
सिमकोट– एक हप्तादेखि बेपत्ता हुम्लाको खार्पुनाथ गाउँपालिका–१ गाेक्पा गाउँका ३० वर्षीय धनबहादुर बुढा मृत अवस्थामा भेटिएका छन्। सिमकोट गाउँपालिका वडा नम्बर १ को कालापानीमा दोजाम कर्णाली नदीमा ढुङ्गाको बीचमा अड्केको अवस्था बुढाको शव भेटिएको हो।
बुढाको खोजी गर्ने क्रममा प्रहरी र उनका आफन्तले दोजाम कर्णालीमा शव फेला पारेका हुन्। प्रहरीले घटनाको थप अुनसन्धान गर्ने जनाएको छ। घटना शंकास्पद देखिएपछि थप अनुसन्धान अघि बढाउन लागेको हुम्लाका प्रहरी नायव उपरीक्षक सूर्य सुवेदीले बताए।
बेपत्ता हुनुअघि उनीसँगै बसेका व्यक्तिको पहिचान गरी अनुसन्धान गर्ने प्रहरीको भनाइ छ। जिल्लाबाट घटना स्थलतर्फ प्रहरी निरीक्षकको टोली गएको छ।
शव फेला परेपनि अप्ठेरो ठाउँमा अड्केको हुँदा निकाल्न भने सकिएको छैन। नदीमा काठको पुल बनाएर डोरीले बाँधेर शव निकाल्नु पर्ने अवस्थामा रहेको सुवेदीले बताए। त्यसपछि शव पोष्टमार्टमका लागि ल्याइने उनले बताए।
केही समय अगाडि चुवाखोला क्षेत्रमा जुडिबुटी संकलन गर्न गएका बुढा एक हप्तादेखि बेपत्ता भएका थिए।