
बागलुङ – बागलुङको ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ का तटीय बस्तीमा बाढी पस्दा मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ । सुकुर्दुङस्थित भूजी खोलाको बाढीमा ३० जना भन्दा बढी बेपत्ता भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बाढीले गाउँका घर बगाएर क्षति बनाएको छ।
मृत फेला परेका ९ जनामध्ये ढोरपाटन–९ की २६ वर्षकी केशमाया बिकको मात्रै पहिचान भएको छ। अरु पाँच महिला र तीन पुरुषको पहिचान नभएको डिएसपी राजेन्द्र रेग्मीले जानकारी दिएका छन्। बेपत्ता हुनेको संख्या थपिने क्रम जारी रहेकाले ठूलो मानवीय क्षति भएको हुन सक्ने उनले बताए ।
जिल्ला प्रहरी कार्यालय बागलुङकासूचना अधिकारी रेग्मीले भनेका छन्, ‘बाढी पीडित परिवारका सदस्यले दिएको जानकारीअनुसार बेपत्ताको सङ्ख्या बढ्न सक्ने अनुमान छ ।’
अरिवरल वर्षासँगै बुधबार मध्ये रातिमा आएको बाढीले बस्तीका घर बगाएको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।
(घटनास्थलका तस्बिरहरु इबागलुङ्गबाट साभार गरेका हौँ)