काठमाडौँ– अघिल्लो वर्षसम्म दसैँको समयमा काठमाडौँका विभिन्न सपिङ मलहरुमा मानिसहरुको खचाखच भीड हुन्थ्यो । तर कोरोना महामारीका कारण यो वर्ष सपिंग मलहरु सुनसान प्राय छन्।
कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि गरेको लकडाउन सरकारले करिब ६ महिनामा खोल्यो।
लकडाउन खुला भएसँगै व्यवसायीहरुले केही राहत महसुस गरेका थिए। आउँदै गरेको दसैँमा व्यापार हुन्छ कि भन्ने उनीहमा आशा पलाएको थियो।
दसैँ नजिकिएसँगै उत्साहित बनेका सपिङ मल व्यवसायीहरु ग्राहक नहुँदा उत्साह निराशामा परिणत भएको बताउँछन्।
काठमाडौँको सुन्धारास्थित सिभिल मल व्यवसायी समितिका अध्यक्ष रत्न घिमिरेले कोरोना महामारीले व्यापार स्वभाविक रुपमा घटे पनि दसैँका समयमा राहत हुने आशा गरिए अनुरुप व्यापार नभएको बताए।
उनले भने, ‘लामो समय भएको लकडाउनले व्यापार स्वतः घटेकै छ। दसैँको समयमा व्यापार हुने आशा थियो । तर व्यापार नै छैन। ग्राहकहरु आशा गरे जति छैनन्।’
यस्तै सोही मलका लुगापसलमा काम गर्ने निमेश राईले लकडाउन खुलेपछि दसैँको मुखमा आएर केही ब्यापार भएको बताए। उनका अनुसार लामो समय भएको लकडाउनले ब्यापारमा गिरावट ल्याए पनि थोरै भए पनि दसैँमा व्यापार भएको छ।
दसैँको माहोल भए पनि कोभिड–१९ का कारणले अति आवश्यक भएमात्र किनमेलका लागि ग्राहक आउने गरेको उनले बताए।
सोही पसलमा शपिङ गर्न आएकी बाला राईले दसैँ शपिङ नभएर छोरीलाई बाहिर पठाउनका लागि शपिङ गर्न आएको बताइन्।
‘कोरोनाका कारणले घर बाहिर निस्कन पनि डर लाग्छ’ उनले भनिन्, ‘आज दसैँका लागि भन्दा पनि छोरी बाहिर जाँदै छ। त्यसैले शपिङ गर्न आएको हो।’
दसैँको महोल भए पनि आफूहरु धेरै बाहिर नजाने गरेको उनले सुनाइन्।
‘दसैँ भए पनि अहिले छोरीका लागि मात्र किनमेलका लागि आएका हौँ’उनले भनिन्, ‘हामीहरु दसैँका लागि भनेर बाहिर निस्कने गरेका छैनाैँ। बहिर निस्कदा पनि सुरक्षित भएर निस्कन्छौँ। अहिले आफू सुरक्षित हुन जरुरी छ।’
अति आवश्यक कामका लागि बाहिर जाँदा उनले स्यानिटाइजर र मास्क अनिवार्य लगाउने गरेको बताइन्।
उनले जस्तै कोरोनाबाट बच्ने उपाय व्यवसायीहरुले पनि अपनाएका छन्। तर बढिरहेको कोरोनाको त्रास यथावत नै छ। यसैबिच दसैँको आगमनले व्यापार हुन्छ कि भनेर पलाएको आशा पनि मरेको काठमाडौँ मलका व्याग व्यवसायी सुनिल श्रेष्ठ बताउँछन्।
अघिल्ला वर्षहरुमा दसैँको समयमा नयाँ व्याग किन्नेको घुँइचो लागे पनि यसवर्ष भने ग्राहक शून्य नै भएको उनले बताए।
दसैँ सुरु भएको तेस्रो दिनसम्म पनि व्यागको व्यापार १० प्रतिशत पनि नभएको उनले गुनासो गरे।
‘पहिले दसैँमा राम्रो व्यापार हुन्थ्यो । मानिसहरु धेरै लत्ताकपडाहरु किन्थे । काठमाडौँ बाहिरका ग्राहक थिए’, उनले भने, ‘यसवर्ष धेरै शपिङ गर्ने ग्राहक छैनन्। भएका घर गइसके। काठमाडौँका ग्राहकहरुले अहिले किन्ने कुरा भएन।’
काठमाडौँ मलका व्यापारीको जस्तै हालत स्टार मलका व्यापारीको पनि छ। स्टार मलका निर्देशक सौरभ श्रेष्ठले कोरोना महामारीले मल व्यवसायीहरुलाई विस्थापित गरेको बताए। ‘कोरोनाका कारण व्यवसायीहरुले व्यवसाय नै छाडेका छन्। व्यापार कसरी हुन्छ। कोरोनाले व्यापार धरासायी नै बन्यो’उनले भने।
दसैँको माहोल भए पनि मल व्यवसायीको अवस्था देख्दा दसैँ नआएको जस्तो अनुभव भएको उनको भनाइ छ।
दसैँ लागेसँगै मलहरुमा छुट्टै रौनक हुने गर्थ्यो । मानिसहरुको चहलपहल पनि त्यति नै। अफर पनि । यसवर्ष भने मलले कुनै अफरहरु नल्याएको उनले जानकारी दिए।
‘यसवर्षको दसैँका लागि कुनै अफर छैनन्’ उनले भने, ‘लकडाउन भएका कारण व्यापार उसै घटेकै छ। दसैँमा व्यापार हुने भए पनि यस वर्षको दसैँमा ४० प्रतिशत कारोबार घटेको छ। ग्राहक नै छैनन्।’