दाङ – बिहानको ४ बज्यो । मेघनारायण चौधरी, उनका श्रीमती, छोरा–बुहारी सबै उठीसके । सबैको हातमा टर्च र प्लास्टिकको झोला छ ।
घोराही र तुलसीपुरबाट दुई क्विन्टल च्याउको माग भएको छ। बजारमा च्याउको माग धेरै छ । व्यापारीले माग गरे जति पुर्याउन सकिएको छैन।
च्याउ टिप्न बिहान ४ बजे सबै उठीसकेका हुन्। दैनिक पाँच क्विन्टलसम्म च्याउ उत्पादन हुँदा बिहान ३ बजे नै उठ्नुपर्ने हुन्छ । हिजोआज दैनिक दुई क्विन्टलसम्म च्याउ उत्पादन भैरहेको छ ।
पुस–माघ महिनामा धेरै च्याउ उत्पादन हुन्छ । त्यती बेला यो परिवारको व्यस्तता झनै हुन्छ । गर्मी मौसममा च्याउ फलाउन अलि समस्या हुन्छ । तर, चिसो मौसममा च्याउ धेरै फल्ने गर्छ ।
पहिला तरकारी खेती हुने साढे दुई बिगाह जग्गामा अहिले स–साना खरको छानो हालिएका घर छन् । ती घर ‘कन्य’ जातको च्याउको लागि तयार पारिएको हो।
मेघनाराण चौधरी निर्वाचित वडाध्यक्ष हुन्। लमही नगरपालिका वडा नं. ८ का वडाध्यक्ष चौधरीको परिवारका सबै सदस्य कृषि कर्ममा लागेका छन्। यसको नेतृत्व वडाध्यक्ष स्वयंले गरेका छन्।
च्याउ खेतीमा संलग्न भएको चार वर्ष नाघेको छ । यो भन्दा अघि यो परिवारले कृषि तर्फ हात नहालेको क्षेत्र छैन। तर, सफलता भने कतै हाँसिल हुन सकेन । च्याउ खेतीमा हात हालेपछि भने निरास हुनु परेको छैन।
पहिला तरकारी पनि बिक्री गर्न सकिन्छ र ? भन्ने समय थियो । साँझ बिहानको भान्साको लागि मात्रै तरकारी खेती गर्ने चलन थियो । तर, सतवरीया गाउँमा तरकारी बेचेर आम्दानी लिन सकिन्छ भन्ने उदाहरण मेघनाराणले बसाले ।
लमही बजारमा दुई/चार वटा मात्रै पसल थिए । एक किलो फूलगोभी ५० पैसामा बिक्री हुन्थ्यो । यसैगरी तरकारी खेतीको व्यवसायीक यात्रा सुरु भयो । पछि भारतबाट तरकारी सस्तोमा मूल्यमा नेपाल आउन थाल्यो । भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न सकिएन । तरकारीको यात्रा पनि टुंगियो ।
कपास खेतीको बाढी नै आयो । तरकारी खेती हुने जग्गामा कपास छरे । ६ बिगाह जग्गामा कपास थियो । पछि कम्पनी धरासायी भयो । मेघनारायणको सपना बीचमै टुट्यो । केरा खेतीको सिजन आयो । दुई बिगाह जमिनमा केरा रोपे । केरा त फल्यो । तर, धेरैजसो उधारो गयो । उधारो रकम उठाउन सकेनन् ।
‘भारतबाट केरा आउथ्यो । अहिले पनि केरा भारतबाट धेरै आइरहेको छ । भारतको बजारसँग प्रतिस्पर्धा गर्न सकिएन । उधारो पनि धेरै गयो’मेघनारायणले विगत सम्झिँदै भने,‘केराले पनि हरेस खुवायो । अनी केरा खेती पनि छाडे ।’
बिउ आलु उत्पादन पनि सुरु गरे । आलुमा पनि घाटा लाग्यो । बिउ आलु पनि भारतबाट आउने गर्छ । स्थानीय उत्पादन भन्दा बाहिरबाट आएको आलु किसानले धेरै प्रयोग गरे । आलुमा सुरुका वर्ष सफलता मिले पनि दीगो हुन सकेन ।
भिडियाे:
मेघनारायणले हरेस मानेनन्। अझै उनले उखु खेतीमा हात हाले । उखु खेती सुरु भयो । कृष्णनगरको चिनी मिलमा उखु पुर्याउन थाले । लगानी समेत उठ्न सक्ने अवस्था भएन । व्यापारीले पैसा दिएनन । गाउँमै भेली बनाउन थाले । तर, भेली उत्पादन गर्न लाग्ने खर्च, परिश्रम, उखु उत्पादन गर्न चाहिने लगानी अनुसार आम्दानी भएन ।
त्यसपछि च्याउ खेतीमा हात हाले ।‘बिचमा आम्दानी हुन छाडेपछि घरमा समेत विवाद हुन थाल्यो । के गर्ने कसो गर्नेसम्मको समस्या उत्पन्न भएको थियो । अहिले आम्दानी हुन थालेपछि सबै परिवार खुशी छ’चौधरीले भने,‘घरका सबै सदस्य काममा व्यस्त हुन्छौँ। आम्दानी राम्रो छ ।’
जनप्रतिनिधिहरु काम गर्दैनन्, भ्रष्टाचार गर्छन् भन्ने आमरुपमा धारणा बनिरहेको छ । तर, यस्तो समयमा नेता अर्थात जनप्रतिनिधिले आम किसान भएर जीवन बिताइरहेका उदाहरण मध्ये मेघनारायण एक हुन्।
‘म त पहिला किसान हुँ । त्यसपछि मात्रै राजनीतिककर्मी र जनप्रतिनिधि । पद त अस्थायी हो’उनले भने,‘कसैको एक रुपैयाँ पनि ठगेर खानु परेको छैन। आफ्नै परिश्रममा विश्वास गर्छु ।’
लगनशिलताले सफलता
मेघनारायण चौधरीको परिवार मध्ये माइलो छोरा द्रोर्णबहादुर चौधरी, बुहारी लक्ष्मी, साइँलो छोरा पोखराज चौधरी, बुहारी कृष्णा, जेठी बुहारी गणेशी व्यवसायिक च्याउ खेतीमा संलग्न छन् । दश जना भन्दा बढी मजदुरले दैनिक रोजगारी समेत पाएका छन् । बहुउेद्दश्यीय प्रांगारिक कृषि फर्मबाट च्याउ खेती थालिएको हो ।
दैनिक ३० हजार रुपैयाँको च्याउ बजारमा गैरहेको छ । थोकमा प्रतिकिलो १७० रुपैयाँमा च्याउ बिक्री हुन्छ । सिजनमा त्यो रेट केही घट्छ ।
‘च्याउ खेती गर्न हेर्दा जती सजिलो छ, गर्दा उती नै गाह्रो छ । आमाले आफ्नो बच्चालाई स्याहार सुसार गरेजस्तै गरी च्याउ खेती गरेका छौँ’पोखराजले भने,‘सुरुका दिनमा केही गाह्रो भयो । पछि बिस्तारै काम पनि जानियो । अहिले सजिलो भएको छ ।’
च्याउ खेतीमा सफलता हाँसील हुदै जाँदा व्यवसाय पनि बढ्दै गएको छ । टहरा थपिँदै गएका छन् । नयाँ योजनाका साथ ठूलो स्केलमा खेती गर्ने गरी टहरा बनाउने काम चलिरहेको द्रोर्णबहादुर चौधरीले बताए ।
‘च्याउबाट धेरै मान्छे टाट पल्टेका उदाहरण पनि छन् । ६–७ वटा स्टेपहरु छन् । ती स्टेपमा कमजोरी भयो भने उत्पादन नै हुँदैन’उनले भने,‘कतै कमिकमजोरी नहुने गरी काम गर्ने हो भने सफलता प्राप्त हुँदो रहेछ । बजारको माग पूरा गर्न सकिरहेका छैनौँ।’
च्याउलाई ओथारोमा राख्न एसी कोठा समेत छ । ‘यो एउटा नयाँ प्रयोग गरेका हौँ। पराल, च्याउको बिउँ राखेर तयार पारिएको प्लास्टिकको पोकालाई च्याउ टुसाउँदासम्म एसी कोठामा राख्ने गरेका छौँ’ उनले भने, ‘यसो गर्दा पोका नग्रिने हुँदा उत्पादन लिन सजिलो हुन्छ ।’
यो परिवार साकाहारी छ । माछा मासु, जाँड रक्सीदेखि धेरै टाढा । सफलता भित्रको एउटा कडी आचरण पनि हो ।
‘द्वन्दकालमा माओवादीले घर लुटे, बैंकले घर खेत खोस्यो।’
मेघनारायणले उखु खेती गर्न बैंकबाट ऋण लिएका थिए । द्वन्दकालमा तत्कालीन माओवादीले उनको परिवारलाई सताए । खेती गर्न सकेनन् । बैंकले घर खेत खोस्यो । शान्ति प्रकृयापछि सर सापट खोजेर बैंकको रकम फिर्ता गरेपछि घरखेत जोगियो ।
‘खेतीले नै डुबाउन थालेको थियो । माओवादीले घर लुटेपछि झनै समस्या भयो’उनले विगत सम्झिँदै भने,‘शान्ति पकृयापछि सजिलो भयो।’