
काठमाडौँ– ‘हाम्रो पात्रो’ एपमा अब आफूलाई मनपरेका समाचार स्रोतहरु रोजेर समाचार पढ्न पाइने भएको छ। कम्पनीले बिहीबार एन्ड्रोइड प्रयोगकर्ताका लागि नयाँ फिचरसहितको हाम्रो पात्रोको बेटा भर्सन सार्वजनिक गरेको हो।
कम्पनीका अनुसार अबको केही दिनमा आइफोन प्रयोगकर्ताहरुका लागि समेत यो सुविधा समेटिएको बेटा भर्सन उपलब्ध हुनेछ। प्रयोगकर्ताले आफ्नो व्यक्तिगत रुचि तथा आवश्यकता अनुरुपका समाचारहरु पढ्न सक्ने गरी यो फिचर ल्याइएको हाम्रो पात्रो इंकले जनाएको छ।
एपको समाचार खण्डमा ‘For You’ अर्थात ‘तपाईंको लागि’ फिचर प्रयोग गरी समाचार स्रोत र समाचारको क्याटेगरी रोज्न सकिनेछ।
‘हाम्रो पात्रो’ले सन् २०१४ मा पहिलो पटक समाचार पढ्न सकिने फिचर ल्याएको थियो। एपमा ६० भन्दा बढी न्युज पोर्टलहरु सूचीबद्ध रहेका छन्।
समाचार माध्यमहरु धेरै हुँदा प्रयोगकर्तालाई आफूले चाहजस्तै समाचार फेला पार्न कठिनाई हुनसक्ने भएकोले प्रयोगकर्ताको मागअनुरुप यस किसिमको अहसहजतालाई अन्त्य गर्न हाम्रो पात्रोले यो फिचर ल्याएको हो कम्पनीले जनाएको छ।
हाल सीमित प्रयोगकर्ता माझ परीक्षणको क्रममा रहेको यो फिचर अर्को सातासम्म पब्लिक भर्सनको रुपमा सबैका लागि उपलब्ध हुने हाम्रो पात्रो इंकका सीईओ शंकर उप्रेतीले जानकारी दिए।