
पश्चिमी नेपालको हिमाली भेगमा छिमेकी मित्र चीनसँगको सीमा स्तम्भभन्दा वारीपारीमात्रै भोगचलन गर्न पाइने मान्यतालाई लत्याएर चीनले नेपालसँगको सीमा नाका हिल्सा क्षेत्रमा रहेका पिलरमा आफ्नो मनपरी गर्न थालेपछि स्थानीयहरु तथा यहाँका नेताहरुले विरोध गर्दै सीमामै पुगेर अवलोकन गरिरहेका छन्। उनीहरुले पटक पटकको सीमा स्तम्भ अवलोकनका क्रममा हुम्लाको उच्च स्थानमा चीनसँगको सीमामा रहेको १२ नम्बर पिलर पुनर्निर्माण गरेको पाएका छन् भने कहिले सीमा स्तम्भ अनुगमन गरेर फर्कन थालेका नेपाली टोलीमाथि चिनियाँ सुरक्षाकर्मीले टियर ग्यास प्रहार गरेर दु:ख दिँदै आएको अनुभव सँगालेका छन्।
यसै सन्दर्भमा केही दिनअघि नेपाल र चीनको सीमा स्तम्भमा विवाद क्षेत्रको स्थलगत अवलोकन गरेर फर्किएका नेपाली काँग्रेस हुम्लाका पार्टी सभापति जयपति रोकायासँग देश सञ्चारका हुम्ला संवाददाता राजन रावतले कुराकानी गरेका छन्।
पछिल्लो समय चीनले नेपाली भूभागमा भौतिक संरचना निर्माण गरेको कुरा बाहिर आएपछि सीमा स्तम्भ अवलोकनमा तपाईँ पनि हुनुहुन्थ्यो, के पाउनु भयो ?
सुरुमा मिडियामा आएजस्तो त्यसरी चीनले नेपाली भुभागमा भौतिक संरचना निर्माण गरेको होला जस्तो लागेको थिएन। तर मलाई आफै नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को लिमीको लाप्चा भन्ज्याङ जाने अवसर मिल्यो । त्यहाँको १२ नम्बर पिलरलाई चीनले एकतर्फी रुपमा पुनर्निर्माण गरेको देखियो । यसवाटै चीनको असली रुप स्पष्ट भएको छ।
चीनले एकतर्फी रुपमा यो पिलर पुनर्निर्माण गरेर लोलुङजोङमा निर्माण गरिएका भौतिक संरचना आफ्नो हो भन्ने आधार खडा गर्न खोजेको स्पष्ट हुन्छ । होइन भने गुपचुपमा ती संरचना बनाउनुको रहस्य के हो ? अर्को लिमीका तीन गाउँ, जाँङ, हल्जी र तील गाउँका पुराना बुढापाका र केही जानकार ब्यक्तिहरुसँग पनि यस वारेका कुरा भएको छ ।
उहाँहरुको भनाई नै लोलुङजोङ मात्र नभई ग्याक्पु दोसासम्म नेपाली भुभाग भएको रहेको छ। उहाँहरुको पालामा चौरी चराएको, खर्क राखेको, छोपो र खाम्पासँग ब्यापार गरेरको, चिनियाँ पक्षले सो क्षेत्रमा चरन गरे वापत कर तिरेको कुरा उहाँहरुसँग ताजै छ । चरन चराए बापद नगद नहुनेले घ्यु दिएको पनि थाहा भयो । यी आधार र प्रमाण् हुन हामीले चीनले नेपाली भुमि अतिक्रमण गर्यो भन्ने।
तपाईँ अवलोकनका क्रममा कुनकुन सीमा स्तम्भमा पुग्नुभयो ?
११ नम्बर पिलर रहेको टाकुले क्षेत्रमा पुग्दा सो पिलर केही पनि भएको छैन । हुन त चीनले उपयोगी जमिन हेरेर पनि अतिक्रमण गरेको हो कि भन्ने पनि लाग्न थालेको छ । जस्ता टाकुलेको जमिन कामै नलाग्ने छ । त्यो भएर पो केही गरेको होइन कि भन्ने पनि भान भएको छ । किनभने लोलुङजोङको जमिन निक्कै उपयोगी समथर रहेको छ। त्यसपछि १० नम्बर पिलरका वारेमा पनि केही भन्नु छैन।
अर्को कुरा हिल्सा, जहाँ दुई देशका बिच आवत जावत हुन्छ त्यहाँ नौ (१) नम्बर पिलर रहेको छ। त्यो पिलरको अवस्था हेर्दा चीनले बल मिच्याइँ गरेको अर्को सबुत प्रमाण हो । किन भने चीनले उक्त पिलरलाई मध्य पर्ने गरी आफ्नो घेरावार गरेर दशगजाको धज्जी उडाएको छ। नौ (२) का बारेमा पनि केही भन्नु छैन् । त्यसपछि ८ ( १) को अबस्था पनि ठिक छ । ७ ( १) को अवस्था पनि ठिक छ । भित्तामा रहेको छ । पहिरोमा पुरिने संभावना बढी छ ।
अर्को चीनले नेपाली भू-भाग अतिक्रमण गरेको स्पष्ट प्रमाणका रुपमा ६ ( १) नम्बर पिलरलाई हेर्दा देखिन्छ । उक्त पिलरलाई चीनले आफ्नो घेरवार भित्र पारेको छ । जो कोही पुगेर पनि हेर्न सकिने अवस्था रहेको छ । त्यसै गरि किट क्षेत्रमा रहेको जंगी पिलर ढलेको अबस्थामा रहेको छ। सो क्षेत्रमा नेपाली सुरक्षाकर्मी गस्ती जाँदा चिनियाँ पुलिसले ढुगा हान्ने गरेका छन्।
तपाईँहरु चीनले नेपाली भूमि अतिक्रमण गर्यो भन्नुहुन्छ । तर तपाईकै जिल्लाको सरकारी टोलीले त सीमा विवाद छैन भन्ने प्रतिवेदन दिएको छ नि ?
राष्ट्रियता त सबै नेपालीमा एउटै हुनु पर्ने हो । यहाँ त तेरो र मेरा भन्दा पनि राष्ट्रको कुरा छ । तर उहाँहरुले के हेर्नु भयो र प्रतिवेदन तयार गर्नुभयो ? अनि कुन आधारमा नेपाली भुभाग अतिक्रमण भएको छैन भन्नु भयो, उहाँहरुले जानुन्। तर यहाँनिर के बुझ्न जरुरी छ भने प्रमुख जिल्ला अधिकारीको टोली सीमा स्तम्भ अनुगमन गर्न गएर जिल्लामा नफर्कदै र प्रतिवेदन तयार नगरकै अबस्थामा देशको परराष्ट्रमन्त्री जस्तो ब्यक्तिले चिनीया दूतावासबाट विज्ञप्ति आएको केही बेर पछि उक्त विज्ञप्तिसँग मेला खाने भनाई आउनु नै नेपालका लागि दुखद पक्ष हो।
सीमा स्तम्भको बास्तविक अबस्था नबुझिकनै भनाइ आउनु चीनका सामु बर्तमान सरकार लम्पसार परेको स्पष्ट हुन्छ । यसको छनक अनुगमनमा गएको सरकारी टोलीको प्रतिबेदनमा देखिन्छ । यदि उहाँहरुले देखेका पक्षलाई समेटेर प्रतिवेदन दिएको भए हुम्लामा पाँचै जना सुरक्षा निकायका प्रमुखरुहरुले झोला बोक्नु पर्थ्यो ।
त्यसो भए अब तपाईँहरु के गर्नु हुन्छ ?
एक मुठी सास रहेसम्म सीमा क्षेत्रमा भएका वास्तविक अवस्थाको बारेमा बोलि रहनेछौँ। किनकी हामीले अन्यायकाविरुद्ध आवाज उठाएका छौँ। राष्ट्रवादी नेपाली जो यी क्षेत्रमा पुग्ने छ र त्यहाँ चीनले गरेको ज्यादती बुझ्ने छ । हामीलाई उल्लु बन्नु छैन । न कि चीनले केही नगरी अनावश्यक आरोप लगाउने हामी मुर्ख होइनौँ।
यो सरकारलाई कसैप्रति लम्पसार नपर्ने हिम्मत छ भने लिपुलेखमा जसरी नयाँ नक्शांकन भएको छ । त्यसैगरि हिल्सा र लाप्चा क्षेत्रका सीमा क्षेत्रमा देखिएको विवाद कूटनीतिक तवले समस्या समधान गरोस् न। कम से कम राष्ट्रियताको सवालमा सबैको भनाइ एउटै आओस् न। चीन र भारत हाम्रा छिमेकी। गुण र दोषका आधार समर्थन र बिरोध गर्नुपर्छ। न कि कसै झोला बोक्नु आवश्यक छैन।
यो समस्या कसरी समधान होस् भन्ने चाहनु हुन्छ ?
सीमा अतिक्रमणका क्षेत्रमा चीनले नेपालमाथि हेपाहा प्रबृति देखाएको स्पष्ट छ। त्यसैले वास्तबिकता नबुझी विज्ञप्ति निकाल्ने परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीज्यू, तपाईँ एकपटक हेलिकोप्टर चढेर हिल्सामा आउनु होस्। अनि त्यहाँको बास्तविकता त्यही ठाउँमा देख्नु हुनेछ। चीनको असली नियत।
यदि त्यसरी आउन सक्न हुन्न भने तपाईँ तयार हुनुहोस्, हुम्ली जनता काठमाडौंबाट जहाज चढाएर तपाईलाई हुम्लामा पुर्याएर हिल्सा लिन तयार छन्। अर्को सरकारले सीमा विज्ञ टोली स्थानीयका उपस्थिति रहने व्यवस्था गरी विवादित क्षेत्रमा खटाएर यसको दिर्घकालीन समस्या समधान गर्ने बाटो तयार गर्न हाम्रो जोडदार माग रहेको छ । यो समस्यालाई चाँडो समधान गर्नुपर्छ।