
टीट्वेन्टी क्रिकेटमा बलरहरुको ‘धुलाइ’ हुने गर्छ। बलरहरु लगातार ठुला प्रहारको शिकार हुन्छन्। तर चालु इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सका दुई जना बलर कागिसो राबडा र अक्सर पटेलको कहानी केही बेग्लै छ।
तेज बलर कागिसो राबडाले यो सिजन आईपीएलमा १५ विकेट लिइसकेका छन्। दिल्ली ६ खेलबाट १० अंक जोडेर तालिकाको शीर्षस्थानमा छ। दिल्लीले एक खेलमात्र हार ब्यहोरेको छ। राबडा सर्वाधिक विकेट लिने बलर हुन्।
दोस्रो स्थानमा रहेका मुम्बई इन्डियन्सका जसप्रित बुमराहको नाममा ११ विकेट छ। साविक विजेतासमेत रहेको मुम्बई ६ खेलबाट ८ अंक जोडेर दोस्रो स्थानमा छ, समान अंक भएका कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरलाई नेट रनरेटमा पछाडि पार्दै।
राबडाले अधिकांश विकेट डेथ ओभर अर्थात पालीका अन्तिम पाँच ओभरमा लिएका छन्। ती ओभरमा उनले ११ विकेट हात पारेका छन्। राबडाको बलिङ इकोनोमी औसतमा ७.८१ रन प्रतिओभर छ। प्रतियोगिताको यो सिजन कम्तिमा २ ओभर बलिङ गर्ने बलरमध्ये अक्सर सबैभन्दा किफायती हुन्। उनले ४.५ रन प्रतिओभरको औसतमा बलिङ गरिरहेका छन्। उनले पाँच विकेट लिएका छन्, १६ ओभरमा ७२ रन खर्चिएर। उनको बलमा विपक्षीले एउटा छक्का पनि प्रहार गर्न सकेका छैनन्।
प्रतियोगिताको यो सिजन दिल्ली नै यस्तो टोली हो जसले एकै खेलमा २ सय २८ रनसम्म जोडेको छ। उसले पछिल्ला तीन खेलका हरेक पालीमा कम्तिमा एक सय ८० रन जोडेको छ। कोलकाता नाइट राइडर्सविरुद्ध २ सय २८, रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध एक सय ९६ र राजस्थान रोयल्सविरुद्ध एक सय ८४ रन जोडेको थियो। यी तीनवटै खेलमा विजयी पनि भयो।
यहि पृष्ठभूमीमा आइतबार दिल्लीले मुम्बईको सामना गर्दै छ। मुम्बईले पनि गज्जबको प्रदर्शन गरिरहेको छ। उसले पछिल्ला पाँच खेलका हरेक पालीमा कम्तिमा एक सय ९१ रन जोडेको छ।
अघिल्लो खेलमा सनराइजर्स हैदराबादविरुद्ध पहिला ब्याटिङ गर्दै २ सय ८ रन जोडेको थियो। त्यस खेलमा ३४ रनले विजयी भयो। रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध मुम्बईले २ सय २ रनको लक्ष्य पछ्याउनेक्रममा २ सय १ रन बनाएर खेललाई टाइ बनाएपनि सुपर ओभरमा पराजित भयो।
मुम्बईका बलरहरुमा बुमराहबाहेक ट्रेन्ट बोल्टले १०, जेम्स प्याटिन्सनले ९ र राहुल चाहरले ७ विकेट लिएका छन्। बलिङ इकोनोमी हेर्दा यी सबै बलरको ८ को छेउछाउ छ। ब्याटिङतर्फ मुम्बईका रोहित शर्माले २ अर्धसतकसहित २ सय ११ र सुर्यकुमार यादबले एक अर्धसतकसहित एक सय ८० रन जोडेका छन्।
कायरन पोलार्डको नाममा एक सय ६३ रन छ। दिल्लीका श्रेयस अयरले २ सय ३, पृथ्वी सले एक सय ९८, रिसभ पन्तले एक सय ७६ र मार्कस स्टोइनिसले एक सय ६२ रन बनाएका छन्।दिल्लीका एनरिच नोर्त्याले ८ विकेट हात पारेका छन्।