
आजभन्दा ३ सय ७० वर्ष पहिला सन १६५० ताका आयरल्याण्डका एकजना पादरी जेम्स अशरले बाइबल तथा अन्य ऐतिहासिक ग्रन्थहरुको अध्ययन पश्चात् दावी गरे- ईश्वरले सृष्टिको निर्माण ४००४ ईसा पूर्व २३ अक्टूबरका दिन दिउँसो १२ बजे गरेका हुन्।
हामी बसोबास गर्ने पृथ्वी कति समय पहिला अस्तित्वमा आएको हो, यो प्रश्नले वैज्ञानिक लगायत अनेको किसिमका बुद्धिजीवी एवं दार्शनिकहरुको मनमा सधै नै मथिंगल गर्दै आएको छ। यस प्रश्नको जबाबमा पूर्वीय धार्मिक ग्रन्थहरुले पृथ्वीलाई अर्बौँ वर्ष पुरानो बताउँदै आएका छन्। पूर्वीय धर्मशास्त्रजस्तै भारत बाहिर स्वरुपमा आएका अब्राहमिक धर्मका ग्रन्थहरुले पृथ्वीको अस्तित्व हद भए ६०२४ वर्ष पुरानो भएको दावी गरेका छन्। ईस्वी सम्वत लागू हुनुभन्दा ४००४ वर्ष पहिला, अर्थात यस अनुसार अहिले सन २०२० मा आउँदा पृथ्वीको उमेर ६०२४ वर्ष पुग्यो। यो त भयो विश्वमा प्रचलित रहेका विभिन्न धर्मअनुसार पृथ्वीको उमेर विषयक फरक फरक दाबी! तर दुबै दाबीमा उमेरको अन्तर भने अत्यन्त फराकिलो रहेको छ।
हामीले श्वास फेरिरहेको युग २१ औँ शताब्दीको वैज्ञानिक युग हो। यस युगका सबै फैसला धर्मशास्त्र निर्देशित नभएर विज्ञान निर्देशित हुन्छन्। पृथ्वीको उमेरबारे विज्ञान के भन्छ? यसबारेको निर्क्यौल गर्न विज्ञानले अति लामो यात्रा तय गरेको छ। विश्वास गर्नुस यस यात्रामा विज्ञानले असफलता र अपरिपक्वताको अविराम संघर्ष गर्दै आफ्नो यात्रा सम्पन्न गरेको छ।
विज्ञान समुदायबाट सर्वप्रथम सर एडमंड हैलीले (हैलीले धूमकेतुको खोज गरेका हुन्।) पृथ्वीको उमेरबारे बुझ्न एउटा ‘आइडिया’ पेश गरेका थिए। सन १७१५ मा उनले गरेको प्रस्ताव थियो- विश्वमा रहेका सबै महासागरमा प्रतिवर्ष प्रवेश गर्ने नूनको मात्राबाट ती महासागरमा रहेको कुल नूनको मात्रालाई विभाजन गर्दा हामीलाई मोटामोटी रूपमा पृथ्वीमा रहेका महासागरको उमेर पत्ता लाग्छ। र, यसबाट हामीले पृथ्वीको उमेर कति हो भन्नेबारे अनुमान गर्न सक्छौँ।
वैज्ञानिकहरु बाहियात चिन्तन गर्दैनन् भन्ने कुरा सर एडमन्ड हैलीको यसै प्रस्तावबाट छर्लङ्ग हुन्छ। वैज्ञानिकहरु जीवनभर कुनै न कुनै किसिमको चिन्तन, खोज, अनुसन्धान गरिरहन्छन्। कतिपय सफल पनि हुन्छन्, तर सफलताको प्रतिशतभन्दा असफलताले बाज़ी मारेको हुन्छ। सफलता र असफलताको सारा खेल तत्कालीन समयमा उपलब्ध शीप, ज्ञान र प्रविधिमा भरपर्छ।
सर हैलीले भनेको झै समुद्रमा नूनको मात्रा ज्ञात गर्ने उपाय न उनको समयमा थियो र न त आजका मितिसम्म उपलब्ध हुनसकेको छ। तर हामी यो नबिर्सौँ यो एउटा वैज्ञानिकले भनेको कुरा हो। अहिलेसम्मको उपलब्ध ज्ञान, विज्ञान र प्रविधिबाट यो सम्भव नभए पनि भविष्यबारे नकारात्मक टिपण्णी गर्नु किमार्थ पनि वैज्ञानिक दृष्टिकोण हुन सक्दैन। यति चर्चा गरिसकेपछि भन्नु परेन सर एडमन्ड हैलीले पेश गरेको ‘आइडिया’बाट पृथ्वीको उमेरबारे केही थाहा लाग्न सकेन।
पृथ्वीको उमेर विषयक शोध गर्ने दिशामा सबैभन्दा पहिलो वैज्ञानिक प्रयोग फ़्रान्सका वैज्ञानिक जार्ज लुइसले सन १७७० मा गरेका थिए।
हामी सबैलाई थाहा छ, पृथ्वीको गर्भबाट ऊष्मा बाहिरिन्छ। लुइसले विचार गरे- यदि मैले ऊष्मामा आउने ह्रास दर पत्ता लगाउन सकेँ भने पृथ्वीको उमेरबारे थाहा पाउन सकिन्छ। लुइसले फलामको ठोस गोला लिएर त्यसलाई अत्यधिक तातो बनाई त्यसको सेलाउने प्रक्रिया र सेलाउनमा लागेको समयको सूक्ष्म अवलोकन गरे। यसपछि लुइसले प्राप्त तथ्यांक र आफ्नो प्रतिभा, मस्तिष्क एवं गणित लगाएर पृथ्वीको उमेर घोषणा गरे। उनको यस प्रयोगको दाबीअनुसार पृथ्वीको उमेर ७५ हज़ार वर्षदेखि १ लाख ६८ हज़ार वर्षसम्म तन्किन पुग्यो। पश्चिमा धर्मशास्त्रको पृथ्वीको उमेर सम्बन्धी दावी वास्तवमै सन १७७० ताका नै अधोगति उन्मुख भइसकेको थियो।
त्यस बेलाका वैज्ञानिक लुइसलाई त के त्यस बेलासम्म संसारलाई नै ‘रेडियोएक्टिभीटी’ बारे केही ज्ञान थिएन। विज्ञान जगत र संसारलाई ‘रेडियोएक्टिभीटी’ पनि केही हुन्छ भन्ने ज्ञान त यसको धेरै समयपछि मात्र भयो। लुइसलाई त्यै बेला ‘रेडियोएक्टिभीटी’ बारे थाहा भएको भए शायद उनले आफ्नो दाबी सार्वजनिक नै गर्ने थिएनन्। उनलाई आफ्नो प्रयोग केटाकेटीको खेलझैँ लाग्ने थियो, किनकी उनको संज्ञानमा आउने थियो, पृथ्वीको गर्भमा प्रचुर मात्रामा रहेका ‘रेडियोएक्टिभ’ पदार्थसँग पृथ्वीलाई अर्बौ वर्षसम्म तताईराख्ने सामर्थ्य हुन्छ।
पृथ्वीको उमेरबारे बुझ्न धेरै जनाले धेरै किसिमका प्रयोग एवं प्रयास गरे। ती सबैजनाको कार्यविधि एवं प्रयोगको परिणाम फरक फरक भए पनि तिनमा एउटा गजबको समानता थियो। के तपाईँ अनुमान गर्न सक्नुहुन्छ- समानताको त्यो ‘फ्याक्टर’ के थियो? तपाईँले ठीक अनुमान लगाउनु भयो- ती सबैजनाको प्रयोग र प्रयास ठीक भए पनि परिणाम ठीक थिएन। पृथ्वीको उमेर ज्ञात गर्ने मामलामा सबैजना पूर्णतया गलत रहेका थिए, असफल रहेका थिए।
ज्ञान-विज्ञान-दर्शन-नयाँ विचारधारा स्वीकृत एवं अंगीकार गर्ने मामलामा पूर्वीय भूभागमा अस्तित्वमा आएको सनातन हिन्दू धर्म जति पश्चिमा धर्म सहिष्णु हुन सकेनन्। हिन्दू धर्मका विभिन्न शास्त्र एवं ग्रन्थहरुले पृथ्वीको उमेरबारे विभिन्न दावी गरेका छन्। यी विभिन्न दावीमा पनि एउटा ‘कॉमन फ्याक्टर’ रहेको छ- ती सबै दावीअनुसार पृथ्वीको उमेर अर्बौ वर्ष रहेको छ।
पृथ्वी अर्बौ वर्ष पुरानो हो भन्ने घोषणा आधुनिक विज्ञान बाहेक हिन्दू धर्म शास्त्रले मात्रै गरेका हुन्। यस विषयमा पश्चिममा विकसित भएका सबै धर्मको मान्यता एवं अवधारणा बाल कौतुहल जस्तै साबित भए। आधुनिक विज्ञानले ती दाबीलाई पूर्णतया ख़ारेज गरिदियो।
आज पश्चिमा धर्मले शान्ति, सहिष्णुता, ‘ब्रदरहुड’, धर्म निरपेक्षताको जति गीत गाए पनि अतीत केलाएर हेर्दा स्पष्ट प्रमाणित हुन्छ, सनातन हिन्दू धर्म जतिको शान्तिचेत, विश्व बन्धुत्व भावले ओतप्रोत, सहिष्णु एवं अन्य विचार-दर्शन-मत-पंथ-धर्म-संप्रदाय प्रति उदारमना अरु कुनै धर्म छैन। हिन्दू धर्ममा फरक मत भएका अध्येतालाई पनि ऋषिको सम्मान प्राप्त छ।
के तपाईँलाई थाहा छ, प्रसिद्द वैज्ञानिक चार्ल्स डार्विनलाई आफ्नो प्रसिद्द पुस्तकको एक अंश चर्चको आपत्ति एवं निषेधाज्ञा उपरान्त सम्पादित गर्नु परेको थियो। डार्विनले तमाम ‘जियोलोजिकल सर्भे’का आधारमा इंग्लैंडको एउटा भूभागको उमेर ३० करोड़ वर्ष भएको उल्लेख गरेका थिए आफ्नो त्यस पुस्तकमा।
अब चर्चको धर्मग्रन्थ पवित्र ग्रन्थ बाइबलका अनुसार प्रभुले ईसा पूर्व जम्मा ४ हज़ार ४ वर्ष पहिला सृष्टिको निर्माण गरेका हुन्। बाइबलको पवित्र वचनका विरुध्द डार्विनले पृथ्वीको कुनै भूभागलाई ३० करोड़ वर्ष पुरानो भन्नु चर्चलाई कसरी सहन हुनसक्थ्यो? चर्चको दबाबमा डार्विन महोदयले पुस्तकबाट त्यो अंश हटाउनुपर्यो। ग्यालिलियो, कोपर्निकस,ब्रूनो लगायतका वैज्ञानिकसंग चर्चले गरेको व्यवहार विश्व सामु छर्लङ्ग नै छ ।
पृथ्वीको उमेरको सम्बन्ध सूर्य लगायत सौर्यमण्डलका आदि यावत ग्रहसँग हुनुपर्छ भन्ने मान्यता पनि विकसित भयो। आफूबसोबास गर्ने पृथ्वीको अनेकौँ प्रकारले शोध अवलोकन गरेर कुनै निष्कर्षमा पुग्न असफल मानिसका लागी करोडौँ किमी टाढाका पिन्डहरुको अवलोकन मात्रले यस सम्बन्धमा के नै उपलब्धि हासिल हुन सक्थ्यो?
त्यस बेलासम्म विश्वको सर्वश्रेष्ठ प्रज्ञाधारीहरुलाई पनि यस्तो कुनै सिद्धान्तबारे सुइँकोसम्म थिएन कि पृथ्वीभन्दा अति विशाल सूर्य कुन किसिमको ईंधन बालेर अनंत प्रकाश उत्सर्जित गरिरहेको छ? आमधारणा त यही थियो, सूर्यले जुन मात्रामा प्रकाश उत्सर्जित गरिरहेको छ त्यसका लागि प्रचुर मात्रामा ईंधन खपत हुन्छ। सूर्यको उमेर धेरै हुन सक्दैन र यसको भविष्य पनि धेरै लामो हुन सक्दैन।
ज्ञान र विज्ञान दुबै क्रमानुगत हुन्छन्। एउटा कुरा संज्ञानमा आएपछि त्यसमै टेकेर अर्को नयाँ जानकारी प्राप्त हुन्छ। कसैलाई भाषाकै ज्ञान छैन भने उसले कविता लेख्न सक्छ भन्ने कल्पना गर्न सकिन्न।
जुनबेला सूर्य लगायत सौर्य मन्डलका यावत ग्रह एवं पिन्डहरुको उमेर एवं पृथ्वीको उमेरमा एकरूपता हुनुपर्दछ भन्ने धारणा विकसित भयो, मान्नुस् विज्ञानले खगोलशास्त्रको नयाँ भाषा सिक्न प्रारम्भ गर्यो। अब भाषा सिकिसकेपछि कालान्तरमा कविता एवं विविध साहित्यको सृजन हुनु नै थियो।
यसै क्रममा सन १८९६ मा भएको एउटा दुर्घटनाले प्रकृतिका अनेकौँ रहस्य उजागर गर्ने ढोका खोलिदियो। सन १८९६ मा पेरिसका एकजना वैज्ञानिक हेनरी बेक्यूरलले ‘यूरेनियम साल्ट’को एउटा प्याकेट आफ्नो दराज़मा राखे। उनको त्यस दराजमा केही ‘फोटोग्राफिक प्लेट’ पनि रहेका थिए। केही समयपश्चात् उनले दराजमा रहेका ‘फोटोग्राफिक प्लेट’ हेर्दा प्लेटमा रहेका ‘इम्प्रेसन’ नष्ट भएको पाए। उनलाई लाग्यो- कुनै प्रचण्ड ऊर्जाले ‘फोटोग्राफिक प्लेट’का ‘इम्प्रेसन’ नष्ट गरेको हो। उनको मस्तिष्क सल्बलायो, पक्कै यो खुराफात ‘यूरेनियम साल्ट’ कै हुनुपर्दछ। उनले सारा वृत्तान्त आफ्नो एकजना छात्रालाई सुनाए र ‘यूरेनियम’को पैकेट उनलाई दिँदै यसमाथि थप अनुसन्धान गर्न भने। यो घटना नै विश्वलाई ‘रेडियोएक्टिभिटी’सँग परिचित गराउने ‘माइल स्टोन’ बन्यो। ती छात्राले ‘यूरेनियम’माथि शोध गर्दै विज्ञान जगतलाई ‘रेडियोएक्टिभीटी’ शब्दसँग साक्षात्कार गराइन्। मैडम क्यूरी नामक ती छात्रालाई यस कार्यका लागि नोबेल पुरस्कारबाट सम्मानित गरियो।
यस घटनाको केही वर्षभित्र नै आइन्स्टिन महोदयले ‘ई = एम सी २’ (E = mc2) समीकरणका माध्यमले कुनै पनि तारा अर्बौँ वर्षसम्म प्रकाश र ऊर्जा उत्पन्न गर्न सक्षम हुने प्रमाणित गरिदिए। लगभग यसै समयमा अर्का वैज्ञानिक अर्नेस्ट रदरफोर्डले प्रमाणित गरिदिए कि ‘रेडियोएक्टिभ’ पदार्थको आधा मात्राको क्षय हुने दर एकनास हुन्छ (The Calibrated Half Life Decay ) । ‘रेडियोएक्टिभ’ पदार्थको यस गुणका कारण हामी यी पदार्थको उमेरबारे सटीक जानकारी पाउन सक्छौँ।
पृथ्वीको आयु निर्धारण गर्नेबारे ४० भन्दा बढ़ी प्रणाली आविष्कृत भइसकेका छन्। पृथ्वीमा रहेका चट्टान, चन्द्रमाबाट ल्याइएका ‘स्याम्पल’ को अध्ययन, उल्कापिन्डहरुको अध्ययन जस्ता अनेकौँ अध्ययनबाट विज्ञानलाई स्पष्ट भइसकेको छ हाम्रो पृथ्वी अस्तित्वमा आएको ४ दशमलब ५४ अर्ब वर्ष भइसक्यो। यो उमेर पृथ्वीको मात्र होइन, सम्पूर्ण सौर्यमण्डल नै लगभग एकै समयमा अस्तित्वमा आएको थियो। ध्यान दिनु होला- सूर्य, ग्रह, उपग्रह, क्षुद्र ग्रह, वामन ग्रह, धूमकेतुजस्ता भीमकाय संरचनाहरु मात्रै होइन, सौर्यमण्डलभित्र रहेको सानोदेखि सानो कणको उमेर पनि त्यति नै छ जति सूर्यको अथवा पृथ्वीको।
यस बारेको हिन्दू अवधारणा
हिन्दू धर्मग्रन्थको अवधारणा अनुसार ब्रह्माण्डको उत्पत्ति श्री विष्णुद्वारा भएको हो। श्री विष्णुलाई हिन्दू धर्ममा समय र कालचक्रभन्दा बाहिर रहेको मानिन्छ। हिन्दू धर्मग्रन्थ अनुसार श्री विष्णुको नाभिबाट एउटा कमलको पुष्प निस्कियो। ब्रह्माण्डको रचयिता श्री ब्रह्माजीको उत्पत्ति यसै कमलपुष्पबाट भयो। वैज्ञानिक दृष्टिकोणले यसबारे विश्लेषण गर्ने हो भने ब्रह्माजी नै ‘बिग बैंग’ रूपी ब्रह्माण्डको प्रारम्भ बिंदु हुनुहुन्छ। र, श्री विष्णु भनेको ‘बिंग बैंग’ भन्दा पहिलाको ‘सिंगुलरिटी’ हुनुहुन्छ। ‘सिंगुलरिटी’ जुन सबै खाले सृजनाभन्दा पूर्वको त्यों उर्वर बिन्दु हो जसमा सबै खाले सृजन सम्भावना सन्निहित हुन्छन्। ब्रह्माण्डरूपी ब्रह्माजीको पनि अन्त हुन्छ। ब्रह्मा अथवा ब्रह्माण्डको निश्चित जीवनचक्र छ जसको अन्त हुन्छ ।
हिन्दू धर्मग्रन्थ अनुसार ब्रह्माको जीवनकाल १०० ब्रह्म वर्षको (दिव्य वर्ष) हुन्छ। त्यस उपरान्त ब्रह्माको अवसान हुन्छ। ‘सिंगुलरिटी’ रूपी श्री विष्णुबाट पुनः नयाँ ब्रह्माको जन्म अर्थात नयाँ ‘बिग बैंग’को सृष्टि हुन्छ। ब्रह्माको अवसानलाई विज्ञानको भाषाको शब्दावली ‘बिग क्रंच’ संग दाँजेर हेरौँ- विज्ञान भन्छ ‘बिग क्रंच’ मा समस्त ब्रह्माण्ड पुनः एउटा बिन्दु ‘सिंगुलरिटी’ मा परिणत हुन्छ। कति सुन्दर रूपक दिएको छ हिन्दू धर्मले, ‘ब्रह्मा अर्थात विस्तार भएको ब्रह्माण्ड पुनः श्री विष्णुको नाभिमा समाहित हुन्छ।’
हिन्दू मताअनुसार चार युग हुन्छन्। पहिलो सतयुगको काल १,७२८,००० मानव वर्षको हुन्छ। दोस्रो त्रेता युगको काल १,२९६, ००० मानव वर्षको हुन्छ। तेस्रो द्वापर युगको काल ८६४,००० मानव वर्षको हुन्छ। चौथो कलियुगको काल ४३२,००० मानव वर्षको हुन्छ। चार वटै युगको मान ४३,२०००० (त्रिचालिस लाख बीस हज़ार) मानव वर्षको हुन्छ। चारवटै युगको जोड़लाई एक महायुग भनिन्छ। यस्ता १,००० महायुग मिलेर ( ४३,२००००*१०००= ४,३२,००००,००० = चार अर्ब ३२ करोड़ वर्ष) एक कल्प (ब्रह्माको एक दिन ) बन्छ। ब्रह्माको रात्रि पनि ४ अर्ब ३२ करोड़ वर्षकै हुन्छ। दुई कल्प मिलेर (ब्रह्माको एक दिन+ एक रात) अर्थात ८ अर्ब ६४ करोड़ वर्षको समय हुन्छ। ब्रह्माको एक महिना अर्थात ३० दिनमा ८ अर्ब ६४ करोड़*३० = २,५९,२०,०००,०००० (दुई खर्ब ५९ अर्ब २० करोड़) वर्ष हुन्छन्। ब्रह्माको एक वर्षमा २ खर्ब ५९ अर्ब २० करोड़ * १२ = ३१ खर्ब १० अर्ब ४० करोड़ वर्ष हुन्छन्। यो ब्रह्मको एक वर्षको काल हो, अर्थात ब्रह्माको एक वर्षमा हामी मानवले गणना गर्ने ३१ खर्ब १० अर्ब ४० करोड़ वर्ष हुन्छन्। र यस्ता १०० वर्षको उमेर हुन्छ एउटा ब्रह्माको। ३१ खर्ब १० अर्ब ४० करोड़*१०० = ३१ शंख १० खर्ब ४० अर्ब मानव वर्षको काल हुन्छ एउटा ब्रह्माको।
वैज्ञानिकहरुले आकाशगंगा ‘मिल्की वे’ को निर्माण झण्डै ५४ ‘गैलेक्टिक’ वर्ष पहिला भएको अनुमान गर्छन्। एक ‘गैलेक्टिक’ वर्षमा २२ करोड़ ५० लाख वर्ष हुन्छन्। यस अनुसार’ मिल्किवे’ को निर्माण १२ अर्ब १५ करोड़ वर्ष पहिला भएको थियो। ‘बिग बैंग’ ६१ ‘गैलेक्टिक’ वर्ष पहिला अर्थात झण्डै १३ अर्ब ८० करोड़ वर्ष पहिला निर्माण भएको मानिन्छ। सूर्यको जन्म २० दशमलब ४४ ‘गैलेक्टिक’ वर्ष पहिला अर्थात ४ दशमलब ५९ अर्ब वर्ष पहिला भएको मानिन्छ। पृथ्वीको उत्पत्ति सूर्य उत्पत्ति भएको केही समयपछि अर्थात ४ दशमलब ५४ अर्ब वर्ष पहिला भएको मानिन्छ।
हिन्दू अवधारणामा ७१ महायुगको (४३,२०००० *७१= ३०६७२०००० वर्ष) समयलाई एक मन्वन्तर भनिन्छ। प्रत्येक मन्वन्तरको शासक एउटा मनु हुन्छ। हिन्दू अवधारणा अनुसार अहिले हामी सातौँ मनु ‘वैवस्त मनु’को शासन कालमा छौँ।
प्रसिद्द वैज्ञानिक स्टिफन हकिन्सको ‘हकिन्स रेडिएसन’ पढेका मानिसलाई ब्रह्माको १०० वर्षको काल अपत्यारिलो लाग्दैन। ‘हकिन्स रेडिएसन’ सिद्धांत अनुसार एउटा दैत्याकार ‘ब्लैकहोल’लाई आफ्नो सम्पूर्ण ऊर्जा समाप्त गर्न १० को घात १०६ वर्षको समय लाग्छ।
विज्ञानले पृथ्वीको आयु ४ दशमलब ५४ अर्ब वर्ष प्रमाणित गरेको छ। हिन्दू धर्मग्रन्थ अनुसार ब्रह्माको एक दिन ४ अर्ब ३२ करोड़ वर्षको हुन्छ। हिन्दू अवधारणामा प्रत्येक मन्वन्तर पछि प्रलयकाल हुन्छ। विज्ञानले पृथ्वीको उमेर ४ दशमलब ५४ वर्ष भन्नु र हिन्दू मान्यताको एउटा मन्वन्तरको आयु अथवा समय ४ अर्ब ३२ करोड़ वर्षमा धेरै ठूलो भिन्नता छैन।
हिन्दू धर्म ग्रन्थहरुको महत्व विज्ञान नपढ़ेसम्म बुझ्न सकिदैन। हिन्दूहरुसँग समयको ठूलो मात्र होइन सूक्ष्मभन्दा सूक्ष्म विश्लेषण पनि रहेको छ।
आधुनिक विज्ञानले त समयको सूक्ष्म विश्लेषण प्लान्क महाशयबाट पायो जुन हिन्दूहरुसँग हज़ारौँ वर्ष पहिलादेखि नै थियो।
वैदिक गणना अनुसार समयको सूक्ष्म विभाजन-
एक तॄसरेणु = ६ ब्रह्माण्डीय
एक त्रुटि = २ तॄसरेणु, अथवा सेकेण्डको १/१६८७ दशमलब ५ भाग
एक वेध = १०० त्रुटि
एक लावा = ३ वेध।
एक निमेष = ३ लावा (परेली झप्किन लाग्ने समय)
एक क्षण = ३ निमेष
एक काष्ठा = ५ क्षण, अथवा ८ सेकेण्ड
एक लघु = १५ काष्ठा, अथवा २ मिनट
१२ लघु = एक नाड़ी
यसलाइ दन्ड पनि भनिन्थ्यो । यसको मान त्यस समयको बराबर हुन्थ्यो जति समयमा १४ औंसको ताम्र पात्रमा राखिएको सम्पूर्ण पानी बाहिर निस्किएर जावोस्। त्यस ताम्र पात्रमा विशिष्ट प्रकारले प्वाल पारिएको हुन्थ्यो। पुरानो समयमा समय आकलन हेतु यस्ता पात्र बनाइन्थ्यो। भनौँ २४ मिनेटको समय हुन्थ्यो १ नाड़ी अथवा १ दन्ड।
२ दण्ड = एक मुहूर्त अथवा ४८ मिनेट
७ मुहूर्त = एक याम अथवा प्रहर अर्थात एक चौथाइ दिन अथवा रात्रि
४ याम/प्रहर= एक दिन या रात्रि
८ प्रहर = एक तिथि (एक दिन+रात्रि)
१५ तिथि = १ पक्ष
२ पक्ष = एक महिना
२ महिना = एक ऋतु
३ ऋतु = १ अयन
२ अयन = एक वर्ष
दुइ चार आधुनिक पुस्तक पढेकै भरमा नव बौद्धिकहरुले धर्मलाई पाखण्ड र अंधविश्वासको संज्ञा दिन्छन्। यस्ता नव बौद्धिकहरुले विराट हिन्दू वांग्मय पल्टाएर हेरे हुन्थ्यो। अनि तिनका ज्ञान चक्षु खुल्ने थिए- होइन धर्मग्रन्थहरु त विज्ञानको खानी रहेछन्।