
विराटनगर – आइपिएल क्रिकेटमा सट्टेबाजी गर्दै आएका ३ जनालाई प्रहरीले विराटनगर महानगरपालिकाबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार महानगरपालिका १६ का पुरुषोत्तम साह र मन्जीत साहसँगै महानगर १५ का अपजर अली सट्टेबाजीका क्रममा पक्राउ परेका हुन् ।
प्रहरी प्रमुख खड्काले उनीहरुलाई ३७ वर्षीय पुरुषोत्तमको घरमा सट्टेबाजीका क्रममा आइतबार राति ११ बजे पक्राउ गरिएको जानकारी दिए।
उनका अनुसार दुबईमा जारी आइपिएलमा सट्टेबाजी गरिरहेका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो।
यसक्रममा उनीहरुको साथबाट प्रहरीले तीन थान मोबाइल सेट, डायरी, २८ हजार ५ सय रुपैयाँ र को १८ प ६८८९ नम्बरको मोटरसाईकल समेत बरामद गरेको छ ।
प्रहरीले यसअघि असोज १४ गते विराटनगर १५ र १७ बाट तीन जनालाई सट्टेवाजीका क्रममा पक्राउ गरेको थियो ।
सट्टेबाजीका क्रममा ठूलो रकमको हारजित हुने हुदाँ प्रहरीले जिल्लामा विशेष अभियान अघि बढाएको छ । पक्राउ परेका सट्टेबाजहरुमा गहिरो अनुसन्धान गर्दै सट्टेबाजीको सञ्जाल भत्काउने योजना रहेको प्रहरी उपरीक्षक खड्काले बताए ।