
तपाईँहरुसँग एउटा प्रश्न सोध्ने हो भने जबाब के दिनुहुन्छ? प्रश्न – तपाईँ बसेको पृथ्वीको वजन बढिरहेको छ कि कम हुँदै गइरहेको छ ? प्रश्न स्वाभाविक यस हिसाबले पनि हो, तपाईँ जन्मेर-हुर्केर जति वजन राख्नु हुन्छ, तपाईँ जन्मिनुपूर्व पृथ्वीमा यो वजन त थिएन!
यो ‘टिप्स’ले धेरै जनाको जबाब पृथ्वीको वजन बढिरहेको हुनसक्छ। विज्ञानमा रूचि राख्ने केही पाठकको जबाब वजन कम हुँदै गइरहेको हुन सक्छ। स्वाभविक छ धेरैजना मित्रहरुको जबाब थाहा छैन पनि हुन्छ होला।
पृथ्वी जहाँ वर्तमानमा तपाई हामी जस्ता ७ दशमलब ८ अर्ब मानिस बस्छन्। एउटा मानिसको सरदर वजन ५० किलोग्राम मान्ने हो भने हामी सबैको संयुक्त तौल ७ दशमलब ८ अर्ब * ५० किलो = ३ खरब ९० अर्ब किलोग्राम हुन आउँछ। पृथ्वीमा मानिस उत्पत्ति हुनुभन्दा पहिला यो भार त निश्चय पनि थिएन। सर्सती हेर्दा जो कोहीलाई पनि पृथ्वीको वजन बढी रहेको लाग्नु स्वाभविकै हो।
तर, तपाईँ हामीले लिने निर्णयझैँ विज्ञानले कुनै एउटै तथ्यको आधारमा निर्णय लिने हतारो गर्दैन । विज्ञानले कुनै पनि निर्णय लिनु पूर्व विषयसँग सम्बधित सबै तथ्यहरुको छानबिन गर्छ । के तपाईँलाई यस विषयमा वैज्ञानिक दृष्टिकोणले अध्ययन गर्न मन लाग्यो ? ल ठीक छ आज यसैबारेको जाँच पड़ताल गरौँ।
विषयमा प्रवेश गर्नुपूर्व विषयसँग सम्बधित जानकारी जुटाऊँ। ४ दशमलब ५४ अर्ब वर्ष पहिला अस्तित्वमा आएको पृथ्वीरूपी गोलाको ‘एभरेज डायमिटर’ १२,७४२ किमी छ। यस गोलाको सतहको कुल क्षेत्रफल ५१ करोड़ ७२ हज़ार वर्ग किमी छ। सतहको दुइ तिहाईभन्दा बढी भागमा ( ७० दशमलब ८ प्रतिशत ) महासागर रहेका छन्।
यस गोलाको सतहमा भूमिको क्षेत्रफल जम्मा २९ दशमलब २ प्रतिशतले १४ करोड़ ८९ लाख ४ हज़ार वर्ग किमी रहेको छ।
पृथ्वीरूपी गोलाको आयतन ( Volume ) १ दशमलब ०८३२१ *१० को घात १२ घन किमी छ । र, यसको सतहको घनत्व (Density ) ५ दशमलब ५१४ ग्राम प्रति घन सेंटीमीटर रहेको छ । ओह, सम्पूर्ण ब्रह्माण्डमै पृथ्वी सबैभन्दा बढी घनत्व रहेको स्थान पो रहेछ। सूर्य जोसँग समस्त सौर्यमण्डलको ९९ दशमलब ८ प्रतिशत पदार्थ छ, त्यसको पनि औसत घनत्व पृथ्वीभन्दा कम छ। सम्पूर्ण ब्रह्माण्डको त कुरै के गर्नु! सम्पूर्ण ब्रह्माण्ड त झन्डै झन्डै पदार्थले रिक्त पो छ!! सूर्यको औसत घनत्व १ दशमलब ४०८ ग्राम प्रति घन सेन्टिमिटर मात्रै छ। जुन पृथ्वीभन्दा निकै कम छ। अनि हाम्रो कल्पनाभन्दा पनि ठूलो ब्रह्माण्डको घनत्व त झन्डै झन्डै शून्य छ। नपत्याए हिसाब गरिहेर्नुस्- ब्रह्माण्डको घनत्व ९ दशमलब ९ * १० को घात ऋण २७ किलोग्राम प्रति घनमिटर छ। कहाँ पृथ्वीको घनत्वको गणना हामी ग्राम प्रति घन सेंटिमिटरमा गर्छौ, हेर्नुस त ब्रह्माण्डको घनत्वको गणना किलोग्राम प्रति घनमिटरमा गर्दा १ किलोग्राम/१,०००,०००,०००,०००,०००,०००,००० ,०००,००० मात्रै आउँछ। यो भनेको प्रति घन मिटरमा जम्मा ६ वटा प्रोटोन हुनु हो। प्रोटोन जसको द्रव्यमान झण्डै झन्डै शून्य हुन्छ। एउटा प्रोटोनको द्रव्यमान १ दशमलब ६७ × १० को घात ऋण २४ ग्राम मात्रै हुन्छ। सन् २०१३ को नासाको रिसर्च अनुसार ब्रह्माण्डको ‘डेन्सिटी’ ९.९*१०माइनस २७ किलोग्राम प्रति घन मिटरमध्ये ९५ प्रतिशत ‘डेन्सिटी’ प्रोटोनको नभई इनर्जीको हो। यस नयाँ रिसर्चका अनुसार ब्रह्माण्डमा प्रति ४ घनमिटरमा एउटा प्रोटोन मात्रै रहेको छ।
पृथ्वीको निर्माण हुँदा ताका यसको वजन कति थियो जान्ने कुनै उपाय छैन। तर विगत दुइ हज़ार वर्षदेखि हामीलाइ थाहा छ पृथ्वीको द्रव्यमान (Mass ) ५ दशमलब ९७२३७ *१० को घात २४ किलोग्राम छ (यो संज्ञान क्रमगत रूपले अनेको पटक गल्ती र प्रयास गर्दै थाहा भएको हो)। यो भनेको ५९,७२,३७०, ०००,०००,०००,०००,०००,००० किलोग्राम हुन्छ ।
विगत दुई हज़ार वर्षकै हिसाब गरौँ- पृथ्वीको भार विगत दुई हज़ार वर्षमा बढेको छ कि घटेको छ? के लाग्छ तपाईँलाई पृथ्वीमा भार बढ़्ने कारण के के हुन सक्छन्?
होइन, होइन विकासक्रममा बनेका अनेकौँ भवन- मोटर-गाडी अथवा अन्य कुनै संरचनाले पृथ्वीको भार बढेको होइन। कारण जुनसुकै संरचना बनाउन पृथ्वीमै रहेका सामग्री प्रयुक्त भएका हुन्। हामीले पृथ्वीको कुनै एक ठाउँमा रहेको माटो, ढुङ्गा, बालुवा, फलाम वा अन्य कुनै सामग्री अर्को कुनै ठाउँमा थुपारेका मात्रै हौँ। यस स्थान परिवर्तनले पृथ्वीको भारमा कुनै प्रभाव पर्दैन। अब चाहे पृथ्वीको गर्भबाट दिनहुँ लाखौँ टन कोइला, फलाम, सुन, हीरा, पेट्रोलियम पदार्थ अथवा अन्य खनिज पदार्थ निकालेर हामी आफ्नो गोदाम वा घरमा राखौँ, त्यसको भार त पृथ्वीमै हुन्छ। यहाँ भार बढ्नुको सट्टा घटिरहेको देखिन्छ। किनकी हामीले दिनहुँ लाखौँ टन कोइला र पेट्रोलियम पदार्थ बालेर तिनलाई नष्ट (ऊर्जामा रूपान्तरि ) गरिरहेका छौँ। पृथ्वीमा भार बढ़ने कारण मानवीय प्रयासको सट्टा प्राकृतिक कारणले भइरहेको छ। त्यसको प्रमुख कारण अन्तरिक्षबाट पृथ्वीमा इईपुग्ने धूलिकण हुन्। वैज्ञानिकहरुले गरेको अनुसन्धान अनुसार पृथ्वीमा प्रत्येक दिन झन्डै १०९ दशमलब ५ टन धूलिकण अन्तरिक्षबाट आईपुग्छ। यो मात्रा भनेको प्रतिवर्ष झन्डै ४० हज़ार टन हुन आउँछ।
यसैगरी पृथ्वीमा बढ़ी रहेको तापमान, पृथ्वीको ‘कोर’मा भइरहेको ‘न्यूक्लियर’ प्रक्रिया, हामीले बाल्ने ईंधन, कोइला, पेट्रोलियम पदार्थ र अन्य यस्तै प्रक्रियाले पृथ्वीको आयतनमा निरन्तर ऊर्जा वृद्धि भइरहेको छ। वैज्ञानिकहरुको अनुमान अनुसार पृथ्वीको आयतनमा यसरी भइरहेको ऊर्जा वृद्धिले प्रतिवर्ष ५००- १००० टन भार वृद्धि गराइरहेको छ। समग्रमा पृथ्वीको कुल द्रव्यमानमा प्रतिवर्ष झन्डै ४१ हज़ार टन बढ़ोत्तरी भइरहेको छ।
पृथ्वीको द्रव्यमान घट्नुमा एउटा अन्य प्राकृतिक कारण पनि प्रमुख रहेको छ। तपाई हामी सबैलाइ थाहा छ हाइड्रोजन र हिलियमजस्ता ग्यास अत्यन्त हलुको हुन्छन् । भौतिकशास्त्रीहरुका अनुसार ३ किलोग्राम हाइड्रोजन ग्यास प्रति सेकेण्ड पृथ्वीको वातावरणबाट बाहिर गइरहेको छ । यस हिसाबले प्रतिवर्ष ९५ हज़ार टन हाइड्रोजन ग्यास पृथ्वीको वातावरण छाडेर गइरहेको छ ।
वास्तवमा हामी मनुष्यको जनसंख्या वृद्धि अथवा हामीले गर्ने जुनसुकै निर्माण वा विकासका अन्य कुनै संरचनाले पृथ्वीको द्रव्यमान बढ्दैन । कारण हामीले पृथ्वीकै सामग्री उपयोग गरिरहेका हुन्छौँ। हिसाब गरिहेर्नुस्। एउटा ७० वर्ष उमेरको मानिसको वजन मानिलिउँ ७० किलोग्राम नै छ। उसमा यो ७० किलोग्राम वजन कहाँबाट आयो? पृथ्वीकै सामग्री उपभोग गरेर ऊ ७० किलोग्राम भएको हो।
मनुष्यको जनसँख्या २० अर्ब भए पनि पृथ्वीको द्रव्यमानमा कुनै तात्विक भिन्नता आउँदैन।
पृथ्वीको द्रव्यमान बढ्नुमा प्राकृतिक कारण नै जिम्मेवार छन्। माथि उल्लेख भएअनुसार पृथ्वीको द्रव्यमानमा प्रतिवर्ष झन्डै ४१ हज़ार टन वृद्धि भइरहेको छ।
अब यस जाँच पड़तालको अर्को पाटोको विश्लेषण गरौँ। जस्तो कि पृथ्वीको द्रव्यमान बढ़ने कारणमा भनियो – हामीले प्रयुक्त गर्ने ईंधन, पेट्रोलियम पदार्थको दहन र पृथ्वीको ‘कोर’ मा भइरहेको न्यूक्लियर प्रक्रियाले पृथ्वीको आयतनमा ऊर्जा वृद्धि भएर द्रव्यमान बढ़िरहेको छ। तर यसको मूलको विश्लेषण गरी हेरौँ- वर्षमा ५००- १००० टन द्रव्यमान ऊर्जाका रूपमा वृद्धि हुनलाइ कति टन पदार्थको स्वरुप परिवर्तन भइरहेको होला? यसको विस्तृत लेखा जोखा गर्नु सम्भव छैन। अनुमान गर्नुस्- विश्वमा विद्युत उत्पादन गर्न मात्रै प्रतिवर्ष ८ अर्ब टन कोइला दहन गरिन्छ, त्यसै गरी यसै कार्यका लागी प्रतिवर्ष ४ अर्ब टन डिजल – पेट्रोल – ग्यास जस्ता ‘फसिल फ्यूल’ दहन गरिन्छ। र, अन्य प्रयोजनका लागि यी पदार्थको कति प्रयोग हुन्छ होला, आफै अनुमान गर्नुस्।
पृथ्वीको द्रव्यमान घट्नुमा एउटा अन्य प्राकृतिक कारण पनि प्रमुख रहेको छ। तपाई हामी सबैलाइ थाहा छ हाइड्रोजन र हिलियमजस्ता ग्यास अत्यन्त हलुको हुन्छन् । भौतिकशास्त्रीहरुका अनुसार ३ किलोग्राम हाइड्रोजन ग्यास प्रति सेकेण्ड पृथ्वीको वातावरणबाट बाहिर गइरहेको छ । यस हिसाबले प्रतिवर्ष ९५ हज़ार टन हाइड्रोजन ग्यास पृथ्वीको वातावरण छाडेर गइरहेको छ । पृथ्वीको वातावरणमा हिलियम ग्यासको उपस्थिति अत्यंत न्यून छ, यसबाट पनि प्रत्येक वर्ष १,६०० टन हीलियम ग्यास पृथ्वीको वातावरणबाट बाहिर गईरहेको छ।
विश्वमा प्रयोग गरिने कोइला र पेट्रोलियम पदार्थको हिसाबको असली गणित हामीलाइ अझैसम्म थाहा छैन। यसको दहनबाट कति द्रव्यमान कार्बनका विभिन्न घटकका रूपमा पुनः पृथ्वीको द्रव्यमानमा मिस्सिन आईपुग्छ! र , समग्रमा कति द्रव्यमान नष्ट हुन्छ, यसको लेखाजोखा गर्ने चरणमा अहिलेसम्म पृथ्वीको विज्ञान पुग्न सकेको छैन। यस सम्बन्धी कुनै अध्ययन वा डाटा नभए पनि यस जांच पड़तालबाट तपाईलाइ स्पष्ट भयो होला पृथ्वीको द्रव्यमानमा जति बढ़ोत्तरी भइरहेको छ त्यसको तुलनामा द्रव्यमान कम हुने प्रतिशत निकै बढ़ी छ। हामी भन्न सक्छौ पृथ्वीले दिनदिनै आफ्नो द्रव्यमान गुमाउदै गइरहेको छ कम्तीमा पनि प्रति वर्ष पृथ्वीको द्रव्यमानमा ५० हज़ार टनक कमी हुँदै गईरहेको छ। तर पृथ्वीको कुल द्रव्यमान ५९,७२,३७० , ०००,०००,०००,०००,००० टन का सामु यो ० दशमलब ०००,०००,०००,०००,००१ प्रतिशत मात्रै हो। यस प्रकार हामी भन्न सक्छौ पृथ्वीको भार बढ्नुको सट्टा प्रतिवर्ष कम हुँदै गईंरहेको छ। तर यो कम्ती हुने प्रतिशत झट्ट सुन्दा ५० हज़ार टन अत्यधिक लागे पनि पृथ्वीको कुल द्रव्यमानका अगाडि नगण्य छ।