
सिमकोट– मोवाइल सेवा सबैतिर सहज र सस्तो भएको बेला हिमालपारीको गाउँ हुम्लाको लिमीमा एक मिनेट फोन गरेको २५ रुपैयाँ लाग्ने गरेको छ। टेलिकमले हालसम्म मोवाइल टावर नबनाउँदा भिस्याटबाट फोन गर्नुपर्ने बाध्यताका कारण टेलिफोनको शुल्क महँगो भएको हो।
सेवाग्राहीले नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालपारीको गाउँ लिमीको तील गाउँमा नेपाल टेलिकमको भिस्याट फोनमा प्रतिमिनेट २५ रुपैयाँ शुल्क लाग्ने गरेको बताएका छन्। दुर्गम स्थानमा अहिलेको जमानामा पनि टेलिफोन सेवा धेरै महँगो हुँदा स्थानीय मारमा परेका छन्।
शुल्क महँगो भएपनि आवाज स्पष्ट रुपमा नसुनिने समस्या रहेको छ। सोलारबाट सञ्चालनमा आएको टेलिफोन सेवामा एक मिनेट २० सेकेन्ड भए पचास रुपियाँ शुल्क लिने गरिन्छ।
टेलिफोन सेवा सञ्चालक कुन्जोक छिरिङ तामाङले सोलार बत्तीबाट सञ्चालन गर्नुपर्ने भएको कारण टेलिफोनको शुल्क महँगो भएको बताए। गाउँको निर्णय अनुसार फोन गरेको प्रतिमिनेट पच्चीस र आगमन कलको दश मिनेटपछि दश रुपियाँ शुल्क लिने गरेको उनले बताए। यसैबाट टेलिफोन सञ्चालकको पारिश्रमिक दिने गरेको उनको भनाइ छ।
चीनको ताक्लाकोट वा विदेशमा फोन गर्नु परे प्रतिमिनेट ८० रुपियाँ लाग्ने गरेको छ। केही वर्ष अगाडी साविकको गाउँ विकास समितिको आर्थिक सहयोगमा भिस्याट टेलिफोन सेवा स्थापना भएको हो। सञ्चारको अन्य माध्यम नभएको तील गाउँमा भिस्याट मात्र घाम लागेको बेला सञ्चार सम्पर्क गर्ने माध्याम भएको छ।
स्थानीय राङ्डोल तामाङले लिमीका लागि टेलिकमले मोवाइल टावर स्थापना गरेर सञ्चालनमा ल्याए टेलिफोन सेवा यति महँगो नहुने बताए। लिमीका तीन गाउँका लागि मोवाइल टावर राख्ने भनेको तीन वर्ष भएपनि हालसम्म स्थापना हुन सकेको छैन।
लिमीका अन्य दुई गाउँ जाङ र हल्जीमा पनि भिस्याट टेलिफोन सञ्चालनमा रहेको छ। ती दुवै गाउँमा प्रतिमिनेट दश रुपियाँ लाग्ने गर्छ भने आगमन कलको भने दश मिनेटपछि दश रुपियाँ लिने गरिन्छ।