
वीरेन्द्रनगर – कोरोना महामारी नियन्त्रण गर्न भन्दै सरकारद्धारा घोषित लकडाउनका बेला प्रायः सबै किसिमका कामकारबाही र गतिविधि ठप्प भए। त्योक्रमले अझै पनि अधिकांश जिल्लामा निरन्तरता पाएको छ।
तर लकडाउनका बेला पनि नियमित सेवा दिएको न्यायिक क्षेत्र अहिले संकटमा परेको छ। लकडाउनका बेला सुरक्षितरुपमा आफ्नो कामकारबाही गर्न सफल भएको जिल्ला अदालत सुर्खेतमा बुधबार भने अचानक खैलाबैला मच्चियो। लामो यात्रा तय गरेर आएका सेवाग्राहीहरु गेट बाहिरै रोकिए।
कोरोना संक्रमणको जोखिम बढेपछि हतारहतार ‘यस अदालतका एक कर्मचारीलाई कोरोनाभाइरस संक्रमण देखा परेपछि जोखिम निम्तिएको र सेवाग्राहीको जीवन सुरक्षालाई समेत ध्यान दिँदै अनिश्चितकालका लागि सेवा बन्द गरिएको जानकारी दिइन्छ’ भन्दै गेटमा एउटा सूचना टाँसियो।
अदालतभित्र प्रवेश गर्दा त्यहाँको माहोल निकै निराशाजनक थियो। त्रासको ग्राफ उक्लिरहेको थियो। अदालतका प्रायः सबै कर्मचारी चिन्तित देखिन्थे। ‘हाम्रो कर्मचारीलाई कसरी कोरोना संक्रमण देखियो?’ यो प्रश्न उनीहरुले एकअर्कालाई तेर्साइरहेका थिए। तर त्यसको जवाफ भने उनीहरुले भेट्न सकेका थिएनन्। ‘अब कसरी कामगर्ने?’ उनीहरुको चिन्ता मिश्रित अर्को प्रश्न पनि थियो। तर त्यसको पनि जवाफ थिएन उनीहरुसँग।
अदालतका रजिष्ट्रार याम बास्कोटाका अनुसार कोरोना संक्रमण देखिएका उक्त अदालतका तीकर्मचारी ९९ प्रतिशत कोठाभित्रै बसेर काम गर्ने गर्थे । संक्रमित कर्मचारी अदालत नजिकै रहेको क्वाटरमा बस्दै आएका थिए। बास्कोटाले भने, ‘हामीले यति धेरै सुरक्षात्मक उपाय अपनाउँदा अपनाउँदै पनि हाम्रो कर्मचारीलाई कसरी देखियो कोरोना? त्यो पत्ता लगाउन मुस्किल परेको छ।’
कोरोना महामारी सुरु भएदेखिनै अदालतले विशेष सावधानी अपनाएको पाइन्छ। हिरासतमा राखिएका व्यक्ति आफै उपस्थित भएपछि मात्रै म्याद थप्ने गरिन्थ्यो । तर, पछिल्लो समय अनलाइनबाटै म्यादथप्ने काम भइरहेको थियो। अनिवार्यरुपमा पीसीआर परीक्षण गरेपछि मात्रै थुनुवालाई अदालतमा उपस्थित गराउनु पर्ने निर्णय अदालतनै गरेको हो।
त्यसपछि प्रहरी प्रशासनले हिरासतमा राख्नुपूर्व सबै थुनुवाहरुको अनिवार्य पीसीआर परीक्षण गर्दै आएको थियो। प्रतिबादीलाई बयानका लागि अदालतमा उपस्थित गराउँदा सिमित प्रहरी र आफन्तलाई मात्रै अदालत प्रवेशको अनुमति मिल्थ्यो। कोरोना संक्रमण देखिएका कर्मचारीको
‘ट्राभल हिस्ट्री’ नहुनुलाई अदालत प्रशासनलाई थप चिन्तित बनाएको छ । हालैका दिनमा उनी कुनै आफन्त कहाँ गएर समेत बसेका छैनन् । नियमित अदालत आएर आफ्नो ‘डियुटी’ गरिरहेका ती कर्मचारीले यही भदौ ११ गते आफ्नो टाउको दुखेको, जिउ दुखेको र हल्का रुघा लागेको नजिकका सहकर्मीलाई सुनाएका थिए।
तर बदलिदो मौसमले पनि त्यस्तो समस्या देखिएको होला भन्ने अनुमान गर्दै उनी काममा आइरहेका थिए। तर सहकर्मीको सल्लाहमा उनी यही भदौ १४ गते पीसीआर परीक्षण गर्न जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेत पुगेका थिए। परीक्षणका लागि स्वाब दिएपछि पनि उनी नियमित ‘डियुटी’मा आइरहेका बेला बुधबार उनको रिपोर्ट ‘पोजेटिभ’ आयो। त्योसँगै अदालतमा खैलाबैला मच्चिएको हो।
मन्त्रालयमा सुरक्षा दिँदै आएका ६ जना सुरक्षाकर्मी, कानुन मन्त्रीका सवारी चालक, एकजना कार्यालय सहयोगीलाई बुधबारनै कोरोना संक्रमण पुष्टि भएको छ। सँगै रहेको प्रदेश प्रहरी कार्यालयमा कार्यरत संक्रमति प्रहरी कर्मचारीको सम्पर्कमा आएकाको परीक्षण गर्दा कानुन मन्त्रालयमा कार्यरत सुरक्षाकर्मी र कर्मचारीलाई कोरोना संक्रमण देखिएको थियो।
प्रदेश अस्पताल सुर्खेतसँग समन्वय गरेर अदालतले उनलाई आइसोलेसनका लागि अस्पताल पठायो। उनलाई पठाएलगत्तै अदालतका प्रायः सबै कर्मचारीले पीसीआर परीक्षण गराउन माग गरे । त्यसपछि अदालतले जिल्ला जनस्वास्थ्य कार्यालयलाई लिखित आग्रह पनि गर्यो। तर अदालतका कर्मचारीको पीसीआर परीक्षणका लागि जनस्वास्थ्य कार्यालयबाट कुनै पनि प्रतिक्रिया नआएको रजिष्ट्रार बास्कोटाले बताए।
जसले गर्दा अदालतका कर्मचारीमा ‘अब कसरी घर गएर बस्ने ?’ भन्ने चिन्ता थपिएको छ । उता जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चेतननिधि वाग्लेले अदालतको लिखित अनुरोध आफ्नो टेबलमा आइनपुगेको बताए। यस्तै उनले भने, ‘राष्ट्रिय गाइडलाइन अनुसार सबैभन्दा पहिले हामीले संक्रमितलाई आइसोलेसनमा व्यवस्थापन गर्ने हो।
त्यसपछि उनीहरुको सम्पर्कमा आएका मानिसको खोजी गरेर पीसीआर परीक्षण गर्ने हो।’ वाग्लेका अनुसार आज (बुधबार) देखिएको कोरोनाको ‘केस’ मा कम्तिमा ५ देखि ७ दिनपछि मात्रै उनको सम्पर्कमा आएकाहरुको पीसीआर परीक्षण गर्न उपयुक्त हुनेछ।
जिल्ला अदालत सुर्खेतका कर्मचारीलाई कोरोना संक्रमण देखिलगत्तै त्यसको त्रास उच्चअदालतसम्म फैलिएको छ। उच्चअदालत पुग्दा सबैतिर कोरोना संक्रमण फैलिन थालेको भन्दै त्यहाँका कर्मचारी चिन्तित देखिन्थे। उच्चअदालतका रजिष्ट्रार माधवप्रसाद पौडेलले कोरोना संक्रमणको फैलावटका कारण आफूहरुले उच्च सतर्कता अपनाएको बताए।
उनले भने, ‘अहिलेसम्म हामी सुरक्षित छौँ। परिस्थिति हेरेर कामकारवाहीबारे निर्णय लिने छौँ।’ उच्चअदालतसँगै जोडिएको कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पनि कोरोनाका कारण खैलाबैला मच्चिएको छ।
मन्त्रालयमा सुरक्षा दिँदै आएका ६ जना सुरक्षाकर्मी, कानुन मन्त्रीका सवारी चालक, एकजना कार्यालय सहयोगीलाई बुधबारनै कोरोना संक्रमण पुष्टि भएको छ। सँगै रहेको प्रदेश प्रहरी कार्यालयमा कार्यरत संक्रमति प्रहरी कर्मचारीको सम्पर्कमा आएकाको परीक्षण गर्दा कानुन मन्त्रालयमा कार्यरत सुरक्षाकर्मी र कर्मचारीलाई कोरोना संक्रमण देखिएको थियो।
यस्तै कोरोना संक्रमणको उपचारका लागि खटिएका प्रदेश अस्पताल सुर्खेतका एक चिकित्सक र उनका एक जना परिवारका सदस्यलाई पनि कोरोना संक्रमण देखिएको छ। बुधबारनै जिल्लाप्रहरी कार्यालयमा एक जना थुनुवा र ९ जना प्रहरी कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
वाग्लेले उनीहरु सबैमा क्वारेन्टिनमा नबसेको र उनीहरुको ‘ट्राभल हिस्ट्र’ पनि नभएको बताए। यसअघि प्रदेश कार्यालयमा कार्यरत एक जनामा कोरोना संक्रमण देखिएको थियो। वाग्लेले बुधबार संक्रमण पुष्टि भएका सबैलाई उपचारका लागि व्यवस्थापन गरेको र उनीहरुको सम्पर्कमा आएकाहरुको पीसीआर परीक्षण कार्य अघि बढाउने बताए।
उनले भने, ‘जहाँ भिड बढी भइरहेको छ त्यहाँ कोरोना संक्रमण फैलिरहेको छ। ट्राभल हिस्ट्री नभएका स्थानीय मानिसमा पनि कोरोना संक्रमण देखिनु चिन्ताजनक विषय बनेको छ।’ बुधबारनै सुर्खेत वीरेन्द्रनगरस्थित घण्टाघरदेखि पूर्वपटट्टी खुल्लामञ्चमा सञ्चालित प्रदेशस्तरीय क्वारेन्टिनमा भारतबाट आएर बसेका १० जना पनि कोरोना संक्रमण देखिएको छ।