
सिमकोट– चीनले हुम्लाको लाप्चामा सीमा मिचेर भवन नबनाएको दाबी गरेको छ। सो सम्बन्धमा अनुगमन गर्न लाप्चा पुगेको प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीसहितको टोलीलाई चिनियाँ पक्षले नक्सा देखाएर भवन बनाएको स्थान चीनकै भएको दाबी गरेको हो।
प्रजिअसहितको टोलीमा लाप्चा पुगेर सिमकोट फर्केका नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर लामाले हराएको भनिएको ११ नम्बर पिलर नभेट्दासम्म चीनको दावी स्वीकार गर्न नसकिने बताए। उनले भने, ‘पिलर भेटिएमा कसैले ढाँट्न नमिल्ने भएको कारण पहिले दुबै देश मिलेर हराएको पिलर खोज्नु पर्छ।’ उक्त क्षेत्रका स्थानीयहरुले पनि चिनियाँले भवन बनाएको क्षेत्र नेपालकै रहेको बताएका छन्।
पिलर कसरी हराएको हो अहिलेसम्म पत्ता लागेको छैन। टोलीसँग लाप्चा पुगेर सदरमुकाम सिमकोट आइपुगेका अध्यक्ष लामाले देशसञ्चारसँग भने, ‘नक्सा देखाएर हुँदैन। हराएको पिलर पत्ता नलगाई चीनको दावीमा विश्वास गर्न सकिँदैन।’
२०६६ सालमा लिमी–लाप्चा सडक निर्माण गर्दा नेपाली भूभाग भनेर आफू सो स्थानमा पाल हालेर बसेको स्मरण गर्दै अध्यक्ष लामाले अब राज्यले पिलर खोज्ने काम गर्नु पर्ने बताए। पिलर खोज्ने काम गाउँपालिकाले मात्र गर्न नसक्ने हुँदा राज्यले चासो दिएर पिलरको खोजी गर्नुपर्ने उनको भनाइ छ।

नेपाल र चीनको सिमाना लाप्चा क्षेत्रको नेपाली भूभागमा चिनियाँ पक्षले बनाएका भवन। तस्बिरः राजन रावत/देश सञ्चार।
चीनले भवन बनाएको स्थानमा प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीसहितको टोली अनुगमनका लागि गएको थियो। यसअघि अन्य मानिसलाई उक्त क्षेत्रमा जान चीनले रोक लगाउँदै आएको थियो। अध्यक्ष लामाले नेपाली टोलीले १२ नम्बर पिलर हेरेको बताए।
सो क्षेत्रका वडा अध्यक्ष पाल्जोर तामाङ पहिले लिमीबासीले खर्कका रुपमा उक्त स्थानमा प्रयोग गर्ने गरेको बताउँछन्। अहिले नक्सा के छ भन्ने भन्दा पनि पहिले प्रयोग गर्ने कुरालाई पनि आधार मान्नु पर्ने स्थानीयको भनाइ छ।
नयाँ भैरवी दल गुल्मका गुल्मपति प्राज्ञ बस्नेत, सशस्त्र प्रहरी नायव निरीक्षक मोहन बस्ने, राष्ट्रिय अनुसन्धानका डिएस्पी सञ्जिव चौधरी, प्रहरी निरीक्षक सिताराम बिष्टसहितको टोली उक्त भवन निर्माण स्थलतर्फ गरएको थियो। साथमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई खटाइएको छ।
प्रजिअ गिरीसहितको अन्य सरकारी प्रतिनिधिको टोली भने लिमी हुँदै हिल्सा भएर आउने भएको छ।