
इङ्ल्यान्डमा सेल्फ आइसोलेसनमा बसेका व्यक्तिले नियम तोडेको पाइए १० हजार पाउन्ड जरिवाना गरिने भएको छ।
स्वास्थ्य मन्त्री म्याट हेन्डकोकले कोरोना संक्रमणलाई नियन्त्रण गर्न नियमलाई कडाई गर्न लागिएको बताएको बीबिसीले जनाएको छ। उनले स्वास्थ्य सुरक्षालगायतका मापदण्डलाई पालना नगरिए थप कडाई गर्न सकिने पनि चेतावनी दिएका छन्।
‘यदी सबैले नियम फलो गरेपनि हामीले आगामी दिनमा लकडाउन नगर्नुपर्ने अवस्था आउन सक्छ’ मन्त्री हेन्डकोकले भनेका छन्। तर उनले फेरी लकडाउन गर्न सकिने सम्भावना नकार्न सकेनन्। ‘ म यसलाई नकार्न सक्दिन। तर फेरी लकडाउन भएको हेर्न चाहन्नँ’, उनले भनेका छन्।
शनिबार मात्र बेलायतमा चार हजार चार सय २२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने २७ जनाको मृत्यु भएको थियो। इङ्ल्यान्डमा कोरोना संक्रमण पुष्टी हुने वा पुष्टी हुनेको सम्पर्कमा रहेकालाई सेल्फ आइसोलेसनमा बस्न आग्रह गरिएको छ। तर त्यसो नगरेको पाइए एक हजारदेखि १० हजार पाउन्डसम्म जरिवाना हुने बताइएको छ।
एकपटकभन्दा बढी गल्ती दोहोर्यानेको हकमा १० हजार पाउन्डसम्म जरिवाना हुन सक्ने छ। यसैगरि सेल्फ आइसोलेसनमा बस्न निर्देशन दिएका संक्रमितलाई कारबाही गर्ने रोजगारदातालाई पनि जरिवाना गरिने इङ्ल्यान्डका सरकारी अधिकारीले जनाएका छन्।