
कास्की – पोखरा महानगरपालिका–११ निवासी कोरोना सङ्क्रमित ३२ वर्षीया महिलाको उपचारको क्रममा बिहीबार मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत महिलाको बिहान ८ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले विज्ञप्ती जारी गरी जानकारी दिए ।
भदौ ७ गते कोरोना संक्रमण पुष्टि भइ ती महिला अस्पतालमा भर्ना भएकोमा बुधबार राति अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । सो अस्पतालमा उपचारको क्रममा हालसम्म पाँचजना सङ्क्रमितको मृत्यु भएको छ ।
गण्डकी प्रदेशमा हालसम्म मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । कास्कीमा तीन, स्याङ्जामा दुई तथा गोरखा, तनहुँ, बाग्लुङ तथा म्याग्दीमा एक–एक जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।