
इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटअन्तर्गत आइतबार भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सुपर ओभरमा हराएको छ।
अन्तिम ओभरमा १७ रन जोडेर हैदराबादले खेललाई सुपर ओभरमा पुर्याएको थियो। तर सुपर ओभरमा लुकी फर्गुसनले घातक बलिङ गरेपछि हैदराबाद दुई रनमै सिमित भयो। कोलकाताले रासिद खानको बलिङसामु चौथो बलमा लक्ष्य पुरा गर्यो।
सुपर ओभरमा हैदराबादले डेभिड वार्नर र अब्दुल समादलाई उतारेको थियो। तर फर्गुसनले पहिलो बलमा वार्नर र तेस्रो बलमा समादलाई आउट गरे। दोस्रो बलमा दुई रन मात्र दिएका थिए। त्यसअघि हैदरावादले २० औँ ओभरमा १७ रन जोड्दै खेल बराबरीमा ल्याएको थियो।
कोलकाताले एक सय ६४ रनको लक्ष्य दिएको थियो। डेभिड वार्नरले आन्द्रे रस्सेललाई लगातार तीन चौका प्रहार गरेपछि अन्तिम बलमा हैदराबादलाई २ रन चाहिएको थियो। वार्नरले ४७ रन बनाए। जोनी बेयर्स्टले ३६ र केन विलियम्सनले २९ रन बनाए। फर्गुसनले चार ओभरमा १५ रन खर्चिएर ३ विकेट हात पारे। त्यसअघि कोलकाताको पालीमा शुभमन गिलले ३६, इयोन मोर्गनले ३४ तथा नितिस राना र दिनेश कार्त्तिक २९/२९ रन जोडे।
कोलकाता ९ खेलबाट १० अंक जोडेर चौथो स्थानमा छ। ९ खेलपछि १४ अंक जोडेर दिल्ली क्यापिटल्स शीर्षस्थानमा छ। ८ खेलपछि मुम्बई इन्डियन्सको १२ र रोयल च्यालेन्जर्सको ९ खेलबाट १२ अंक छ। हैदरावादको ९ खेलबाट ६ अंक छ।