
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत शनिबारको पहिलो खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ।
आजको खेलमा दिल्लीले जित हात पार्न सके प्लेअफमा स्थान बनाउने छ। मुम्बई विजयी भए शीर्ष २ भित्र रहने निश्चित हुनेछ। ८ टोली सहभागी प्रतियोगितामा पहिलो चरणका शीर्ष चार टोली प्लेअफमा पुग्नेछन्। १२ खेलबाट १६ अंक भएको मुम्बई प्लेअफ पुगिसकेको छ।
१२ खेलबाट १४ अंक भएको दिल्ली, रोयल च्यालेन्जर्स बैंग्लोरसँग समान अंक भएपनि नेटरनरेटमा पछाडि रहँदै तेस्रोमा छ। १३ खेलबाट १२ अंक भएको किङ्स इलेभेन पन्जाब चौथो स्थानमा छ। पन्जाबले अब एक खेल खेल्न बाँकी छ।
१४ खेलपछि शीर्ष चार टोलीमध्ये शीर्ष दुई टोलीबीच फाइनल पुग्न पहिलो क्वालिफायर हुने छ। त्यस खेलमा पराजित हुने टोलीले फाइनल प्रवेशका लागि अर्को एक खेल खेल्ने मौका पाउने छ, तेस्रो र चौथो स्थानका टोलीबिच हुने खेलको विजेतासँग।