
काठमाडौं- कोरोना भाइरसको महामारी अघि काठमाडौं उपत्यकाबाट दैनिक एक लाख २० हजारको हाराहारीमा यात्रुहरु बाहिरिन्थे। त्यति नै संख्यामा भित्रन्थे पनि। यो त भयो सामान्य अवस्थाको तथ्यांक।
दशैँका बेला बाहिरिनेको ग्राफ ह्वात्तै बढ्थ्यो। दशैँका लागि घर जानेको लर्को देखिन्थ्यो एक महिनाअघि देखि नै। यात्रुको चाप बढेपछि यातायात ब्यवसायीले अग्रिम बुकिङ खोल्थे। टिकट नपाएर यात्रुलाई हैरान हुन्थ्यो। नवरात्र सुरु भएपछि काठमाडौं उपत्यका सुनसान बन्दै जान्थ्यो।
तर यसपटक अवस्था बेग्लै छ। न सडकमा यात्रुको चहलपहल छ, न व्यवसायीले अग्रिम बुकिङ नै खोल्नु परेको छ। नवरात्रको पहिलो दिन शनिबार काठमाडौं उपत्यकाबाट २१ हजार ४ सय ७८ जना यात्रु बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
सरकारले असोज १ गतेदेखि लामो तथा मध्यम दुरीका सार्वजनिक सवारी साधन खोल्ने निर्णय गरेयता काठमाडौं उपत्यकाबाट ६ लाख पाँच सय ५४ जना मात्र यात्रु बाहिरिएका छन् भने पाँच लाख ५४ हजार पाँच सय ३७ जना काठमाडौँ उपत्यका भित्रिएका छन्। ट्राफिक महाशाखाका एक अधिकारी सामान्य अवस्थाको भन्दा अहिले ७५ प्रतिशत सवारी साधन मात्र चलिरहेको बताउँछन्। सिट क्षमताको आधा मात्र यात्रु राख्न पाउने व्यवस्था सरकारले खारेज गरिसकेको छ। तर किन व्यवशायीले यात्रुहरु पाइरहेका छैनन् ?
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला सरकारले अन्योलता सिर्जना गरेका कारण व्यवसायीले यात्रुहरु नपाइरहेको बताउँछन्। ‘सरकारले जनतालाई जहाँ हुनुहुन्छ त्यहिँ बसेर दसैँ मनाउन निरन्तर आग्रह गरिरहेको छ। जनता पनि डराएका छन्’, महासचिव सिटौला भन्छन् । व्यवसायीले यात्रु नै नपाइरहेको अवस्थामा अग्रिम बुकिङ यसपटक नखुल्ने सम्भावना बढेर गएको छ।