
सिमकोट – सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामाको स्याउ खेती लोभ लाग्दो देखिएको छ। जनताको कामसँगै आफ्नो आम्दानीमा पनि सहजता ल्याउन अध्यक्ष लामाले स्याउ खेती सुरु गरेका हुन्।
राजनीति गरे पनि आम्दानीको श्रोत बढाउन स्याउ खेती पनि गरेको उनले बताए। राजनीति गरेपछि अन्य व्यवसाय गर्नु हुँदैन भन्ने मान्यतालाई चिर्न पनि आफूले स्याउ खेती गरेको उनले बताए।
प्राविधिकहरुको राय सल्लाह अनुसार स्याउ खेतीका लागि जग्गा छनौट गरेका उनले स्याउको भविष्य देखेर यसतर्फ लागेको खुलाए ।
व्यापारको सिलसिलामा भारतको हिमाञ्चल प्रदेश घुम्दा स्याउ फारमबाट कमाई राम्रो हुने देखेका लामालाई उति बेला नै यसमा मन लोभिएको थियो ।
अध्यक्ष लामाको फार्ममा लटरम्म स्याउ फलेका छन्। साढे चार सय बोट मध्ये एक बोटमा कम्तीमा दश हजार रुपैयाँ बराबरका स्याउ फलेको उनको अनुमान छ । हुम्लामा स्याउ प्रति दाना दश रुपियाँ पर्ने गर्छ ।
यसरी हेर्दा आफ्नो फार्ममा ४५ लाख बराबरको स्याउ फलेको उनले बताए। पालिकामा जनताको काम पनि गर्दै आफ्नो फार्मको स्याउ स्याहार्ने कामका लागि पनि उनले समयको व्यवस्थापन गरेका छन्।
सिमकोट गाउँपालिका वडा नम्बर ३ को बरगाउँमा रहेको अध्यक्ष लामाको स्याउ फार्ममा पाँच प्रकारका स्याउ फलेका छन् ।
यसपाली स्याउ बिक्री हुँदैन कि भन्ने चिन्ता पनि अध्यक्ष लामालाई छैन । सडकको पहुँच स्याउ फार्ममा पुगि सकेका कारण बजारसम्म ढुवानी गर्न समस्या नरहेको उनले बताए।