिनमा’ ग्राहकले छनोट गर्न पाउँछन्। आफ्नो इच्छाअनुसार पैसा लिने वा रेडक्रसलाई दिने दुवैमध्ये एक गर्न सकिन्छ। तथ्याङ्कका अनुसार नर्वेमा बेचिने ९७ प्रतिशत क्यान र प्लास्टिकका बोतल यसरी खाद्यान्न पसलबाट पुन: सङ्कलन गरिन्छ।
पैसा पनि पाइने र फोहर पनि कम उत्पादन हुने हुँदा नर्वेलीहरु खालि बोतल फिर्ता लान लाज र झ्याउ मान्दैनन्। खालि बोतल भविष्यमा पुन: प्रयोगको लागि पुन: प्रयोग गर्ने कारखानामा लगिन्छ। तथ्याङ्कका अनुसार एउदा बोतल ५० औं पटक भन्दा बढी ‘रिसाइकल’ गरिसकिएको छ। यो नियम सहर होस् या गाउँ- सबैतिर लागू हुँदै आएको छ। नर्वे सरकारले सबै प्लास्टिक बोतलहरुमा ‘वातावरण कर’ लगाएको छ। यसको अर्थ हो जति प्लास्टिक बोतल फिर्ता गर्न सक्यो, त्यति नै नागरिकले कम कर तिर्नु पर्ने हुन्छ।
नर्वेली अनुसन्धान अनुसार एक प्रतिशत मात्र यस्ता बोतल ‘रिसाइकल’ गर्न नसकिएको तथ्याङ्कले देखाँउछ। हाल नेपालमा सडक होस वा खोला किनार, सहर होस वा गाउँ, जताततै ‘मिनिरल वाटर’ भनिने पानीका बोतल, कोकाकोला, पेप्सी, बियर र अन्य यस्तै बिभिन्न पेय पदार्थको बोतलको प्रदूषण-आतङक नै छ। यसको नियन्त्रण गर्न पेय पदार्थ उत्पादन गर्ने कम्पनीले नर्वेमा लागू भएको यस्तै तरिका अवलम्वन नेपालमा पनि गर्न सकिन्छ। यसका लागि सरकारले नियमकानुन बनाएर लागू गर्न पनि असम्भव भने छैन। माथि उल्लेखित तरिका प्लास्टिक र क्यानका बोतलको प्रदूषण-महामारीबाट मुक्त हुन सहायक हुन सक्छ।
पैसा पनि पाइने र फोहर पनि कम उत्पादन हुने हुँदा नर्वेलीहरु खालि बोतल फिर्ता लान लाज र झ्याउ मान्दैनन्। खालि बोतल भविष्यमा पुन: प्रयोगको लागि पुन: प्रयोग गर्ने कारखानामा लगिन्छ। तथ्याङ्कका अनुसार एउदा बोतल ५० औं पटक भन्दा बढि ‘रिसाइकल’ गरिसकिएको छ।
‘फ्रिटेक्स ट्यांक”
‘फ्रिटेक्स ट्यांक’ मुख्यतया पुराना लुगा राख्ने भाँडो हो। यस्को मुख्य उद्देश्य लुगा कपडाको पुनप्रयोग (‘रियुज’ र ‘रिसाइकल’) मार्फत वातावरण स्वच्छ राख्नु र रोजगारी सिर्जना गर्नु हो। यस ‘फ्रिटेक्स’ले नर्वे भरिका सबै सहरको चोकचोकमा आफ्ना ठूला ‘फ्रिटेक्स ट्यांक’ वा बाकस राखेको छ। उक्त ट्याङ्कमा लुगा कपडा मात्र हाल्ने गरिन्छ। त्यस्ता ‘फ्रिटेक्स ट्यांक’ लुगा कपडा हाल्न मिल्ने तर झिक्न नमिल्ने बनाइएको छ। मानिसहरु आफूलाई नचाहिने (नयाँ, मन नपरेका, पुराना, धेरै भएका, थोत्रा) लुगा नजिकैको ‘फ्रिटेक्स ट्यांक’मा हाल्छन्। तर लुगा राख्दा सफा गरेर ‘फ्रिटेक्स ट्यांक’मा राख्नु पर्दछ। ‘फ्रिटेक्स’ले आफ्नो अनुकूलता अनुसार यसरी सङ्कलन गरिएका लुगाकपडा लिएर जान्छ।
यसको दुई प्रयोजन छ। प्रयोगमा आउने लुगा ‘फ्रिटेक्स’ले आफ्नो ‘सेकेन्ड ह्याण्ड’ पसल मार्फत नर्वेका विभिन्न सहरमा बेचबिखन गर्छ भने केही लुगा एसिया र अफ्रिकातर्फ सहयोग स्वरुप पनि पठाउँछ। लगाउन नमिल्ने लुगा कपडा उसले पुन नयाँ बनाएर फेरि बजारमा पठाउँछ। ‘फ्रिटेक्स’ले यसरी हरेक वर्ष १५ हजार टन लुगा कपडा सङकलन गर्ने गरेको छ। यो कार्य नर्वेमा दसकौँदेखि चल्दै आएको छ। यो अत्यन्तै प्रभावकारी र वातावरणमैत्री सिद्ध भएको छ। हाम्रो देशमा पनि यस्तै लुगाको पुन: प्रयोगको तरिका अबलम्बन गर्न सके गरिबले लुगा लगाउन सस्तो पनि पाउने र लुगाको कारण हुने फोहर उत्पादनमा कमी र व्यवस्थापनमा सहयोग पुग्न सक्छ।
हरियो, निलो र सेतो झोला
नर्वेमा हरेक घरको भान्छा, कार्यालय, रेष्टुरेन्ट, सार्वजनिक पार्क आदि ठाउँमा जताततै प्राय: गरी तीन किसिमका फोहर फाल्ने भाँडाहरु राखिएका हुन्छन्। निलो जहाँ प्लास्टिकजन्य फोहर राखिएको हुन्छ, प्लास्टिकजन्य फोहर ‘रिसाइकल’ गर्न मिल्ने हुन्छ। हरियो प्लास्टिकमा खानाजन्य फोहर राखिएको हुन्छ। सेतो प्लास्टिक भने यी बाहेकका सबै फोहर राख्ने प्रचलन छ। यसका अलवा कागज तथा ‘कार्टुन’ सिसा, विद्युतीय फोहर विषादिजन्य फोहर पनि अवस्था हेरेर भिन्दाभिन्दै राखिने गरिन्छ। सबै ठूला घर तथा भवनमा फोहर फाल्ने ठूला ‘गार्बेज बिन’हरु राखिएका हुन्छन। यी ‘गार्बेज बिन’को फोहर स्थानीय नगरपालिकाले नियमित उठाउने र व्यवस्थापन केन्द्रसम्म लाने गर्दछ। यसरी सङ्कलन गरिएको फोहर मेसिनको सहायताले हरियो, निलो र सेतो गरी भिन्दाभिन्दै छुट्याउने गरिन्छ। अन्त्यमा खाना र कुहिने फोहरबाट ग्यास निकाल्ने, प्लास्टिकलाई ‘रिसाइकल’ गर्ने र अन्य फोहोरलाई ‘इन्सिनेरेटर’ (जलाउने) विधिद्वारा व्यवस्थापन गरिन्छ।
बिजुली कार
हाल नर्वेले महत्वाकांक्षी योजना प्रयोगमा ल्याएको छ। सन् २०२५ सम्ममा बेचिने सबै कार र हल्का सवारी साधन ‘जिरो कार्वन ईमिसन’ (कार्बन उत्सर्जन नगर्ने) हुनुपर्ने प्रावधान लागू भइरहेको छ।विद्युतीय कारको करमा गरिएको कटौती र यसका लागि उपलब्ध गराइएको सहुलियतको कारण यो योजना अपेक्षाअनुसार नै सफल हुँदै गएको छ। यस नियमलाई बढावा दिन सार्वजनिक पार्किङ, सडक कर, पानीजहाजमा विद्युतीय कारको ओसारप्रसारलाई आधा छुटको पनि योजना लागू गरेको छ। बस हिँड्ने लेनमा पनि विद्युतीय कार चलाउन पाउने, आयात कर नलाग्ने, टोल कर नलाग्ने लगायतका बिभिन्न सहुलियत सरकारले प्रदान गर्दै आएको छ। हिजोआज सर्वसुलभ रुपमा विद्युतीय चार्ज गर्ने स्थानको निर्माण र द्रुत गतिका ‘चार्जिङ’ स्टेसनको सङ्ख्या पनि बढाउँदै लगेको छ। हालसम्म १४ हजारभन्दा बढी ‘चार्ज’ गर्ने स्थान सर्वसाधारणको लागि उपलब्ध छन्।
यस्तै सहरभित्र चल्ने सार्वजनिक नगर बसहरु पनि २०२५ सम्ममा बिजुली वा जैविक ग्यासमार्फत मात्र चल्ने हुनुपर्ने योजना लागू भइरहेको छ। हरेक महिना डिजेलबाट चल्ने सवारी साधन कम हुँदैछन्। यसैगरी लामो दुरीका बस तथा ढुवानी गर्ने ट्रक तथा लरीहरु सन् २०३० सम्ममा स्वच्छ ऊर्जाबाट चल्ने छ्न्। आजभोलि सहरमा बढ्दो विद्युतीय चार्ज गर्ने स्थानको सङ्ख्या बढ्दै गएका छन भने सहरमा चल्ने विद्युतीय बसहरु दिनप्रतिदिन थपिँदै छन्। सहरमा चल्ने ट्राम र भूमिगल रेल (मेट्रो) सुरुबाट नै विद्युतबाट चल्ने बनेका हुन्। त्यसै गरी लामो दुरीका सबै रेल सेवा पहिलेबाट विद्युतीय थिए।
twitter: @1Ajammari