
झापा – शनिबार बिहान झापाको विर्तामोडको मुक्ति चोक काला बस्त्रधारी महिलाहरूको समूहले एकाएक ततायो।
‘अझै कति सहने‘ भन्दै उनीहरू एकाएक सडकमा निस्किए। उनीहरूको आवाज भइरहेका बलात्कारका घटना ‘अझै कति सहने‘ भन्ने थियो।
बलात्कारका घटनाका पीडकलाई मृत्युदण्ड दिनुपर्ने आवाज उठिरहेको छ। महिला अधिकारकर्मी र सांसदहरुले पनि यसलाई जोडतोडले उठाइरहेका छन्। तर, मृत्युदण्ड दिँदैमा बलात्कार नरोकिने मत पनि बलियो बन्दै गएको छ।
बलात्कारीलाई मृत्युदण्ड समाधान होइन भन्दै शनिबार बिर्तामोडमा महिलाहरुले स्वतस्फूर्त प्रदर्शन गरे।
मुक्तिचोकमा भेला भएका महिलाहरु निधारमा कालोपट्टी बाँधेर कालो पोशाकमा उपस्थित भएका थिए। उनीहरुले बलात्कारीलाई मृत्युदण्ड होइन आजीवन काराबासको सजाय हुनु पर्नेमा जोड दिए।
बलात्कारमा संलग्नलाई राज्य संयन्त्रले संरक्षण गर्न नहुने अभियानकर्मी प्रकृति न्यौपानेले बताइन्।
उनले भनिन्, ‘मृत्युदण्डले यस्को समाधान दिँदैन। बलात्कारीलाई आजीवन काराबासको सजाय हुनुपर्छ।‘ मृत्युदण्डको सजाय हुने गरेका अन्य देशमा पनि बलात्कारका घटनामा कमि नआएको उनले बताइन्।
उनीहरूले सबै पुरुष बलात्कारी नहुने भन्दै बलात्कारी जो भए पनि सजायको भागिदार हुनुपर्ने बताए।