
कोरोना भाइरसबाट संक्रमित भइ आइसोलेशनमा रहेका क्रिष्टियानो रोनाल्डो बिनाको युभेन्टस इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बराबरीमा रोकिएको छ ।
घरेलु मैदानमा भएको खेलमा युभेन्टस हेलास भेरोनासँग १-१ को बराबरीमा रोकिएको हो । ६० औँ मिनेटमा आन्द्रेया फाविलीको गोलबाट भेरोनाले अग्रता लिएको थियो ।
अल्भारो मोराटाको सहयोगमा ७७ औँ मिनेटमा डिजेन कुलुसेभस्कीले युभेन्टसका लागि बराबरी गोल गरे । मोराटाले फाविलीले भन्दा पहिले गरेको गोलले मान्यता पाएको थिएन ।
बराबरीपछि पाँच खेलबाट ९ अंक जोडेको युभेन्टस पाँचौँ स्थानमा पुगेको छ ।