
इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटअन्तर्गत मंगलबार राति शीर्षस्थानमा रहेको दिल्ली क्यापिटल्सले किङ्स इलेभेन पन्जाबसँग प्रतिस्पर्धा गर्दैछ।
अघिल्लो खेलमा मुम्बई इन्डियन्सलाई सुपर ओभरमा हराएर दिल्लीलाई शीर्षस्थानमा सहज बनाएको पन्जाब प्लेअफ पुग्ने आशामा छ। तर उसलाई सजिलो छैन।
९ खेलपछि ६ अंक जोडेको पन्जाब तालिकाको सातौँ स्थानमा छ। चौथो स्थानमा रहेको कोलकाता नाइट राइडर्सको ९ खेलबाट १० अंक छ। शीर्षस्थानमा रहेको दिल्लीको १४ अंक छ। ९ खेलपछि मुम्बई र रोयल च्यालेन्जर्स बैंगलोरको १२/१२ अंक छ।
१४ खेलपछि शीर्ष चार स्थानमा रहने टोली प्ले अफमा पुग्नेछन्। क्रिस गेलले खेल्न थालेयता पन्जाबले दुवै खेल जितेको छ। यता दिल्लीले हालसम्म मुम्बई र हैदराबादसँग मात्र हार ब्यहोरेको छ।