इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटअन्तर्गत शनिबार हुने पहिलो खेलमा शीर्षस्थानमा रहेको मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्ससँग खेल्दै छ।
नेपाली समय अनुसार पौने चार बजे सुरु हुने यो खेलमा दिल्लीले जित हात पार्न सके प्ले अफमा स्थान बनाउने छ। मुम्बई विजयी भए शीर्ष २ भित्र रहने निश्चित हुनेछ। ८ टोली सहभागी प्रतियोगितामा पहिलो चरणका शीर्ष चार टोली प्ले अफमा पुग्नेछन्। १२ खेलबाट १६ अंक भएको मुम्बई प्ले अफ पुगिसकेको छ।
१२ खेलबाट १४ अंक भएको दिल्ली, रोयल च्यालेन्जर्स बैंग्लोरसँग समान अंक भएपनि नेटरनरेटमा पछाडि रहँदै तेस्रोमा छ। १३ खेलबाट १२ अंक भएको किङ्स इलेभेन पन्जाब चौथो स्थानमा छ। पन्जाबले अब एक खेल खेल्न बाँकी छ।
१४ खेलपछि शीर्ष चार टोलीमध्ये शीर्ष दुई टोलीबीच फाइनल पुग्न पहिलो क्वालिफायर हुने छ। त्यस खेलमा पराजित हुने टोलीले फाइनल प्रवेशका लागि अर्को एक खेल खेल्ने मौका पाउने छ, तेस्रो र चौथो स्थानका टोलीबिच हुने खेलको विजेतासँग।
दिल्लीले पछिल्ला तीन खेलयता जित हात पार्न सकेको छैन। मुम्बईले पछिल्लो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई हराएको थियो। यो सिजन पहिलो चरणमा यी दुई टोलीबीच भएको पहिलो खेल मुम्बईले जितेको थियो। दिल्लीमा रहेका नेपाली स्पीनर सन्दीप लामिछानेले यो सिजन खेल्ने अवसर पाएका छैनन्।
प्रतियोगिताअन्तर्गत शनिबार नै हुने अर्को खेलमा बैंगलोरले सनराइजर्स हैदराबादसँग प्रतिस्पर्धा गर्ने छ। बैंगलोरले पनि यो खेल जिते प्ले अफमा स्थान बनाउने छ। १२ खेलबाट १० अंक भएको हैदराबादको अगाडि बढ्ने सम्भावना झिनो छ।