
सिमकोट – जिल्ला अस्पताल हुम्लामा पहिलो पटक ब्लड बैंक स्थापना भएपछि उपचारमा सहजता आएको छ।
ब्लड बैंक कार्यक्रम अन्र्तगत प्रदेश सरकारको सहयोगमा उक्त बैंकका लागि आवश्यक उपकरण प्राप्त हुँदा स्थापना गर्न सहज भएको हो।
डा.टसी आङजु लामाले अस्पताललाई बैंक स्थापना गर्न डिफ्रिज लगायतका उपकरण प्राप्त भएपछि औपचारिक रुपमा ब्लड बैंक स्थापना भएको बताए।
कर्णाली प्रदेश सरकारको ब्लड बैंक कार्यक्रम अन्र्तगत जिल्ला अस्पतालमा बैंक स्थापना गरिएको हो। सो बैंकमा एक पटकका लागि ५० पिन्ट रगत फ्रिजमा स्टोर गरि राख्न सकिने छ।
यसअघि अस्पतालसँग ब्लड बैंकको सुविधा नहुदा रनिङ ब्लड बेैंकबाट काम चलाउनु पर्ने बाध्यता थियो । उनले अस्पतालमा रगतको आवश्यक पर्ने बिरामी आएपछि सार्वजनिक सूचना निकालेर ब्लड दिने व्यक्तिको खोजी गरेर मात्र रगतको परपूर्ति हुने गरेको बताए ।
उनले रगत खोज्दा बिरामीलाई एक हप्तासम्म समय लाग्ने गरेको बिगतको बाध्यता अब हट्ने बताए।
डा.लामाले एक देखि दुई महिनासम्म रगतलाई बैंकमा राख्न सकिने बताए । त्यसबाट रगतको आवश्यक पर्ने बिरामीहरु जतिखेर उपचारका लागि अस्पतालमा भर्ना भएपनि उपचार गर्न सहज हुनेछ।
दुई दिन अगाडि मात्र अस्पतालमा आइसीयू कक्ष र भेण्टिलेटर स्थापना गरिएका थिए।