
लिमी – नेपाल र चीनको सिमाना लाप्चा क्षेत्रको लोलुङजोङतर्फ जाने बाटोमा लिमी हल्जी गाउँका फुन्जोक तामाङले जान मानेनन्।
पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य जीवन बहादुर शाहीको नेतृत्वको टोलीमा सिमानामा रहेका पिल्लरहरुको अवलोकन गर्न गएको टोलीमा तामाङ पनि सहभागी थिए।
तर १२ नम्बर सीमा स्तम्भ देखाउन गएका तामाङले सो क्षेत्रमा जाँदा चिनियाँ पक्षको सिसिटिभी क्यामराका अनुहार कैद हुने थाहा पाएपछि जान माननेन्।
गत असोज १६ गते नाम्खा गाउँपालिका वडा नम्बर ६ को लिमीको तुलिङमा बास बसेको शाहीको टोलीलाई सीमा स्तम्भ देखाउन जिम्मेवारी तामाङलाई दिइएको थियो ।
वडाध्यक्ष पाल्जोर तामाङले उनलाई नेता शाहीको टोलीलाई सीमा स्तम्भ देखाउन निर्देशन दिएका थिए।
१६ गते बेलुका तुम्लिङ पुग्ने बित्तिक्कै नेता शाहीको टोलीलाई उनले अध्यक्ष नआउने र आफूले नै घुमाउने जनाएका थिए ।
अनुमनका लागि टिप्पर र बोलेरो जीप चढेर टोली बिहान साढे आठ बजे लाप्चा क्षेत्रतर्फ लागेको थियो । दुई घण्टा पछि गाडी बाँउ लाप्चा पुगेको थियो ।
त्यहाँबाट टोलीमा सहभागी सबैले मानसरोवर कैलाशको दर्शन गरेपछि नेता शाही, सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामा, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावल, नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेमा लामा, कांग्रेस सभापति जयपति रोकाया लगाएको टोली लोलुङजोङ (जहाँ चीनले भवन वनाएको छ) क्षेत्र भन्दा करिब दुई मिटर वरसम्म पुग्यो । तर टोलीलाई अवलोकन गराउने जिम्मा पाएका फुन्जोक अगाडि बढेनन् ।
त्यसक्षेत्रमा चीनले सिसिटिभी जडान गरेको थाहा पाएपछि अनुहार देखिने र पछि समस्या हुन सक्ने डरले उनी त्यस क्षेत्रमा जान नमानेका हुन्।
फुन्जोक अघि नबढेपछि उनलाई त्यही छोडेर नेता शाहीको टोली १२ नम्बर पिल्लर भएको क्षेत्रमा लागेको थियो। त्यहाँ नेपालले कच्ची सडक निर्माण गरेको छ । टोलीका केही सदस्य उकालो तर्फ लागे, जहाँ चीनले एकतर्फी रुपमा पुनर्निर्माण गरेको १२ नम्बर पिल्लर छ ।
यता शाही सहितको टोली उकालो हिँड्न कठिन हुने निष्कर्ष निकाल्दै टिप्परबाट बाँया लाप्चाको बिना सडकको पाटनमा १२ नम्बर पिलरका ७० मिटर तल झरेको थियो । त्यसपछि टोली हिँडेर पिल्लर रहेको क्षेत्रमा पुगेको थियो ।
टोलीकै सदस्य राजबहादुर रोकायासहित केही पैदल हिँडेर पिल्लरमा पुगि सकेका थिए । सो क्षेत्रबाट जाँदा चिनियाँ पक्षको सिसिटिभी छल्न सकिन्थ्यो । करिब आधा घण्टा टोलीले पिल्लरमा बिताएको थियो । पुरानो पिलर भत्काएर यत्रतत्र परेका सिमेन्टका टुक्रा छरिएका थिए । टोलीले ती टुक्रा जम्मा गरेर पिलर नजिक राखेको थियो ।