
जनकपुरधाम– प्रदेश २ मा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार २ सय ६३ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिए।
गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीमा २७, धनुषामा १२, रौतहटमा ११, सिरहामा १०, पर्सामा १०, महोत्तरीमा ४, बारामा ३ र अन्य प्रदेशका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै आज थप १ सय ३० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। यससँगै निको हुनेको संख्या १३ हजार २ सय २ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ ले जनाएको छ। आज महोत्तरीका ७८, बाराका ४२, पर्साका ६ र धनुषाका ४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।
शुक्रबार कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. ८ का ६५ वर्षीय पुरुषको उपचारको क्रममा विराट मेडिकल कलेज विराटनगरमा मृत्यु भएको हो। यससँगै मृत्यु हुनेको संख्या १ सय ६४ पुगेको छ। जसमा २९ महिला र १ सय ३५ पुरुष रहेका छन्।