
इन्डियन प्रिमियर लिग-आइपिएल क्रिकेटअन्तर्गत सोमबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ। निर्धारित २० ओभरमा मुम्बईले बैंगलोरले बनाएको २ सय १ रन बराबरी गरेपछि खेल सुपर ओभरमा पुगेको थियो।
सुपर ओभरमा पहिला ब्याटिङ गरेको मुम्बईले ८ रनको लक्ष्य दियो। इसन किसन र कायरन पोलार्ड ब्याटिङमा आएपनि उनीहरु निर्धारित २० ओभरमा जसरी जम्न सकेनन्। सुपर ओभरमा मुम्बईले बाउन्ड्रिका रुपमा एक चौका मात्र प्रहार गर्न सक्यो। बैंगलोरका बलर नवदिप सैनीले कसिलो बलिङ गरे।
बैंगलोरका ब्याट्सम्यानद्वय एबी डे भिलियर्स र विराट कोहलीले सुपर ओभरको लक्ष्य सजिलै पूरा गरे। बैंगलोरले सुरुका दुई बलमा एक एक रन मात्र जोड्यो। तेस्रो बलमा रन जोड्न सकेन। चौथो बलमा डे भिलियर्सले चौका प्रहार गरे भने पाचौँ बलमा एक रन जोड्दै कोहलीलाई स्ट्राइक दिए। जितका लागि एक रन चाहिएका बेला कोहलीले छैटौँ तथा अन्तिम बलमा चौका प्रहार गरेका थिए।
त्यसअघि मुम्बई इन्डियन्सले अन्तिम चार ओभरमा ७९ रन जोड्दै बैंगलोरले बनाएको योगफल बराबरी गरेको थियो। मुम्बईले निर्धारित २० ओभरमा बैंगलोरले बनाएको २ सय १ रनको बराबरी गरेको हो।
अन्तिम बलमा पाँच रन आवश्यक रहेका बेला पोलार्डले चौका प्रहार गर्दै खेल बराबरीमा ल्याए। मुम्बईलाई अन्तिम ओभरमा १९ रन चाहिएको थियो। सुरुका दुई बलमा एक एक रन जोडे पनि त्यसपछिका दुई बलमा किसनले लगातार छक्का प्रहार गरे। पाचौँ बलमा किसन आउट भए। उनले ९९ रन जोडे। पोलार्ड ६० रनमा अविजित रहे। मुम्बईलाई अन्तिम चार ओभरमा ८० रन चाहिएको थियो। १७ औँ ओभरमा २७ र १८ औँ ओभरमा २२ रन जोडेपछि मुम्बईले खेलमा फर्कने संकेत देखाएको थियो।
त्यसअघि बैंगलोरको विशाल पालीमा तीन जना ब्याट्सम्यानले अर्धशतक बनाए।
टस हारेपछि पहिला ब्याटिङ गर्ने जिम्मा पाएको बैंगलोरले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय १ रन जोड्यो। बैंगलोरका एबी डे भिलियर्सले ५५, देवदुत पडिक्कलले ५४ र एरोन फिन्चले ५२ रन बनाए। डे भिलियर्सले केवल २४ बलमा चार छक्का र चार चौका हिर्काए।
फिन्चले ३५ बलमा एक छक्का र सात चौका प्रहार गरे। यसैगरि पडिक्कलले ४० बलमा दुई छक्का र पाँच चौका हिर्काए। शिवम दुबेले पनि १० बलमा ३ छक्का र एक चौकासहित अविजित २७ रन जोडे।
फिन्च र पडिक्कलले पहिलो विकेटका लागि ९ ओभरमा ८१ रनको साझेदारी गरेका थिए। दुबे र डे भिलियर्सबीच चौथो विकेटका लागि १७ बलमा ४७ रनको अविजित साझेदारी भएको थियो। बैंगलोरले अन्तिम दुई ओभरमा मात्र ३७ रन जोड्यो।
बैंगलोरको तीन खेलबाट चार अंक भएको छ। मुम्बईको तीन खेलबाट २ अंक मात्र छ।