
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चारमाध्यमहरुले मन्त्रालयको निर्णय अपव्याख्या गरी जथाभावी सूचनाहरु प्रकाशित गरेको आरोप लगाएको छ।
बुधबार मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा बाेल्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले सञ्चारमाध्यमबाट प्रवाह भएका भ्रामक सूचनाले सर्वसाधारणमा नकारात्मक सन्देश गएको आरोप लगाएका हुन्।
उनले भने, ‘कोभिड १९ को नियन्त्रण, रोकथाम तथा उपचार व्यवस्थापनका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट भएका निर्णयहरुलाई अपव्याख्या गरी विभिन्न सञ्चारमाध्यमबाट जथाभावी सूचनाहरु प्रकाशित गरेको पाइएको हुँदा त्यस्ता कपोकल्पित भ्रामक सूचनाले सर्वसाधरणमा नकारात्मक सन्देश जाने हुँदा त्यस्ता कार्यहरु नगर्न नगराउनु हुन सबैमा अनुरोध छ।’
सरकारले कोरोना संक्रमितको उपचारको जिम्मा नलिने निर्णय गरेपछि त्यसको चाैतर्फी विरोध भएको छ। सरकारले विपन्न तथा असक्त कोरोना भाइरस संक्रमितको मात्रै उपचार खर्च बेहोर्ने, अरु संक्रमितले आफ्नो उपचार खर्च आफै व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ। सरकारको उक्त निर्णयपछि विभिन्न अस्पतालहरुले कोरोना संक्रमितको उपचार शुल्क तोकेर सूचना निकालेका छन्।
यस्तै स्वास्थ्य मन्त्रालयले सबै कोभिड १९ अस्पतालहरु तथा प्रयोगशालाहरु दसैँको विदामा पनि आवश्यकता अनुसार सञ्चालन गर्न व्यवस्था मिलाउने पनि निर्णय भएको जनाएको छ।