काठमाडौँ–पर्यटन व्यवसायलाई चलायमान बनाउन भारत–चीनको आन्तरिक द्वन्द्वको फाइदा नेपालले उठाउनु पर्ने व्यापारी, बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले बताएका छन्।
भारतसँगको द्वन्द्वको कारण चिनियाँ पर्यटकहरु नेपाल आउने बढी सम्भावना भएकाले त्यसको भरपूर फाइदा उठाउन सक्नुपर्ने उनले बताए।
उनले भने, ‘चिनियाँ पर्यटकहरु अहिले युरोपियन देश जाँदैनन्। एसियाली कन्ट्री आउँछन्। भारतसँगको उसको द्वन्द्वले चिनियाँ पर्यटक त्यहाँ जाँदैनन्। यसको फाइदा हामीले उठाउन सक्नु पर्यो।’
उनका अनुसार कोरोना भाइरस सम्बन्धी राम्रो प्रोटोकल तयार गरी त्यसको पालना गरियो भने जनवरीदेखि पर्यटक आउँछन्। सरकारले अन्तर्राष्ट्रिय उडान पनि सञ्चालनमा ल्याइसकेको छ। अहिलेको अवस्थामा अन्य मुलुकहरुले आफ्ना नागरिकलाई घुम्नका लागि नपठाउने गरेको उनको भनाइ छ।
यसका कारणले अहिलेको अवस्थालाई मध्यनजर गर्दै आन्तरिक प्रवर्द्धनमा लाग्नुपर्ने उनले बताए। ‘मानिसहरु लामो समय घरभित्र नै बसे। उनीहरु फ्रेस हुने वातावरण चाहिइरहेको छ’, उनले भने, ‘धेरै मानिसहरु घुम्न पनि गइरहेका छन्। अहिलेको जोड भनेको आन्तरिक पर्यटनमा हुनुपर्छ।’
सरकारले पनि आन्तरिक पर्यटनमा जोड दिनुपर्ने बताउँदै आएको छ। बन्दाबन्दी पूर्ण रुपमा खुलेसँगै व्यापार व्यवसायहरु पनि सञ्चालनमा आइसकेका छन्। तर पर्यटन व्यवसाय भने अझै ठप्प अवस्थामा नै छ।
यस्तै उनले कोरोना भाइरसबाट बच्न स्वास्थ्य मन्त्रालयले तोकेका मापदण्डको पालना गर्दै व्यापार व्यवसाय चलायमान बनाउनु पर्ने बताए।
हालसम्म कोरोना भाइरसबाट बच्ने अन्य विकल्प नभएकाले सुरक्षाका उपायहरु अपनाउँदै काम गर्नुपर्ने उनको भनाइ छ। ‘कोरोनाको विकल्प अहिले केही छैन। भूतलाई देखका हुँदैनौँ तर पनि त्यसको डरले धामी झाँक्री लगाउँछौ, त्यस्तै कोरोना हो। त्यसबाट बच्ने उपाय मास्क, स्यानिटाइजर र सामाजिक दूरी’, उनले भने, ‘यी उपायहरु अपनाएर सबैले आफ्नो काम गर्नुपर्छ।’
सरकारले गरेको बन्दाबन्दीका कारण सर्वसाधारणहरु रोगले भन्दा भोकले तड्पिएका छन्। मानिसहरुमा रोगले कहिले लाने थाहा नभए पनि भोकले लाने डर बढी रहेको उनले बताए। ‘अहिले मानिसहरुले रोगले भन्दा भोकले मरिरहेका छन्। दैनिक ज्याला मजदुरी गरेर खानेलाई धेरै दुख भएको छ। अब काम नगरी सुख छैन’, उनले भने।
अब फेरि पनि सरकारले लकडाउन गरेमा सर्वसाधारणहरु सडकमा उत्रिने उनले चेतावनी दिए।
कोभिड–१९ ले जति समस्या निम्त्याएको छ, त्योभन्दा बढी अवसरहरु जन्माएको बताए। ‘वैदेशिक रोजगारीमा गएका नेपालीहरु घर फर्किएका छन्। अब उनीहरुलाई काममा कसरी लगाउने चुनौती छ’, उनले भने, ‘तर त्यससँग अवसर छ। जस्तो इँटाभट्टामा काम गर्ने पाँच लाख कामदार विदेशी छन्। अहिले लकडाउनमा करिब ३ लाख कामदार घर गएका छन्। ती ३ लाख कामदारको ठाउँमा नेपाली कामदारलाई सिप सिकाएर रोजगारी दिन सकिन्छ। यो समय नै विदेशी कामदार विस्थापित गर्ने हो।’
उद्योग मन्त्रालयसँग रोजगारी सिर्जनाका लागि एक अर्ब रुपैयाँको बजेट भएको उनले बताए। उक्त बजेटबाट मन्त्रालयले नेपाल भित्रिएका युवाहरुलाई सीपमूलक तालिम दिनुपर्ने उनको भनाइ छ।
‘कुनै पनि काम एक छिनमा हुँदैन। त्यसका लागि उद्योग मन्त्रालय, श्रम मन्त्रालयमा ठूलो बजेट छ’, उनले भने, ‘त्यसलाई परिचालन गरेर नेपाल भित्रिएका युवाहरुलाई स्वरोजगार बनाउनु पर्यो। जानेहरुलाई पनि रोक्न सक्नु पर्यो।’
यसैगरी उनले रोजगारीको थलो कृषि भएको बताए। युवा वर्गहरुलाई कृषिमा लगाउन सके देशको अर्थतन्त्र बलियो हुने उनले बताए। ‘मानिसहरुलाई जे काम गरे पनि वित्तीय पहुँचको खाँचो पर्छ। वित्तीय पहुँच भएमा मानिसहरुले जे काम पनि राम्रो तरिकाले गर्न सक्छ’, उनले भने, ‘राष्ट्र बैंकले अहिले राम्रो नीति ल्याएको छ।’
कृषिलाई प्रवद्र्धन गर्न निर्यातभन्दा आन्तरिक बजारीकरणमा जोड दिनुपर्ने उनले बताए। नेपालमा उत्पादन भएका कृषिजन्य वस्तुको भण्डारण व्यवस्थापनको अभाव, ढुवानी, कोल्ड स्टोर लगायतको अभाव भएको उनले बताए। त्यसका लागि सरकारले बजेट निकासा पनि गरेको छ। तर त्यसको कार्यान्वयन गर्नु तीनै तहको सरकारको दायित्व भए पनि यसका लागि प्रधानमन्त्री तहमा समिति गठन गर्नु पर्ने उनले बताए।
त्यस्तै आन्तरिक उत्पादन प्रवद्र्धन गर्न विदेशी आयातमा प्रतिबन्ध लगाउनु पर्ने उनले बताए। यसो गर्दा किसानहरु उत्पादन बढाउन प्रोत्साहित हुने उनले बताए।
उत्पादन बढाउन सम्बन्धित निकायले आफ्नो मातहतभित्र कति जमिन छ, कति बाझो छ, कति उत्पादन क्षेत्रमा लगाएको त्यसको लेखाजोखा गर्नुपर्ने उनले बताए।
उनले अघि भने, ‘कति कृषि यन्त्रहरु आवश्यक पर्छ भन्ने तथ्यांक भएमा जमिन बाँझो रहँदैन । कृषि यन्त्रका छुट्टै निकाय बनाउनु पर्यो। उक्त निकायबाट किसानहरुलाई सेवा दिने र त्यसमा किसानहरुलाई पनि समावेश गर्नु पर्यो। कृषिका लागि छुट्याएकाे बजेटलाई प्रयोग गर्ने। कृषिका लागि गएको बजेटलाई कनिका जस्तो नछरेर एग्रो कम्पनी खोल्नु पर्यो। सानो एग्रो प्रोसेसिङ इण्ड्रटिज ५/१० लाखको लगानीमा बनाउन सकिन्छ। सहुलियतपूर्ण कर्जाबाट जोडाैँ। त्यसो गर्यो भने धेरैले रोजगारी पनि पाउँछन्। उत्पादन पनि बढ्छ।’
नेपालको भौगोलिक बनावटको हिसाबले कृषि गरेमा धेरै लगानीको आवश्यकता नपर्ने उनले बताए। किसानले उत्पादन गरेका वस्तुहरु भण्डारण गर्ने व्यवस्था गरेमा कृषि फस्टाउने उनको दाबी छ। तर सरकारले यसतर्फ चासो दिएको छैन।
तीनै तहको सरकारले जबसम्म मिलेर काम गर्दैनन्, तबसम्म कृषिमा सुधार नआउने उनले बताए।