
सिमकोट-च्याछरा खण्डको केही यताको भीरमा बटुवाहरुलाई डोरी समातेर ज्यान जोखिममा राखेर बाटो हिड्नु परेको छ।
सिमकोट हिल्सा सडक आयोजनाले बाटो निर्माण कार्य अधुरो गरेपछि बटुवालाई हिड्न कठिन भएको हो ।
काम बिशेषले सदरमुकाम सिमकोट आउन लाग्नु भएकी बटुवा पुर्ण लामाले भीरको बाटोमा डोरी समातेर हिड्नु परेको बताए। च्याछरा भीरमा सडक अधुरो बनाए पछि बटुवाहरुले ज्यानलाई जोखिममा राखेर हिड्नु परेको हो।
पिठिउमा पाँच वर्षकी छोरी बोकेर डोरी समातेर भीर पार गर्दा शरिरलै सिरिङ भएको बताउदै लामाले केही तल माथि भए दुर्घटना हुन सक्ने बताए। तल निलो कर्णाली नदी देखिने माथि डोरी समातेर भीर पार गर्नु हम्मे हुने भएपनि सबैतिर भीर भएको कारण बटुवालाई अन्य बिकल्प पनि देखिदैन।
गाउँ गाउँमा कोरोना संक्रमण वारे सचेतना फैलाउन र गर्भ जाँच गर्न नाम्खा गाउँपालिकामा जानु भएकी स्वास्थ्य सेवा कार्यालयकी सिनियर अनमी सरिता बोहराले भीरको बाटोमा जोखिम उठाएर जानुको बिकल्प नभएको बताइन्। अझ लोग्ने मान्छे भन्दा महिलालाई भीर पार गर्न निक्कै कठिन हुने गरेको छ।
सडक निर्माण गर्ने क्रममा बिकल्प नभएको स्थानमा मानिस हिड्न सक्ने बाटो नबनाएको कारण बटुवालाई कठिन भएको बताए । सो क्षेत्रमा आयोजनाले बिष्फोट गरेर सडक निर्माण गरेपनि काम पुरा नहुदा हिड्न समस्या भएको हो।
खुट्टा चिप्लीए वा डोरीबाट पुत्किए सिधै कर्णाली नदी खस्ने डर पनि उत्तिक्कै रहेको छ। यस्ता ठाउँमा बाटो बनाएर बटुवाले खेप्नु परेको सास्तीलाई समधान गर्न आबश्यक रहेको पिडितको गुनासो रहेको छ । कोरोना कै कारण खासै मानिसको आउुजाउु नभएको कारण दुर्घटना हुन नपाएको हो ।