
धनगढी– धनगढीको जुगेडा अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोबिन्द बिकको हत्या र जवान बेपत्ता प्रकरणमा स्थानीय सीमावर्ती तस्कर संलग्न रहेको निष्कर्ष प्रहरीले निकालेको छ। प्रदेश-७ का प्रहरी प्रमुख उत्तम सुवेदीले घटनामा नेपालतिरकै तस्कर संलग्न रहेको बताए।
धनगढी उप–महानगरपालिका वडा नम्बर १२ को अस्थायी प्रहरी विट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक घाँटी रेटेर हत्या भएको अवस्थामा आइतबार शव फेला परेको थियो। शनिबार साँझ मोटरसाइकलमा गस्तिमा निस्किएका विक र साउद राती बेपत्ता भएका थिए। विकको शव मोहना नदीमा भेटिएको थियो।
उनिहरु चढेको बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल विकको शव भेटिएको स्थानदेखि साढे २ किलोमिटर पश्चिमतर्फ भेटिएको थियो। बिकले बोकेको हतियारसमेत फेला परेको छैन। साउद अझै भेटिएका छैनन्। प्रहरीले घटनामा संलग्न भएको आरोपमा स्थानीय राना चौधरी बस्तीका ११ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डीआईजी सुवेदीले जानकारी दिए। ‘नेपाल र भारत दुवैतर्फको सिमाना क्षेत्रमा राना चौधरी बस्ती छ। तर घटना नेपालतिरकै स्थानीय तस्करको योजनामा भएको देखिन्छ’, डीआईजी सुवेदीले भने।
बेपत्ता प्रहरीको खोजीका लागि गोताखोर टोली घटनास्थल पुगेको छ । सशस्त्र प्रहरीको अत्तरिया स्थित ७ नम्बर बाहिनीको गोताखोर टोली घटनास्थल पुगी बेपत्ता साउँदको खोजी गरिरहेको छ ।
धनगढी उपमहानगरपालिका १२ जुगेडाको त्यस क्षेत्रमा भारतबाट विभिन्न सामान अवैध रुपमा नेपाल ल्याउने गरिएको छ । चौकीबाट मोटरसाइकलमा राति साढे आठ बजे गस्तीमा निस्किएका दुवैजना साढे १० बजेदेखि सम्पर्क बिहीन भएका थिए ।