
सिमकोट-पहिरोको उच्च जोखिममा रहेका जुम्लाका चार गाउँ स्थानान्तरणका लागि नेपाल सरकारलाई सिफारिस गरिएको छ।
जिललामा बसेको जिल्ला विपद् व्यवस्थापन समिति जुम्लाको बैठकले भिरालो र पहिरोको उच्च जोखिममा रहेका जुम्लाका चार गाउँ स्थानान्तरण गर्न सिफारिस गर्ने निर्णय गरेको हो।
तिला गाउँपालिका-७ को घोडेसिन, हिमा गाउँपालिका-६ खलढुङ्गा, पातारासी गाउँपालिका-३ चौरगाउँ र चन्दननाथ नगरपालिका–८ को जातिभीड गाउँलाई स्थानान्तरण गर्न सङ्घीय सरकारको शहरी विकास मन्त्रालयलाई सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए।
नेपाल सरकारको जोखिमयुक्त बस्ती स्थापना तथा एकीकृत बस्ती विकास सम्बन्धी कार्यविधि, २०७५ अनुसार जोखिम बस्तीलाई सुरक्षित गर्नका लागि स्थानान्तरण गरिने निर्णय भएको प्रजिअ थापाले जानकारी दिए।
उनका अनुसार समयमै ती बस्ती स्थानान्तरण गरिए नागरिक सुरक्षित हुने छन्। जोखिम बस्तीको विपद् व्यवस्थापन समितिले अनुगमन समेत गरेको थियो।
तिला गाउँपालिका-७ को घोडेसिन गाउँको बीचैमा पहिरो गएपछि प्रमुख जिल्ला अधिकारी थापा सहितको टोली त्यस गाउँमा गएर अनुगमन गरी बस्ती जोखिम भएको ठहर गरेको थियो।
निक्कै भिरमा बस्ती रहेको कारण सो बस्ती सार्नु उपयुक्त देखिएको प्रजिअ थापाले बताए।घोडेसिनमा ८० घरधुरी छन्। सोही अवस्था कै बस्ती नाग्ममा भदौ १३ गते पहिरो गएपछि १० जनाको ज्यान गएको थियो।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा जिल्ला समन्वय समितिले कोभिडको सामनाका लागि बजेट थपिनु पर्ने, विनियोजन गरिएको बजेट खर्च गर्ने कार्यविधि तयार हुनुपर्ने लगायतका सुझाव दिएका थिए।