
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लेस्टर सिटी विजयी भएको छ । अवे मैदानमा भएको खेलमा लेस्टर सिटीले आर्सनललाई १-० ले पराजित गरेको हो ।
लेस्टरको जितमा ८० औँ मिनेटमा जेमी भर्डीले गरेको गोल नै निर्णायक बन्यो । ३३ वर्षका भर्डीले चोटका कारण यसअघिका दुई खेल गुमाएका थिए ।
तर आइतबार रातिको खेलमा उनी झण्डै एक घण्टापछि मैदान छिरे । उनको गोलको सहयोगमा लेस्टर सिटीले आर्सनललाई उसकै मैदानमा सन् १९७३ पछि पहिलोपटक पराजित गरेको छ ।
जितपछि ६ खेलबाट १२ अंक जोडेको लेस्टर सिटी चौथो स्थानमा उक्लिएको छ । ९ अंक रहेको आर्सनल १० औँ स्थानमा पुगेको छ ।