
सुरुमै लिएको तीन गोलको अग्रता अन्तिम समयमा जोगाउन नसक्दा टोटनह्याम अंक बाँड्न बाध्य भएको छ।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा जोसे मोरिन्होको टिम टोटनह्याम वेष्ट ह्याम युनाइटेडसँग ३–३ को बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले सुरुको १६ मिनेट भित्रै तीन गोल गरेको थियो।
पहिलो मिनेटमा नै सन हेङ–मिनले गोल गरे । ह्यारी केनले ८ र १६ औँ मिनेटमा गोल गरी टिमलाई ३–० को अग्रता दिलाए ।
वेष्ट ह्यामका लागि ८२ औँ मिनेटमा फाबियन बाल्बुएनाले एक गोल फर्काए । टोटनह्यामका डेविन्सन सान्चेजले ८५ औँ मिनेटमा आत्मघाती गोल गरे ।
इन्जुरी समयको चौथो अर्थात ९४ औँ मिनेटमा म्यानुएल लान्जिनीले गोल गरेपछि वेष्ट ह्यामले खेलमा बराबरी गरेको हो ।
बराबरीपछि पाँच खेलबाट ८ अंकसहित टोटनह्याम छैटौँ स्थानमा छ भने सात अंकसहित वेष्ट ह्याम आठौँ स्थानमा रहेको छ ।
आइतबार राति नै भएको अर्को खेलमा शेफिल्ड युनाइटेडले फुलह्यामलाई १–१ ले पराजित गरेको छ ।